कप्तान हेरी केनले निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गरेपछि विश्व कप छनोटको गएरातीको रोमाञ्चक खेलमा स्कटल्यान्डसँगको सम्भावित हारलाई इङ्ल्यान्डले रोकेको छ।
निर्धारित ९० मिनेटमा २–१ ले पछाडि परेको अवस्थामा समूह ‘एफ’ को खेलमा इङल्यान्डले खेललाई बराबरीमा राखेको हो।
इङ्ल्यान्डका लागि अतिरिक्त खेलाडी एलेक्स ओक्सलेड–च्याम्बरलिनले ७० मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, सेल्टिकका व्यवसायिक खेलाडी लेग ग्रिफितले ८७ र ९०, तीन मिनेटभित्र दुईवटा फ्रिकिकको मद्धतले दुई गोल फर्काउदै इङ्ल्यान्डलाई संकटमा पारेका थिए।
स्कटल्यान्डसँग अंक बाँडेको इङ्ल्यान्ड ६ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ। स्कटल्यान्ड ८ अंकका साथ चौथो स्थानमा रहेको छ।
यही समूहअन्तर्गत अर्को खेलमा स्लोभेनियाले २–० ले माल्टालाई पराजित गर्यो। स्लोभेनिया ११ अंकका साथ तेस्रो स्थानमा छ। ऊभन्दा १ अंकले स्लोभाकिया अगाडि छ। एक खेल पनि नजितेको माल्टा पुछारमा छ। स्लोभाकियाले अर्को खेलमा २–१ ले लुथवानियालाई पराजित गरेको थियो।