पछिल्लो समय अमेरिकाले कोरियाली प्रायद्विपमा मिसाइल प्रतिरोधात्मक प्रणाली थाड तैनाथ गरेपछि क्रृद्ध बन्दै आइरहेको उत्तर कोरियाले बिहीबार बिहान श्रृंखलाबद्ध रूपमा एन्टी सिप नन व्यालेस्टिक मिसाइल प्रहार गरेको छ।
'मून जे इन’ दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएपछि उसले गरेको यो पाँचौ मिसाइल परीक्षण हो। यसभन्दा पहिला मे १४,२१, २७ र २९ मा लामो तथा मध्यम दूरीका व्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो।
बिहिबार बिहान ६ बजेर १८ मिनेट जादा पूर्वी तटबाट प्रहार गरिएका मिसाइल २ किलोमिटर उचाईबाट २०० किलोमिटर टाढा पूर्वी सागरमा खसेको दक्षिण कोरियाली सेनाले दावी गरेको छ।
खाङ्वन प्रान्तको वन्सन नजिकैबाट चरणवद्ध मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाका जोइन्ट चिफ्स् अफ स्टाफले जनाएका छन्। दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको जानकारी राष्ट्रपति 'मून जे इन'लाई गराएको सैनिक श्रोतलाई उद्धृत गर्दै कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन्।
यो पटक उत्तरले गरेको मिसाइल परीक्षण नन व्यालेस्टिक रहेको र यो मिसाइल व्यालेस्टिक भन्दा पनि कैंयु गुणा खतरनाक हुने दक्षिण कोरियाली सुरक्षा श्रोतले बताएको छ। यस्तो खालको मिसाइल निकै होचो दुरीबाट कम गतिमा जाने हुँदा विशेष गरि सामुद्रिक जहाज हरुलाई खतरा हुने बताइएको छ।
उत्तर कोरियाले श्रृखलाबद्ध रूपमा गर्दै आइरहेको मिसाइल परीक्षको अन्तर्राष्ट्रिय समुदायले चर्को रूपमा विरोध जनाउँदै आएका छन् भने संयुक्त राष्ट्र संघ, अमेरिका लगायत पश्चिमा राष्ट्रहरुले उत्तर कोरियामाथि प्रतिबन्ध थप कडा छन् भने जापानले कुनै प्रतिक्रिया दिएको छैन।