साझा यातायातले १२ वटा डिलक्स बस ल्याउने भएको छ। अबको चार महिनाभित्र ति बसहरु आउने साझाले जनाएको छ। थपिएका ति बसहरु काठमाडौं उपत्यकाबाहिर संचालनमा आउने छन्। साझाका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेका अनुसार काठमाडौंलाई उपत्यकाबाहिरका महानगर, उपमहानगर वा नगरसँग जोड्नेगरी १२ वटा बसहरु संचालन गर्ने लक्ष्य लिइएको छ।
कुन कुन महानगर र नगरमा संचालन गर्ने भन्ने सम्वन्धमा भने पछि निर्णय हुने साझाले जनाएको छ। यी बसहरु ४० सिट क्षमताका हुने छन्।
‘यी सबै बसहरुले विभिन्न जिल्लाका नगरलाई उपत्यकासँग जोड्नेछ’ उनले भने ‘यसबाट न्यून शुल्कमै गुणस्तरीय सेवाका लागि प्रतिस्पर्धा बढ्ने हाम्रो विश्वास छ।’
यी १२ वटा बसका लागि काठमाडौं महानगरपालिकाले ५ करोड रुपैयाँ सहयोग गरेको छ। सो रकम आजै साझालाई हस्तान्तरण हुने र साझाले सो बराबरको सेयर महानगरलाई हस्तान्तरण गर्ने पाण्डेले जानकारी दिए। यसअघि गरिएको ग्लोबल टेण्डर आह्वानअनुसार अशोक लेल्याण्ड उपयुक्त देखिएकाले उमार्फत नै बसहरु ल्याइने भएको हो।
साझाका अनुसार एलसी खोलेको १२० दिनभित्र ति बसहरु कम्पनीले नेपाल ल्याइदिने छ। ‘उसको प्रतिबद्धताअनुसार एलसी खुलेको १२० दिनभित्रै बसहरु आइपुग्नेछ’ पाण्डेले भने ‘महानगरले रकम दिइसकेपछि एलसी खोल्ने काम सुरु हुन्छ।’ अबको हप्ता दस दिनभित्रै एलसी खोल्नेगरी साझाले काम अघि बढाउने भएको छ।

एउटा सेमी लो फ्लोर बस पनि ल्याइने
साझा यातायातले एउटा सेमी लो फ्लोर बस पनि ल्याउने भएको छ। महानगरको सहयोगको यही रकमबाटै काठमाडौंमा नमुनाको रुपमा संचालन गर्नका लागि सेमी लो फ्लोर बस ल्याइने भएको साझाले जनाएको छ। चढ्दाखेरि भुइँदेखि बसमा खुट्टा हाल्ने दुरी न्यून हुने, कम हल्लिने भएकाले यी बसहरु बृद्धबृद्धा, अपांग तथा अशक्त व्यक्तिहरुका लागि उपयुक्त मानिन्छन्।
विश्वका विभिन्न विकसित शहरमा यस्ता बसहरु संचालनमा आएका भए पनि काठमाडौंमा भने पहिलो पटक साझाले नमुनाका रुपमा बस भित्र्याउने भएको हो। यदी यी बसहरु संचालन भइसकेपछि उपयुक्त देखिएमा अन्य बसहरु पनि ल्याइने साझाले जनाएको छ। खाल्डाखुल्डी नभएको र पिच भएको सडकमा मात्रै गुडाउन मिल्ने भएकाले पनि उपत्यकाका सडकमा यी बसहरु संचालन गर्न भने चुनौतिपूर्ण नै छ।