नेकपा एमालेकी केन्द्रीय सदस्य पद्मा अर्यालले पार्टीको सचिवमा डेब्यु गरेकी छन्। २०७१ सालमा पार्टी केन्द्रीय सदस्य भएकी अर्याल पार्टी अध्यक्ष केपी शर्मा ओलीको नजरमा परेकी हुन्।
ओलीले आफूलाई प्राप्त सर्वाधिकार प्रयोग गर्दै १९ जना पदाधिकारीमध्ये अर्याललाई सचिवमा प्रस्ताव गरेका हुन्।
उनीसँगै प्रस्तावित सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट छन्।
स्याङ्जा एमाले अध्यक्ष भइसकेकी अर्याल २०७४ को निर्वाचनमा स्याङ्जा- २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन्। उनले उपप्रधानमन्त्री तथा शिक्षामन्त्री रहेका कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई हराएकी थिइन्।
त्यसअघि उनी पहिलो संविधानसभामा समानुपातिक सभासद् बनेकी थिइन्। ओली नेतृत्वको सरकारमा अर्याल मन्त्री बनेकी थिइन्। सुरूमा स्वास्थ्य राज्यमन्त्री भएकी उनी पछि भूमि र कृषि मन्त्री बनेकी थिइन्।