कमला भासिन सामाजिक अभियन्ता हुन्। उनी दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिवी निवारण, मानव अधिकार र शान्तिको लागि १९७० देखि विभिन्न रूपमा लडिरहेकी छन्। दिल्लीमा बस्ने उनी नारीवादी विचार र अभियानका लागि चर्चित छिन्। समाजको जरासम्म पुग्ने उदेश्यको साथ स्थापित 'संगत' नामको दक्षिण एसियाली संजालको पनि उनी संस्थापक हुन्।
भासिनको जन्म अप्रिल २४, १९५६ मा मन्दी वाहुद्धिन जिल्लामा भएको थियो, जुन अहिले पाकिस्तानमा पर्छ। उनी आफूलाई मध्यरातको बच्चा भन्न रूचाउँछिन्, जुन शब्दलाई भारत-पाकिस्तान विभाजन ताका जन्मने पुस्ताका मानिसहरूलाई भनिन्थ्यो। उनले राजस्थान युनिभर्सिटीबाट स्नातकोत्तर गरेपछि जर्मनीको मन्स्टर युनिभर्सिटीबाट विकास समाजशास्त्रमा पनि उच्च शिक्षा अध्ययन गरिन्। संगत सुरु गरेर सामाजिक अभियानमा लाग्नुअघि उनले १९७६ देखि २००१ सम्म संयुक्त राष्ट्रसंघको खाना तथा कृषि संगठनमा काम गरेकी थिइन्।
भासिनले पुरुषप्रधानता र लैङ्गिक विषयहरुमा खुलेर लेख्ने गरेकी छन्। उनका किताबहरू ३० भन्दा धेरै भाषाहरूमा अनुदित भएका छन्। लाफिङ म्याटर्स (२००५), एक्प्लोरिङ मस्कुलिनिटी (२००४), बोर्डर्स एण्ड बाउन्ड्रिज: वुमन इन इन्डियाज् पार्टिसन (१९९८) र ह्वाट इज पेट्रियार्कीजस्ता चर्चित किताबका लेखक उनी लेखन तथा अभियानमा वर्ग, भुगोल, सिमानासहित अन्य सामाजिक विभाजनबिनाको महिला आन्दोलनको कल्पना गर्छिन्।
भासिनले उस्तै सोचाइ र मन भएका धेरै पाकिस्तानीहरूसँग राम्रो सम्बन्ध विकास गरकी छन्। भारत-पाकिस्तानबीचमा तनावपूर्ण अवस्था रहेको बेलामा पनि उनी पाकिस्तानकी महिला अधिकारवादी नेतृ निगर अहमदको मृत्युमा शोक व्यक्त गर्न भर्खरै लाहोर र स्लामाबादको भ्रमणमा गएकी थिइन्। निगर र उनी १९७९ मा थाइल्याण्डमा भेटेपछि एकदमै मिल्ने साथी भएका थिए।
इस्लामाबादस्थित एक फार्महाउसको कुनै घमाइलो दिनमा हेराल्डसँग कुरा गर्दै उनले दक्षिण एसियामा महिला आन्दोलनको तत्कालिन अवस्था र चुनौतीहरू, पुस्तागत र राजनैतिक विभाजन र कहिल्यै नसकिने भारत-पाकिस्तान द्वन्दको विषयमा बोलेकी छन्।
कति समयपछाडि पाकिस्तान आउनुभयो?
गएको वर्ष मात्रै आएकी थिएँ। वर्षमा एकपल्ट आएकै हुन्छु। म यहीँ जन्मिएकी हुँ। मेरो बुवा र आमा राजस्थानमा बस्ने गर्नुहुन्थ्यो तर, मेरो आन्टीको विवाह मन्दी बहुद्धिन को साहिदन गाउँमा भएको थियो। १९७५ देखि भने मैले दक्षिण एसियाली तहमा काम गर्न थालेँ। त्यो भन्दा पहिला भारतमा मात्र पाँच वा ६ वर्षसम्म एक्लै सक्रिय भएँ। म भारतको नागरिक हुँ भन्नुभन्दा पहिला गौरवले दक्षिण एसियाली हुँ भन्न सक्छु।
मेरा लागि दक्षिण एसियाली नागरिक हुनु, भारतीय हुनुभन्दा महत्वपूर्ण छ। जबसम्म हामी एक असल, शान्त र सहयोगी छिमेकीको रूपमा सँगै बस्न सक्दैनौँ, दुवै देशले प्रगती गर्न सक्दैन।
दक्षिण एसियाको महिला आन्दोलनलाई कहाँ देख्नुहुन्छ? यसबारेमा तपाईंका तत्कालिन सोचाइ तथा चिन्ता के छन्?
हाम्रा मिडियाहरू सहर र सेलिब्रेटी केन्द्रित भएकाले महिला आन्दोलनको बारेमा सबैको गलत बुझाइ छ। यदि तिनीहरूले निगर अहमद, निगट साहिद खान, कमला भासिन देख्दैनन् भने उनीहरूलाई महिला आन्दोलन सकिएको जस्तो लागिहाल्छ। मैले पाकिस्तानका महिला संगठनहरूको काम हेर्दा त्यहाँ सहरमा भन्दा ग्रामिण भेगमा अझै प्रभावकारी भएको पाएको छु। उदाहरणका रूपमा ओकाराको भूमी अधिकारको आन्दोलनलाई नै हेर्नुहोस्।
लाहोरमा त्यस्तै आन्दोलन देखाउनुहोस् त मलाई, या कराँचीमा। ओकारामा समस्या दश वर्षभन्दा धेरै भइसक्यो र पनि हरेकपटक विरोध हुँदा हजारौं महिलाहरू हातमा डण्डी लिएर सडकमा आएका छन्। म त्यस्तो आन्दोलन सहरमा हुन्छ भन्ने सोच्न पनि सक्दिन।
त्यो आन्दोलनमा कोही नयाँ सेलिब्रेटी पनि सहभागी भएका छन् कि?
