नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराई अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति सर्वसम्मतिका लागि पेस गरेको केन्द्रीय कमिटी सदस्यको सूचीमा परेनन्।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विवाद उत्कर्षमा पुगेका बेला ओलीले भट्टराईलाई नेकपा संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका थिए। त्यतिबेला उनले माओवादी केन्द्रबाट आएका देव गुरूङलाई बर्खास्त गरेका थिए।
नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र बनेपछि भट्टराई एमालेका प्रमुख सचेतक बनेका थिए। भट्टराई त्यसपछि ओलीका हरेक कदमको खरो बचाउमा उत्रिएका थिए।
खोटाङबाट दुई पटक सांसद भइसकेका भट्टराईलाई ओलीले यसपालि महाधिवेशनबाट आफ्नो टिममा समेट्छन् भन्ने धेरैको अनुमान थियो।
आइतबार साँझ ओली पेस गरेका ३०१ जना केन्द्रीय सदस्यको सूचीमा भने भट्टराईको नाम छैन।
भट्टराईनिकट नेताहरूले ओलीले उनलाई प्रदेश १ को अध्यक्ष बनाउने आश्वासन दिएका छन्।