केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन्।
चितवनमा जारी एमालेको १० औं महाधिवेशनअन्तर्गत आचार्यले सोमबार बिहान सचिवमा उम्मेदवारी दिएका हुन्। यसअघि अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दर्ता गराइसकेका छन्।
आचार्य एमालेको नवौं महाधिवेशनबाट सचिव बनेका थिए। माधवकुमार नेपाल एमालेमा हुँदा उनको समूहमा रहेका आचार्य पछिल्लो समय विभाजनमा नलागी एमालेमै रहेका थिए।
एमाले एकता कायम राख्ने भन्दै उनलाई अध्यक्ष ओलीले प्रदेश १ को मुख्यमन्त्री बनाएका थिए। दस बुँदे सहमति गरी एमालेमै बसेकामध्ये ओलीले उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र सचिव आचार्यलाई मात्रै पदाधिकारीमा समेटेका थिएनन्।
महाधिवेशनको मुखैमा कोरोना संक्रमण भएका आचार्य अहिले सौराहाको होटलमा आइसोलेसनमा बसिरहेका छन्।