सेलिब्रेटी हामीलाई किन चाहिएको? म यसको विपक्षमा छु। किनकि, सेलिब्रेटीले केवल नारा दिन सक्छन् तर यदि त्यो नारालाई दोहोर्याउने कोही भएन भने नाराको कुनै काम हुँदैन। ती ठूला नामहरूलाई सम्पर्क गर्न सजिलो छ। कुनै पत्रकार मजस्तै मान्छेलाई भेट्न पुग्छ जसको नम्बर उसले सेभ गरेको छ। म पनि अन्तर्वार्तालाई नकार्न सक्दिन। यो दोहोरो समस्या हो। यो मैले नै बनाएको समस्या पनि हो। म सेलिब्रेटी हुन चाहन्छु ताकि, मेरो भिजिटिङ कार्डहरू बाँडिरहन सकुँ।
भारतमा धेरैथोक भइरहेको छ। उत्तर प्रदेशमा पिंक ब्रिगेड चलिरहेको छ, जहाँ पिंक साडी लगाएका र बाँसको लौरो बोकेका महिलाहरूले नेतृत्व गरिरहेका छन्। त्यहाँ महिलाको विरुद्धमा जसले पनि हिंसा गर्छ, बिग्रेडले कुटेर धुलोपिठो पारिदिन्छ। महिलाहरू हिंस्रक भएको राम्रो हो म भन्दिन तर पिंक ब्रिगेडले महिलामाथि हुने हिंसा यति कम गर्यो कि ब्रिटिस महिलाहरूले त्यो कथामा फिल्म नै बनाए।
दुई वर्ष अगाडि मात्रै एक जना महिलाले रजस्वला भएको बेला मन्दिर जाँदा छिर्न नदिएको भनेर मन्दिरको पुजारी बिरूद्ध उजुरी गरिदिइन्। हजारौं महिलाहरूले त्यसको विरोध गर्दै एकैपटक मन्दिरमा छिरिदिए। मुम्बईको हाजी अली मस्जिदमा मुस्लिम महिलाहरूले पनि त्यस्तै गरे। उनीहरूले के भने भने १२ वर्ष अगाडिसम्म त्यहाँ छिर्नलाई रोकिएको थिएन। त्यो १२ वर्षे निषेधलाई त्यसरी उल्ट्याइयो।
उसो भए महिला अधिकारको आन्दोलन जसरी प्रगती गरिरहेको छ त्यसबाट सन्तुष्ट हुनुहुन्छ?
यदि हामी मात्र यसका खेलाडी भइदिएर यसलाई अगाडि बढाइरहेको भए म सन्तुष्ट हुन्थेँ होला, तर विडम्बना अरु खेलाडीहरू, जो हामीभन्दा धेरै शक्तिशाली छन्, हामीलाई पछाडि नै धकेल्न खोजिरहेका छन्।
ती खेलाडीहरू को-को हुन् र?
कर्पोरेट मिडिया, पूँजिवादी पुरुषवाद। पोर्नोग्राफी अहिले बिलियन डलर उद्योग बनिसकेको छ, जसले पुरुषलाई डरलाग्दो, यौनपिपासु र मर्द बनाएको छ र महिलालाई शरीरको एक अंगमा सीमित गरिरहेको छ। अर्को बिलियन डलर उद्योग कस्मेटिकले त झन् महिलाहरूलाई शरीर राम्रो नभए म काम नै नलाग्ने छु भन्ने खाले भ्रम छर्दै हिँडिरहेको छ।
दुई वर्षको बच्चालाई बन्दुक दिने खेलौना उद्योगलाई नै हेर्नुहोस्। र, १५ वर्षपछी उ आतंकवादी कसरी भयो भनेर हामी नै सोधिरहेका हुन्छौं। उसलाई तपाईं घरमै तयार पार्नुहुन्छ। उसलाई जहाँ मन लाग्यो त्यहाँ पिसाब फेर्न लगाउनुहुन्छ। जस्तो चाह्यो, त्यस्तो रिसाहा हुन दिनुहुन्छ। ऊ त्यस्तो जन्मिएकै थिएन।
अनि त्यसपछि हलिउड र बलिउड छँदैछन्। हो, उनीहरू राम्रा फिल्महरू पनि बनाउँछन्। ती फिल्महरू हेरेर हामी फेमिनिज्म के हो भन्ने बुझौंला। तर, त्यस्ता फिल्महरू साह्रै थोरै अनुपातमा छन्। बाँकीले त पुरूषप्रधानताका पुरानै ढर्राहरू देखाइरहन्छन्। दबंग फिल्म नै हेर्नुहोस् न एक पुलिसवालाले पुलिस स्टेसनमै रक्सी पिइरहेको देखाएको छ। त्यसले १५० करोड कमायो। भारतका दर्शकहरू त्यस्तो फिल्म हेर्दिन भनेर किन भन्दैनन्?
केही मान्छेहरू सामाजिक सञ्जालसँग जनताको सञ्जाल बन्ने सामर्थ्य छ भन्छन् नि। कर्पोरेट मिडियाको कुनै त्यस्तो वैकल्पिक मिडिया देख्नुभएको छ?
पहिलो कुरा त मिडिया तथा प्रविधी स्वतन्त्र छैनन्। उनीहरू त्यही कुराको बोल्छन्, जसले तिनीहरूलाई चलाउँछन्। कर्पोरेट मिडिया र सोसल मिडियाको हकमा पनि यही लागु हुन्छ। जब तपाईं जनताको मिडिया भन्नुहुन्छ, तपाईंले इस्लामीकरणलाई पनि जनताको एजेन्डा (निश्चित समुदायको लागि) को रूपमा सोच्नुपर्छ। त्यसैले यो कसले चलाइरहेको छ त्यसमा भर पर्छ। चाहे हिन्दु अभियन्ता होस् वा चाहे इस्लामिक वा आइएस, उनीहरूले पनि अरूले चलाए जति नै चलाइरहेका हुन्।
हाम्रो देशमा यदि महिलाले कुनै राजनैतिक पार्टीको लागि बोल्यो भने हजारौं उसलाई गिज्याउन थालिहाल्छन्। हामीलाई थाहा छ कि, केही पार्टीहरूले त्यस्ता गिज्याउनेहरूलाई भाडामा लिएका छन् जो भन्नु भनेको भनिदिन्छन्। अनि हाम्रै देशमा केटीहरू केटासँग सामाजिक सञ्जालको माध्यमबाट प्रेममा पर्छन्। केटाहरू उनीहरूको फोटो खिच्छन् र अपलोड गरेर आत्महत्या गर्न बाध्य पार्छन्। यसरी कति केटा वा केटीले आत्महत्या गरे कसैलाई थाहा छैन।
तर सामाजिक सञ्जाल विभिन्न आन्दोलन र अभियान सुरू गर्न सहयोगी पनि त हुन्छन् नि?
