नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतदान स्थलमा कसैलाई भोट नहाल भन्दै पर्चा बाँड्नु गलत भएको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले अध्यक्षका अर्का उम्मेदवार भीम रावललगायत उम्मेदवारलाई भोट नहाल्न सूची नै मतदान स्थलमा वितरण गरेका थिए।
आज बिहान उनीहरूले भोट नहाल्न भन्दै सूची नै वितरण गरेपछि रावलले विरोध गरेका छन्।
यो पनि: मतदानस्थलमा आचार संहिताविपरीत पर्चा बाँडेकोमा रावलको आपत्ति
आयोगका अध्यक्ष सुब्बाले पनि त्यस्तो पर्चा हटाउन प्रहरी तथा प्रशासनलाई आग्रह गरिसकेको सेतोपाटीलाई बताए।
‘मतदानस्थलमा कसैलाई भोट नहाल भन्ने सूची बाँड्नु आचारसंहिता विपरीत काम हो। पर्चा हटाउन प्रहरीलाई भनिसकिएको छ,’ सुब्बाले भने, ‘यो गतल हो। म भित्र छु। बाहिर पर्चा बाँडेको भन्ने छ। पर्चा हटाउन प्रहरीलाई आग्रह गरेपछि अहिले कम भयो होला।’
यो पनि: महासचिव शंकर पोखरेललाई प्रश्न- भीम रावलसहित ११ जनालाई किन भोट नहाल्न भनेर पर्चा बाँडियो (भिडिओ)
मतदानस्थलमा यसरी कसैका पक्ष वा विपक्षमा सूची नै बनाएर भोट हाल वा नहाल भन्न नमिल्ने पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती बताउँछन्।
भोट नहाल भनेर सूची नै वितरण गरिनु अलोकतान्त्रिक हुने पनि उनको भनाइ छ।
‘मतदान सुरू भइसकेपछि लाइनमा बसेकाहरूलाई मलाई मत देऊ भन्न पनि पाइँदैन नदेऊ भन्न पनि पाइँदैन,’ उप्रेतीले सेतोपाटीसँग भने, ‘चुनाव हुनु भनेको लोकतान्त्रिक पद्धती हो। यदी विधिवत रूपमा दल चलेको छ भने प्रचारप्रसारका लागि समय तोकिनुपर्छ।’
निर्वाचन प्रक्रिया सुरू भयो र प्रचारप्रसारका समय सकियो भने कसैलाई भोट हाल वा नहाल भन्न नमिल्ने उनले बताए।
‘चुनावी प्रक्रिया सुरू भएपछि कसैलाई मत दिनु र नदिनु भनेर बोल्न, लेख्न वा प्रचारप्रसार गरिनु हुन्न। यदी गरियो भने यो लोकतान्त्रिक प्रक्रियाभन्दा फरक हुन्छ,’ उनले भने।
एमाले नेता नरेश खरेलले आफू उम्मेदवार नै नभए पनि भोट नहाल्ने सूचीमा आफ्नो नामसमेत समावेश गरेर बाँडेकोमा आपत्ति जनाएका छन्। उनको नाम खुलातर्फ उम्मेदवारमा राखेर अध्यक्ष ओली पक्षले मतदानस्थलमा बाँडेका थिए।
उनले यसरी मतदान स्थलमा सूची बाँड्नु गलत भएको बताए। ‘म उम्मेदवार नै छैन तैपनि मेरो नाम सूचीमा राखेर बाँडेका रहेछन्। यो प्रवृत्ति गलत छ,’ उनले भने।