एमालेको दसौं महाधिवेशन चलिरहेको चितवनको सौराहामा सोमबार दिउँसो चुनावी माहौल थियो। विभिन्न पदमा बिहान उम्मेदवारी दर्ता गराएकाहरू दिउँसो महाधिवेशन प्रतिनिधिहरूसँग मत मागिरहेका थिए।
अध्यक्षमा केपी शर्मा ओलीविरूद्ध उम्मेदवारी दिएका भीम रावल पनि भोट माग्दै गरेको भेटिए।
रावलले महाधिवेशन प्रतिनिधिसँगै केन्द्रीय नेताहरूसँग पनि भोट मागेको देखिन्थ्यो। पूर्वमन्त्री एवं केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता रहेका अग्नि खरेलसँग रावलले भोट मागेको दृश्य रमाइलो थियो।
भोट माग्दै गरेका रावललाई नेता खगराज अधिकारीले ‘टंक कार्कीसँग भोट माग्नु भयो कि भएन’ भनेर सोधेका थिए।
जवाफमा रावलले ‘उहाँ मेरो अध्यक्ष हो। मलाई भोट दिइहाल्नु हुन्छ नि!’ भन्ने जवाफ दिए।
कार्की अनेरास्ववियूको अध्यक्ष हुँदा रावल उपाध्यक्ष थिए। अहिले कार्कीले सचिवका लागि उम्मेदवारी दिएका छन्। ओलीले पेस गरेको सूचीमा असहमति जनाउँदै कार्की र भीम आचार्यले सचिवमा उम्मदवारी दिएका हुन्। बौद्धिक नेताका रूपमा चिनिने कार्की चीनका लागि पूर्वराजदूत हुन्।
त्यसपछि अधिकारीले अग्नि खरेलसँग भोट माग्नुभयो त भनेर सोधे। रावलले उहाँसँग ‘मेरो विशेष सम्बन्ध छ, मलाई भोट दिइहाल्नुहुन्छ’ भने। रावल र खरेलबीचको त्यो विशेष सम्बन्धबारे भने उनले खुलाएनन्।
सँगै रहेका खरेलले त्यसपछि नवौं महाधिवेशनको एउटा किस्सा सुनाए: एकै ठाउँमा भेला भएका चार जना प्रतिनिधिकोमा गएर मैले भोट मागें। तीमध्ये एक जनाले म तपाईंलाई भोट दिन्नँ भने। मैले किन नदिने भनेर सोधें। उनले तपाईं जेम्स स्कुलको अध्यक्ष हुँदा त्यहाँ मेरो बच्चालाई भर्ना गर्नुपर्ने थियो, तपाईंले भनिदिएको भए हुन्थ्यो तर भन्दिनु भएन भने। मैले सकेको भए भन्दिन्थें, सकिनँ होला भन्ने जवाफ दिएँ। उनले जेसुकै भन्नुस् म तपाईंलाई भोट दिन्नँ भनेपछि मैले ठिकै छ तपाईंले नदिने भोटका लागि म अन्तै मेहनत गर्छु भनें।
खरेलको किस्सा सुनेपछि रावलले कार्कीलाई भने- बुझ्नुभयो तपाईंले पनि खरेलजीले नदिने भोटका लागि अन्तै मेहनत गर्नुपर्ने देखियो।
रमाइलो गरेर उनीहरू छुट्टिए।
अध्यक्षमा ओलीलाई चुनौती दिएका रावलले अहिले प्रतिनिधिसँग भोट मागिरहेका छन्। उनले आफ्नो पक्षमा माहौल राम्रो रहेको सेतोपाटीलाई बताए।
अध्यक्षमा उम्मेदवारी दिएका ओलीले भने अहिलेसम्म भोट मागेको देखिएको छैन। राति ९ बजे सुरू हुने विद्युतीय मतदानअघि भोट माग्न सकिन्छ।
उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसालले पनि भोट माग्न थालेका छैनन्। उनी आफैं भोट माग्न लागेको नदेखिए पनि उनका समर्थकहरूले प्रतिनिधिसँग भोट मागिरहेका छन्।
अब एमालेका यी पदमा हुँदैछ चुनाव
नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व छनौटका लागि आज राति मतदान हुँदैछ। मतदानबाट केन्द्रीय अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न आयोगमा नेतृत्व छानिन लागेको छ।
यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारीको नाम पेस गरेका थिए।
उनले पेस गरेको प्रस्तावमा कतिपय ठाउँमा सर्वसम्मत भएको छ भने कतिपय पदमा चुनाव हुने भएको छ। ओलीको सूचीमा असन्तुष्ट भएकाहरूले सोमबार आफूले चाहेको पदमा उम्मेदवारी दिएका छन्। केहीमा भने ओलीले प्रस्ताव गरेकाहरू सर्वसम्मत चुनिएका छन्।
ओली आफैं चुनावी प्रक्रियाबाट अध्यक्ष बन्नु पर्ने भएको छ। अध्यक्षमा भीम रावलले पनि उम्मेदवारी दर्ता गरेका छन्।
उपाध्यक्षमा पनि चुनाव हुने भएको छ। उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका ६ जनालाई चुनौती दिँदै घनश्याम भुसालले उम्मेदवारी दिएका छन्।
सात जना सचिव पनि मतदानबाट टुंग्याउनु पर्ने भएको छ। ७ जना सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ। भीम आचार्य र टंक कार्कीले ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै उम्मेदवारी दिएका हुन्।
केन्द्रीय सदस्यमा भूगोलअन्तर्गत प्रदेश १ खुलामा ६ जना चाहिनेमा ९ जनाले उम्मेदवारी दिएका छन्। बागमती प्रदेशका ६ जना खुला केन्द्रीय सदस्यका लागि ८ जनाले मनोनयन हालेका छन्।
कर्णाली प्रदेशमा खुलाबाट ६ जनाका लागि सात जनाले उम्मेदवारी दिएका छन्।
सुदूर प्रदेशबाट खुला सदस्य ६ जनाको ठाउँमा ९ जनाको उम्मेदवारी परेको छ। उक्त प्रदेशमा महिलातर्फ तीन जनाको कोटामा ६ जनाले उम्मेदवारी दिएका छन्।
सम्पर्क समन्वय समिति महिलातर्फ १ केन्द्रीय सदस्यका लागि २ जनाले उम्मेदवारी दिएका छन्।
आदिवासी जनजाति खुलातर्फ १७ जना केन्द्रीय सदस्यका लागि १९ जनाले उम्मेदवारी दिएका छन् भने आदिवासी महिला कोटामा ८ केन्द्रीय सदस्यका लागि ९ जनाले उम्मेदवारी दिएका छन्।
मधेसी खुलामा १३ जना केन्द्रीय सदस्यका लागि १५ जनाले उम्मेदवारी दिएका छन्।
दलित खुला कोटामा ८ केन्द्रीय सदस्य छुट्याइएको छ। यो कोटामा ११ जनाले उम्मेदवारी दिएका छन्।
थारू खुलामा ५ जना केन्द्रीय सदस्य बन्न ६ जनाले उम्मेदवारी दिएका छन् भने थारू महिला २ जनाका लागि ३ जनाले मनोनयन दिएका छन्।
मुस्लिम खुलातर्फ ४ जना केन्द्रीय सदस्यका लागि ५ जनाले उम्मेदवारी दिएका छन्।
खुला केन्द्रीय सदस्य ८४ जनाका लागि ८५ जनाले उम्मेदवारी दिएका भने खुला महिला ५३ जनाका लागि ५४ वटा उम्मेदवारी परेको छ।
केही पदमा बाहेक अधिकांशमा चाहिनेभन्दा एक/दुई जनामात्र बढीले उम्मेदवारी दिएकाले केन्द्रीय सदस्यहरूलाई सर्वसम्मत बनाउने ओलीको रणनीति छ। ओलीनिकट स्रोतका अनुसार पदाधिकारीबाहेक अन्य पदमा चुनाव नगर्ने पक्षमा ओली छन्।