त्यो सत्य हो तर दुवै उद्देश्य; शान्ति वा अशान्ति वा युद्ध सुरू गर्नका लागि सुरू हुन सक्छन् नि। हामीले कुन अभियान बलियो हो भन्ने कुराचाहिँ हेर्नुपर्छ। यदि हिन्दुत्व वा इस्लामिकरण यसरी बढिरहेको छ भने हामीले बुझ्नैपर्छ कि उनीहरू हामीभन्दा धेरै प्रभावकारी ढंगले सामाजिक सञ्जाल चलाइरहेका छन्। किनकि, हामी उनीहरूजस्तो संगठित पनि छैनौं। हाम्रा पनि मूल्य मान्यता होलान्। तर हामी उनीहरूजस्तो झुट र घृणालाई सामाजिक सञ्जालमा छर्दैनौं।
र, विश्वभरबाट सबै प्रकारका विज्ञापनहरू सामाजिक सञ्जालमा देखिइरहेका छन्। बिडम्बना नै भन्नुपर्छ, सामाजिक सञ्जालबाट पैसा कमाउन सक्ने शक्ति भएकाहरू, यसको माध्यमबाट अस्वस्थ प्रतिस्पर्धा गराउन सक्नेहरू तथा घातक उपभोक्तावादीहरू चाहिँ सामाजिक अभियन्ताहरूभन्दा शक्तिशाली छन्। म त्यसैले सामाजिक सञ्जालहरूले मानिसहरूलाई स्वतन्त्र बनाइरहेको देख्दिन।
हामी धार्मिक रुपले ओतप्रोत राजनैतिक शक्तिहरूको उदय भएको देखिरहेका छौं, जो धर्मभन्दा माथि केही पनि देख्दैनन्। धर्म तपाईंको देश भारत र हाम्रो देश पाकिस्तान दुवैमा प्रयोग भइरहेको छ नि।
हैन हैन। भारतका हिन्दुत्व अभियानकर्ताहरू धर्मको नाममा बोलिरहेका छैनन्। उनीहरू गीता वा अरू धार्मिक किताबले अह्राएअनुसार काम गरिरहेका छौं भनिरहेका छैनन्। व्यक्तिगत रूपमा मलाई के लाग्छ भने पूँजिवादी पुरूषवादले धर्मभन्दा माथि रहेर भारतलाई शासन गरिरहेको छ।
यो किन त?
मैले भर्खरै एउटा टेड टकमा सुनेअनुसार १२ वर्षमाथिका ८० प्रतिशतभन्दा धेरै केटाहरू अश्लिल फिल्म हेरिरहेका छन्। जब हामी बस स्टपमा गाडी कुर्दै हुन्छौं तब, सिलाकी जवानी, मुन्नी बदनाम हुई, मे तन्दुरी मुर्गी हुँ, लौन्डिया पटाई ले मिस्स्टकलसे जस्ता गीतहरू सुनिरहेका हुन्छौं। हरेक महिलाहरूलाई यस्ता गीतहरूले 'लौन्डिया' बनाइरहेका छन्। धार्मिक रूपमा हामीहरूलाई कम्तिमा पनि लौन्डिया त भनिदैन थियो।
मैले फिल्म बनाउनेहरूलाई दोष दिन खोजेको हैन। उनीहरूलाई व्यापार दिने हामी उपभोक्ता नै हौं। तर हामी दंगल जस्तो महिला रेस्लरमाथि बनेको फिल्मलाई पनि त व्यापार दिइरहेका छौं नि। त्यो फिल्मले ४०० करोड कमाएर इतिहास नै बनायो।
पहिला बजरंगी भाइजानले पनि १५०-२०० करोड कमाएको थियो। भारत र पाकिस्तानमाथि बनेको यो सबैभन्दा सुन्दर फिल्म हो। यसले पाकिस्तानका जनताको मानवीयतालाई देखाएको छ। उनीहरू एउटी बच्चीका लागि हिन्दु केटालाई बचाउन झुट बोलिरहेका छन्। नभए त हरेक मुस्लिम वा पाकिस्तानीलाई हाम्रो देशमा खराब भनेर बुझ्ने चलन थियो। मैले भन्न खोजेको के भने धर्म समस्या त हो, तर पब्लिक प्रोपोगान्डा भन्दा ठूलो हैन।
तर बोर्डरको दुवैतिर त धर्मलाई नै नराम्रो बानी फैलाउने तत्वको रूपमा हेरिन्छ नि।
हैन हैन। म भन्दैछु धर्म र पूँजीवादी पुरुषवाद दुवै खराब हुन्। यो नाम मात्रको धर्मनिरपेक्ष, पूँजीवादी, उच्च वर्ग, नयाँ प्रविधी… यो सबले के गर्दैछ? अनुहार राम्रो पार्ने क्रिमको विज्ञापन? यी भारतीय टिभी सिरियलहरू एकछिन पनि हेर्न सकिँदैन। तिनीहरू पुरै पुरूषप्रधान र अश्लिल छन्। धेरै बलिउड फिल्महरू त अर्ध-अश्लिल भइसके। र, तिनीहरूले भारतमा भएका धेरैलाई असर पारिरहेका छन्।
र पाकिस्तान र भारतमा गरिने धर्मको प्रयोगमा पनि फरक छ। भारतमा रजस्वलासँग सम्बन्धित जनविश्वासको विपक्षमा धेरै अभियानहरू संचालन भएका छन्। केही किशोरीहरुले उनीहरूको अभियानलाई ‘हेप्पी टु ब्लिड’ पनि भनिरहेका छन्। सेनिटरी प्याडमा चेतनाको सन्देश लेखेर विश्वविद्यालयको भित्तामा टाँसिरहेका छन्। जब उनीहरूले दिल्लीको जामिया मिल्ला स्लामियामा पनि त्यस्तै गर्न खोजे, विश्वविद्यालयले रेस्टिकेट गर्न खोजेको थियो तर उनीहरू हारेनन्। रेस्टिकेट पनि भएनन्।
सुप्रिम कोर्टमा एउटा मुद्धा चलिरहेको छ। त्यसले प्रश्न गर्छ, के कुनै धर्मले केवल रजस्वला भएकै कारण कुनै महिलालाई रोक्छ? हामीले पनि धर्मलाई चुनौती दिइरहेका छौं किनकि धार्किम संगठनहरूसँग हामी डराएका छैनौं। धार्मिक आस्था बोकेका पार्टीहरू जस्तै- भारतीय जनता पार्टी, राष्ट्रिय स्वयंसेवक संघ आदि संगठनहरू पनि धार्मिक भन्दा राजनैतिक संगठनको रूपमा देखिएका छन्। तिनीहरूको मुख्य उदेश्य राजनैतिक भए पनि धर्मलाई हिन्दु र मुस्लिमको बिभाजन ल्याउने अस्त्रको रूपमा प्रयोग गरिरहेका छन्।
भारत र पाकिस्तानलाई यो अवस्थामा ल्याउन धर्मले कस्तो भूमिका खेल्यो जस्तो लाग्छ?
फेरि पनि भन्दा म कुनै एक तत्वलाई यसको पूर्ण जिम्मेवार मान्दिन। यो धेरै जटिल विषय हो र यसलाई म दुईवटा धर्मबीचको विषय बनाउन चाहन्न। म अर्थशास्त्रलाई पनि यसको बीचमा ल्याउँछु। मलाई के लाग्छ भने हामीबीच रहेका धेरैजसो साम्प्रदायीक द्वन्द्वहरु आर्थिक द्वन्द्वहरु हुन्। स्रोतको नियन्त्रण कसले गर्ने भन्नेमा हो।
ती स्रोतहरू के हुन्छ? द्वन्द्वलाई धार्मिक भनिदिन सजिलो छ, त्यहाँ नदेखिएका मुन्तिर जमिन, व्यापारजस्ता कारणहरू पनि लुकेका छन्। भारत र पाकिस्तानबीचमा यो अवस्था आउनुमा विश्वका धनी राष्ट्रहरूलाई पनि कारण देख्छु म। विश्वव्यापी सैन्य उद्योगको असर पनि हो यो।
पाकिस्तानीहरू त भारत शान्तिको लागि इच्छुक छैन भन्ने ठान्छन्। अब यो सम्बन्ध कता जान्छ त ?
प्रधानमन्धी नरेन्द्र मोदीले सपथ ग्रहणमा दक्षिण एसियाका सम्पूर्ण नेताहरूलाई बोलाए। यस्तो कहिल्यै भएको थिएन। त्यसपछि उनी फेरि लाहोरको चिया पार्टीमा पनि आए। तर जब यस्ता भ्रमणहरू हुँदै थिए, भारतमा आक्रमण भयो। पहिला सबैले वार्ताबाटै समाधान खोज्ने भनेका थिए, तर अहिले भारतमा केही मान्छेहरू भारतले पाकिस्तानसँग कुरा नै गर्नुहुँदैन भन्दै बसेका छन्।
उनीहरूको तर्क छ, भारतले पाकिस्तानमाथि सुरूमा कहिल्यै आक्रमण गरेको छैन। पाकिस्तानसँग प्रेमको कुरा गर्ने जो कोहीलाई भारतमा देशद्रोहीजस्तै ठानिन्छ। त्यस्तै भारतसँग प्रेमको कुरा गर्ने जो कोहीलाई पाकिस्तानमा देशद्रोही मानिन्छ।
१९९० र २००० को दशकमा दुई देशका मानिसहरूबीच राम्रो आउजाउ थियो। त्यो अहिले घटेको छ। कारण के हुन् जस्तो लाग्छ?
जब म जर्मनीमा पढ्थेँ, पाकिस्तानीहरू मेरा मिल्ने साथी थिए। किन? किनकि मेरो पासपोर्ट र धर्मभन्दा धेरै माथिको कुरा मैले उनीहरूसँग सेयर गरेको थिएँ। हाम्रो खाना, गीत, फिल्म, क्रिकेट सबैथोक मिल्दाजुल्दा छन्। अहिले पनि युवा भारतीय तथा पाकिस्तानीहरू विदेशका हरेक विश्वविद्यालयहरूमा भेट्छन्। केहीले विवाह पनि गरेका छन्। त्यसैले हाम्रोभन्दा भारत-पाकिस्तान सम्बन्धमा उनीहरूको ठूलो चासो हुनुपर्ने हो। विदेशमा भेट्ने मात्र हैन उनीहरू आफ्नै देशमा पनि भेट्छन्। उनीहरू ग्लोबल सिटिजन भैसके, हाम्रोजस्तो धर्ममा खासै ठूलो ख्याल राख्दैनन्। नयाँ पुस्ताले भारत-पाकिस्तान बिखण्डनको भारी बोक्न छोडिसक्यो। जब हाम्रा पुर्खाहरू भारतको भ्रमणमा थिए, बरु उनीहरू मारिए।
समूह समूह मिलेर लामो बस यात्रामा हाम्रा महिलाहरू यहाँ आएका छन्। आस्मा जाहाँगिरले यहाँका महिलाहरू भारत लिएर गएकी छन्। तर, त्यस्तो आवतजावत अहिले अलिक कम भएको छ। ‘अमन कि आसा’ (शान्तिको पर्खाइ) जस्ता अभियानहरू ठूलो उत्साहले सुरू भएका थिए, तर अहिले माहोल गुमाएको जस्तो देखिएको छ। चर्को राष्ट्रियता हाबी भएर हामीलाई आपसमा टाढा बनाउँदै लगेको छ।
भिसा पाउन साह्रै गाह्रो भएको छ, जसले दुई देशमा यात्रा गर्न कठिन छ। तर, त्यसरी आउन जान नपाए पनि सामाजिक सञ्जालले भने रोकेको छैन। भर्खरै मात्र कराँची र बम्बईका दुई विद्यार्थीहरूले गुजरातको संस्कृति, खाना र त्यहाँका मान्छेको बारेमा बुझ्न स्काइप प्रयोग गरेको खबर समाचारमा पढेको थिएँ।
केही युवाहरूले स्कुलको आर्ट कम्पिटिसनमा बालबालिकाहरूले बनाएका भारत-पाकिस्तान मित्रता झल्कने फोटोहरू हालेर शान्ति क्यालेन्डर बनाएका छन्। सयौं त्यस्ता चित्रहरूबाट उनीहरूले भारतबाट ६ र पाकिस्तानबाट ६ गरी १२ वटा त्यस्ता चित्रहरू छानेका थिए। दिल्लीमा मैले नै त्यो क्यालेन्डर सार्वजनिक गरेको थिएँ। त्यो पछि भारतको अमृतसर, चण्डीगढ र पानीपट तथा पाकिस्तानको लाहोर र कराँचीमा पनि सार्वजनिक भयो।
र पनि दु:खका साथ भन्नैपर्छ, हाम्रो एकआपसमा सम्पर्क कम भएकै हो। झनै दुखद् कुरा त के छ भने भारतका केही मानिसहरू पाकिस्तानका एक्टर तथा गायकहरूलाई भारतीय फिल्म उद्योगमा काम गर्न नदिने भनिरहेका छन्। यो ठूलो नैतिक पतन हो। भर्खरै महेश भट्टले तपाईंको देशको एकजना गायकलाई साइन गराएका छन्। आशा छ, यस्तै अरूले पनि गर्नेछन्।
मतलब तपाईं आशावादी हुनुहुन्छ?
सुन्नुहोस् मेरो साथी, यदि हामी आशावादी हुन सक्दैनौं भने हामीले सामाजिक अभियान छोडिदिए हुन्छ।
कास्मिर समस्या पहिलाभन्दा जटिल भएको छ, जसले भारत-पाकिस्तानको शान्ति स्थापनामा ठूलो समस्या खडा गरेको छ। यो समस्या चाँडै समाधान होला भनेर आशावादी हुने ठाँउ छ?
मैले कास्मिरमा धेरै कुराकानी गरेको छैन। मेरो मुख्य ध्यान नै महिलावाद र लैंगिक मुद्दामा छ। र भारतमा मानव अधिकार हनन भइरहेको छ भन्ने मत पनि बढ्दै छ।
मानव अधिकार अधियानलाई मन नपराउनेहरू ‘स्वतन्त्रता’को रूपमा उठाइएका नाराहरूलाई कास्मिरसँग सिधै जोडिरहेका छन्, जबकि उनीहरुको आपसमा केही लेनदेन छैन। यो स्वतन्त्रताको नारा (स्लोगन) मैले १९८५ मा पाकिस्तान आँउदा सिकेको हुँ- ‘मेरो दिदी बहिनी तथा मेरी छोरीले स्वतन्त्रता पाउनेछे’ भन्ने आशयका नाराहरू थिए ती। १९९५ मा मैले तिनै नाराहरूलाई अंग्रेजीमा अनुवाद गरेर बेइजिङमा भएको एउटा अन्तराष्ट्रिय सम्मेलनमा उठाएँ। स्वतन्त्रताको यो नारा उठाउन नमिल्ने कुनै महिला कार्यक्रम नै छैन भन्दा हुन्छ। तर अहिले बोर्डरको दुवैतिर यसैलाई ठूलो 'इस्यु' बनाइएको छ।
पाकिस्तानमा हामीलाई के लाग्छ भने भारतीय पक्षले कास्मिरका मुस्लिमहरू माथिको स्वतन्त्रता दबाइरहेका छन्। कास्मिरको पछिल्लो समस्यालाई कसरी हेर्नुहुन्छ?
कास्मिरमा पछिल्लो समय धेरै कुराहरू एकैपटक भइरहेका छन्। एकातिर हेर्ने हो भने महिलाहरूले नेतृत्व गरेको जनता प्रजातान्त्रिका पार्टीले भारतीय जनता पार्टीसँग मिलेर सर्वपक्षीय सरकार बनाएको छ, जुन कास्मिरलाई भारतको संविधानको धारा ३७० ले दिएको विशेष स्थानको विपक्षमा छ। अर्कोतिर हेर्दा स्वतन्त्रताको अभियान पनि त्यहाँ चलिरहेको छ। हरेक वर्ष जब कास्मिरमा पर्यटन बढेको जस्तो लाग्छ, तब केही ठूलो हमला हुन्छ र पर्यटन फेरि तल झर्छ।
कास्मिरको समस्या धेरै जटिल छ र त्यहाँ जे भइरहेको छ त्यो बिडम्बनापूर्ण छ। यो भारतको अर्थतन्त्रका लागि पनि ठूलो नोक्सानी हो। किनकि, भारतले कास्मिरको सुरक्षाको लागि मात्र ठूलो धनराशी खर्च गरिराख्नु परेको छ।
भारतभित्र कास्मिर समस्या चाँडै समाधान हुनुपर्छ भन्ने महशुस भएको जस्तो लाग्छ तपाईंलाई?
म भारतको बारेमा सबै कुरा जान्दिनँ, तर यति भन्न सक्छु- छलफलहरू भइरहेका छन्। हामी सोच्छौं कि कास्मिरको मानव अधिकारको सम्बन्धमा केही त पक्कै गर्नैपर्छ। कास्मिरमै भएका राजनैतिक पार्टीहरूमा पनि यो विषयमा विवाद छ। केही पार्टीहरूले त वार्ता गर्नैपर्छ पनि भनिरहेका छन्।
मलाई पनि यही लाग्छ कि, वार्ता चाँडोभन्दा चाँडो हुनुपर्छ। किनकि, त्यहाँ धेरै महिनादेखि स्कुलहरू बन्द छन्। केही भर्खरै खुलेका छन्। भर्खरै आएको बाढीले झन् आलो घाउमा नुन थपेको छ।
आलोचकहरूले महिला आन्दोलनलाई केवल धनी, पढेका र सहरीया महिलाहरूको विलासी चिज हो भनिरहेका छन्। तपाईंको भनाइ के छ?
दक्षिण एसियामा महिलावाद र गरिबी विरोधी अभियान सँगसँगै गएका छन्। अमेरिकामा बरु महिलावाद मध्यम वर्गहरूले अभियान सुरू गर्ने साधन थियो। तर, हामी त महिला आन्दोलनसँगै गरिब, पिछडिएकाहरूको मुद्दा पनि उठाइरहेका छौं।
'राइट विङ' कट्टरवादीहरू मध्यम र धनी वर्गमा बढ्दै गइरहेका छन् भनिन्छ। महिला अधिकारका लागि सुरू भएका अभियानहरूले उनीहरूलाई पनि सहभागी गराउनुपर्छ?
हो, त्यो सहभागीता जरूरी छ तर हाम्रो त्यस्तो परिवारसम्म पहुँच छैन। उनीहरू सबैथोक जान्दछन्। उनीहरू बोल्न चाहँदैनन्। उनीहरू जहाँ छु, ठिकै छु भन्ने सोच्छन्।
जब गैरसरकारी संस्थाहरू र महिला अधिकारका अभियानहरू सहरबाट गाउँ-गाउँमा फैलिए, तिनीहरू जटिल तरिकाले कर्मचारिकरणको सिकार भएका छन्। सरकारी प्रक्रियाले ठूलो झमेला दिएको छ। तर सत्यचाहिँ के हो भने यदि ‘औरत फाउन्डेसन’ ले गाउँमा काम नगरेको भए अहिले स्थानीय सरकारमा बढेको महिला सहभागीता सम्भव नै थिएन।
हामी पाकिस्तानमा के देख्छौं भने मानव अधिकार तथा गरिबी निवारणका लागि भएका ठूला लडाईंहरू केवल ठूला सहरहरूमा मात्र भइरहेका छन्। ओकारामा भइरहेको किसान आन्दोलन पनि ठूला मिडियाले नछापुन्जेलसम्म सुनिएन।
मिडियाले केवल देखाउन र सुनाउन सक्छ, तर त्यहाँ को लडिरहेको छ? कसले टाउको फुटाइरहेको छ? कसको घर उठाइएको छ र अतिक्रमण गरिएको छ? भन्नेजस्ता कुराहरू हेर्दैन।
मिलिटरी हुन् या राजनैतिक पार्टी वा स्थानीय प्रशासन, निर्णय गर्नेहरू त सहरमा बसेका छन् नि।
यदि निर्णय गर्नेहरू सहरमा बसेका छन् भने पनि स्थानीय तहका 'ग्रास रूट' लेभलमा उठेका अभियानहरूलाई उनीहरूले सुन्नैपर्छ। ओकाराका किसानहरूले ओकारामा मात्र विरोध प्रदर्शन गर्न सक्छन्। आर्मीले लिएको जग्गा उनीहरूको हो, ईस्लामाबादको हैन। त्यसैले हो, निर्णय गर्नेहरू यहाँ छन्, मिडिया पनि यहाँ नै छन् तर उनीहरू आन्दोलन हैनन्। उनीहरू आन्दोलन सुन्नुपर्ने र रेस्पोन्स गर्नुपर्नेहरू हुन्। आन्दोलन अहिले पनि ग्रामिण भेगमै भइरहेको छ।
तपाईंलाई लाग्छ महिला आन्दोलनको उपलब्धी/खर्च र फोकस रिभ्यु गर्ने बेला भयो?
मलाई थाहा छैन तपाईं कसरी अभियान वा आन्दोलनलाई परिभाषित गर्नुहुन्छ। परिभाषामा आन्दोलन केन्द्रबाट आयोजना गरिएको क्रियाकलाप हैन। यसमा हजारौं हजार समूह तथा मानिसहरू सहभागी हुन सक्छन्। जब ओकारामा किसानहरूले आन्दोलन थाले, के उनीहरू आन्दोलन सुरू गर्न चाहान्छौँ भनेर 'विमेन्स एक्सन फोरम' लाई सोध्न आएका थिए र? हैन। उनीहरू भोकमरीमा परेपछि आन्दोलन थालेका हुन्। तपाईंलाई लाग्छ सीम करमानीले सेवान गएर आतंकवादी हमलाको विरोधमा नाच्नुअगाडि कसैलाई सोधेकी होलिन्?
महिलावाद त पुरूष सर्वसत्ता जन्मिएपछि जन्मिएको हो। त्योभन्दा पहिला यसको जरूरी नै थिएन। शान्ति अभियान पनि युद्ध भएपछि मात्र जन्मिएको हो। हामी त इस्युलाई रेन्पोन्ड मात्र गरिरहेका हौं। उदाहरणका लागि २०१५ मा डिजिटल क्राइम हाम्रो एजेण्डा हुन्छ भन्ने हामीले सोचेकै थिएनौं।
बच्चाको लिंग चिनेपछि गरिने गर्भपतन १९७० र ८० को दशकमा समस्या नै थिएन किनकि त्यसबेला यस्ता मेसिनहरू बनेकै थिएनन्। यस्तै एसिड फाल्ने समस्या पनि त्यसबेला थिएन। म १९८० को दशकमा पूँजीवादी पुरूषसर्वसत्ताको बारेमा मात्र बोलिरहेको थिइनँ किनकि, त्यसबेला मेरो देशलाई विश्वव्यापीकरणले यसरी गाँजिसकेको थिएन।
विश्वव्यापीकरण आइपुग्नुभन्दा पहिला कुनै पनि महिलालाई 'ब्युटी क्वीन' बन्ने सोच थिएन। जब राजीव गान्धीले भारतीय अर्थतन्त्रलाई विश्वव्यापीकरण गरे, त्यसपछि मात्र ब्युटी पेजेन्टहरूमा भारतीय महिला बढेका हुन्। के त्योभन्दा पहिला हाम्रा महिलाहरू सुन्दर थिएनन् त? सुन्दरी प्रतियोगिता त मार्केटिङ माध्यम मात्र हो। यसले हाम्रा महिला पुरूष र सिंगो देशलाई नै बजार मात्र बनाइरहेको छ।
मैले पाकिस्तानका केही न्यायापालिकामा हुने महिलाहरूसँग कुराकानी गर्दा उनीहरू आफ्नै राजनैतिक पार्टी हुनुपर्ने भनिरहेका थिए। तपाईंलाई महिला मात्र भएको कुनै पार्टी हुनसक्छ जस्तो लाग्छ?
जर्मनीमा महिलाहरूले यस्तै प्रयास गरेका हुन्। फिलिपिन्समा पहिले देखि नै छ। तर, राजनैतिक पार्टीहरू लैंगिक रूपमा आँउदैनन्। उनीहरूको आधार त राजनीति हो नि।
महिला केवल महिला मात्र हैन। उनको जात, धर्म हुन्छ। उनी सिया, सुन्नी, धनी, गरिब, सबै हुन सक्छिन्। महिलाहरूको भिन्दा भिन्दै यस्ता चिनारीहरू छन्, जसले हामीलाई विभाजन गर्छन्। हामीले यस्तो विभाजन सेवा (गुजरातको स्व-रोजगार महिलाहरूको संगठनमा) देख्यौं जहाँ हिन्दु र मुस्लिम महिला सँगै काम गर्ने गर्थे। जब गुजरातमा हिन्दु र मुस्लिम बिचमा द्वन्द्व सुरू भयो उनीहरूले पनि आफ्नो सामुदायीक चिनारीमा फर्किनु पर्यो। किनकि, सेवामा सहभागीताको वर्षभन्दा सामुदायीक चिनारी सयौं वर्ष पुरानो हो। यस्तो पुरानो चिनारी वा पहिचानमा हुन्जेल हामी राजनैतिक पार्टीले 'बायोलोजिकल' आधारमा मात्रै काम गर्न सक्छ भन्ने अनुमान गर्नै सक्दैनौं।
महिलाहरू आइडियोलोजिकल रूपमा पनि पुरूषहरू जस्तैगरी विभाजित छन्। 'राइट विङ' स्लामिक महिलाहरूले आफूलाई 'स्लामिक फेमिनिस्ट' भन्छन्। र, म उनीहरू हैनन् भन्ने को हुँ? को फेमिनिस्ट हो र को हैन भन्ने कुरा कसले तोक्न सक्छ? म त्यो पोजिसनमा भएको कोही पनि देख्दिन।
यो अन्तर्वार्ता पढ्दै गरेका धनी वा सहरी महिलाहरूका लागि के भन्नुहुन्छ?
यदि हामीले महिला हुनुका मूल्यहरू जस्तै- ख्याल गर्ने, स्याहार गर्ने, माया गर्नेलाई महिला सशक्तिकरणका नाममा छोड्दै गयौं र पुरूषजस्तो शक्ति खोज्ने भोकमा लाग्न थाल्यौं भने यो विश्व १० वर्षमा अन्त्य हुन्छ र यदि गरेनौं भने २० वर्षमा अन्त्य हुन्छ।
र पुरूषहरूले पनि आफ्नै पुरूषसर्वसत्ताले आफैंलाई कसरी घटाउँदै लगेको छ भन्ने कुरा बुझ्नुपर्छ। जस्तो कि, पुरूषसत्ताले उनीहरूलाई रून दिँदैन। उनीहरूले भावनात्मक विद्वता त गुमाए नि। उनीहरू आफ्नै मनलाई सुन्न नसक्ने भए। अमेरिकामा भएको टेड टकले के देखाउँछ भने आफूले आफैंलाई बुझ्न नसकेको कारण त्यहाँ केटीहरूभन्दा चार गुणा धेरै केटाहरूले आत्महत्या गर्छन्।
यदि कुनै महिलाले पुरुषलाई माया गर्दिन भनिन् भने उसले उनको अनुहारमा एसिड छ्याप्छ। तर यदि उसकी श्रीमतीले मायाले किस गर्दिनन् भने ऊ कहिल्यै कम्प्लेन गर्दैन। किन गरिन भन्ने सोच्दैन। ऊ बरू गाला चड्काउन सजिलो मान्छ किनकि, पुरूषसत्ताले उसलाई त्यही सिकाएको छ। यदि बसमा कुनै स्त्रीको स्तनले छोइएर कोही केटा मान्छे खुसी हुन्छ भने उसले कुनै मनोविज्ञलाई भेट्न गए हुन्छ। ऊ बिरामी छ।
पुरूषहरू एउटै आयाममा मात्र छन्। एउटा मात्र रंग भएजस्तो। हामीले उनीहरूको लुगा लगाएर देखायौं। अब उनीहरूले साडी लगाएर देखाउन् त। उनीहरू आफ्नो कामबाहेक केही पनि गर्न जान्दैनन्। उनीहरू अचार बनाउन जान्दैनन्। खाना बनाउन जान्दैनन्। उनीहरू पिसाब फेरेको बच्चा स्याहार्न पनि जान्दैनन्।
महिलालाई बलात्कार गर्ने पुरूषलाई पुरूष भन्नुहुन्छ? के उसलाई यो भनिएको छ कि उसले अर्को समुदायको कसैलाई बलात्कार गर्नुपर्छ? कुनै नतिजाका लागि उसले बलात्कार गर्नुपर्छ? के गरेपछि उसले युद्ध जित्छ? नत्र किन ऊ आफ्नो शरीरलाई हतियार बनाएर कुनै महिलालाई दु:ख दिन्छ?
के त्यो हतियार मायाको कुनै साधन हुन सक्दैन? पाकिस्तानी सिपाही बंगलादेशमा वा अमेरिकन सिपाही भियतनाममा वा हिन्दु राइटिस्ट मान्छे भारतमा, जब उनीहरू आफूले घृणा गर्ने समुदायकी कुनै महिलालाई बलात्कार गरिरहेका हुन्छन्, आफ्नो सन्तानलाई आफैंले घृणा गर्ने मान्छेको कोखमा पुर्याइरहेका पनि त हुन्छन्। त्यसरी जन्मिएको बच्चासँग उनीहरूको सम्बन्ध के हुन्छ? के मानिसहरू भन्छन् कि, बलात्कार भएपछि कुनै समुदायको इज्तत खत्तम भयो? नत्र भने महिलालाई समुदायको इज्जतको रूपमा अघि सारेर किन बलात्कार गरिरहिँड्छ?
म त यो खराब संसारको सम्पूर्ण कारण हेजिमोनिक पुरूषवाद र विषालु पुरूषहरूलाई देख्छु।
तपाईंलाई लाग्छ कि लैंगिक सम्बन्धहरू राम्रा हुँदै गइरहेका छन्?
यसलाई यसरी हेरौं न– भारतमा १.२५ बिलियन मान्छे छन् जसमध्ये १ मिलियन मानिसहरूमा मात्र लैंगिक सम्बन्धहरू राम्रा भएका होलान्।
तर, तिनीहरूमा सुधार भइरहेको छ भन्नेचाहिँ मान्नुहुन्छ?
हो, सुधार भइरहेको छ। तपाईं एउटी महिला म अर्की महिलाको अन्तर्वार्ता लिन आउनुभएको छ। र, अन्तर्वार्ता एउटा महिलाको घरमा भइरहेको छ। यस्तो ५० वर्ष भन्दा पहिला सम्भव नै थिएन। यस्ता खाले कुराहरू समाजको सबै तहमा परिवर्तन भइरहेको छ। हाम्रो देशमा पनि महिलाले ट्याक्सी कुदाइरहेका छन्। कसैले ट्रक पनि कुदाइसके।
त्यति मात्र हैन, सयौं महिलाहरूले ट्याक्सी कुदाए। महिलाले आफ्नो उपस्थिति नदेखाएको कुनै ठाँउ नै छैन। महिलाहरू जुनसम्म पनि पुगिसके। सर्वोच्च अदालतका प्रमुख न्यायधिश भइसके।
कानुनहरू पनि राम्रा हुँदै गइरहेका छन्। अहिले लैंगिक मुद्दालाई नहेरी कुनै पनि कानुन तयार हुँदैनन्। तर ती कानुनहरू व्यवहारमा लैजान भने समस्याहरू कायम नै छन्।
अहिले कुनै मन्त्री, न्यायधिश वा अरू कसैले महिलाको विपक्षमा केही कुरा बोल्यो भने मिडियाले उसलाई दिनभर घेर्छ। किनकि हामी महिला विरूद्ध हुने हिंसालाई पहिला भन्दा धेरै रिपोर्ट गर्न थालेका छौं। समाजमा त्यस्तो हिंसाको बारेमा धेरै कुरा भइसकेको छ।
दिल्ली युनिभर्सिटीमा केही युवा महिलाहरूले ‘पिँजडा तोड’ (पिँजडा भत्काउ) भन्ने अभियान नै चलाएका छन् जसले स्नातकोत्तरको विद्यार्थी भए पनि ७ बजेभित्र होस्टलमा छिर्नैपर्ने जस्ता नियमहरूलाई चुनौती दिएको छ। उनीहरूलाई त रातभर खुल्ने लाइब्रेरीमा पनि बस्न दिइँदैन थियो। अहिले त्यस्तो छैन।
महिला तथा बालबालिका विकास मन्त्री मेनुका गान्धीले भर्खरै त्यही अभियानका बारेमा केही भन्नुभएको थियो हैन?
हो, उहाँले त्यसलाई हर्मोनल गतिविधी भनेर साह्रै दुर्भाग्यपूर्ण अभिव्यक्ति दिनुभएको थियो। तर यदि हाम्रो हर्मोन त्यस्तो बलियो भएको भए हामीले बलात्कार गरिरहेका घटनाहरू आइरहन्थे नि। हामीले त त्यस्तो केही गरेका छैनौं। हामी आफ्नो हर्मोनलाई नियन्त्रण नै गरिरहेका छौं।
ती छात्राहरूले १८ वर्ष कटेका नागरिकलाई भारतको संविधानले दिएको अधिकारको हनन भयो भनेर अदालतमा मुद्दा लगेका हुन्। उनीहरूलाई जसले दुर्व्यवहार गरेको हो तिनीहरू जेल जानुपर्छ भनिरहेका छन्। ७ बजे पछाडि जान नपाउने भनेर केटीलाई नियन्त्रण गर्नेले केटालाई नियन्त्रण गर्न किन सक्दैन?
गएको मार्चमा लैंगिक विभेद गर्ने हिन्दु परम्पराको विरोधमा हजारौं दलित, मुस्लिम, तेस्रो लिंगी र फेमिनिस्टहरूले नागपुरमा प्रदर्शन गरे। त्यो प्रदर्शन सबै प्रकारको लैंगिक र जातीय विभेदको बिरूद्धमा थियो।
तपाईंलाई लाग्दैन कि, यस्ता कुराहरू पिछडिएका पुरूषहरूको हकमा पनि परिवर्तन हुँदैछन्?
तपाईंको दिमागमै पुरूषवादी सोच गढेको छ, जो सहरमा बस्छन्, उच्च घरानाका छन् र जसको हातमा पानीको बोतल हुन्छ। तर के तपाईंलाई लाग्छ कि, गाउँको कुनै पुरूषले ५० पर्ने पानीको बोतल किन्न सक्छ? ऊ त त्यही फोहोरी नालाको पानी पिइरहेको छ। केही पिछडीएका बालबालिकाहरू अहिले पनि बाल श्रमिकको रूपमा काम गरिरहेका छन्। एक टुक्रा रोटीका लागि सडकमा मागिरहेका छन्। आइएस र अन्य अतिवादीहरूले प्रयोग गर्ने बालबालिकाहरू त्यस्तै हैनन् र? उच्च वर्गबाट त्यसो हुने सम्भावना साह्रै कम छ।
यदि म तिनै पिछडिएका पुरूषहरूजस्तै भएको भए सायद म पनि त्यसै गर्थेँ किनकि, मैले आफ्नो भविष्य कतै देखेको छैन। म सुन्दर फोटोहरू सडकमा देख्छु, तर किन्न सक्दिन। म पोर्न हेर्छु तर, मसँग कुनै महिला साथमा छैनन्। म मेरो यौन इच्छालाई शान्त पार्न के गरूँ?
कोही पनि बच्चा वा महिला पिछडिएको हुँदैन। यो त सबै जात, वर्ग र धर्मले बनाएको हो। तर पुरूषले महशुस गर्नुपर्ने केही कुराहरू भने छन्। पहिलो- महिला स्वतन्त्र नभएसम्म उनीहरू कहिल्यै स्वतन्त्र हुँदैनन्। उनीहरूले सधैं हामीलाई खुवाइराख्नुपर्छ वा बचाइराख्नुपर्छ। दोस्रो- लैंगिक समानता एउटा हार्ने र अर्को जित्ने खेल हैन। यो दुवैले जित्ने खेल हो।
मैले बुझेअनुसार योग्यता भएका पुरूषहरू समानतासँग डराउँदैनन्। उनीहरूले कसैलाई जितेर आफ्नो पुरुषत्व प्रमाणित गर्नैपर्दैन। कुरा बुझेका पुरूषहरू जहिल्यै आधा महिला र आधा पुरूष हुन्छन्। पुरूष र महिलामा हुनुपर्ने दुवै क्षमता र गुणहरू उनीहरूसँग हुन्छन्। समाजको आवश्यकता पनि यही हो।
साभार- हेराल्डडटडनडटकम