नवौं महाधिवेशनमा शंकर पोखरेलले उप-महासचिवको निर्वाचन हार्दा अध्यक्ष जितेका केपी शर्मा ओली सबैभन्दा धेरै चिन्तित थिए।
त्यो बेलामा उपमहासचिव हारे पनि ओलीले क्षतिपूर्तिसहित पोखरेललाई १० औं महाधिवेशनमा बढुवा गरेका छन्। नवौं महाधिवेशनमा उपमहासचिव जितेको भए पनि पोखरेलसँग महासचिवभन्दा माथिल्लो अपेक्षा हुने थिएन। त्यस अर्थमा पोखरेलले अघिल्लो महाधिवेशनमा पराजित भएको कुनै घाटा बेहोर्नु परेको छैन।
नवौं महाधिवेशनमा निर्वाचित दुई उपमहासचिवमध्ये सबैभन्दा धेरै मत ल्याएका घनश्याम भुसाललाई ओलीले पूर्ण रूपमा ओझेलमा पार्न खोजेका छन्।
दुई उप-महासचिवमध्ये विष्णु पौडेल ओली प्यानलकै थिए भने भुसाल माधव नेपाल पक्षका थिए। महाधिवेशनमा ओली निर्वाचित हुँदा नेपाल पराजित भए। माधव नेपाल अहिले पार्टीमै छैनन्। पार्टी विभाजनको बेलामा साथ नदिएका भुसाललाई भने ओलीले पार्टीमा स्थान दिन नखोजेको स्पष्ट देखिएको छ।
नेपालको साथ छोडेर एमालेमै रहेका सम्भावना बोकेका सबै नेतालाई ओलीले ठाउँ दिएका छन्। तर भुसाललाई भने ओलीले बेवास्ता गरेका छन्।
भुसाललाई ओलीले कुनै पदमा समेट्दैनन् भनेर यसअघि पटक-पटक ओलीनिकट केही नेताले दाबी गरेका थिए। सधैँ विरोधमात्रै गर्ने भएकाले ओलीको रोजाइमा भुसाल नपर्ने उनीहरूको दाबी थियो। आइतबार ओलीको कदमले ती कुरालाई पुष्टि गरेको छ।
एमालेभित्र भुसाल ओलीका आलोचकका रूपमा चिनिन्छन्। भुसालले ओलीलाई वैचारिक रूपमा चुनौती दिन्छन्। असोजमा भएको विधान महाधिवेशनमा समेत भुसालले फरक राख्न खोजेका थिए, तर ओलीले उनलाई मौका दिएनन्।
‘नीति र सिद्धान्तमा बहस गर्ने व्यक्ति ओलीलाई मन पर्दैन। त्यसैले उहाँले मन नपराउनुभएको हो, ‘भुसालनिकट एक नेताले सेतोपाटीसँग भने, ‘ओलीले घनश्याम कमरेडलाई कति पेल्ने हुन् अझै देख्न बाँकी छ।’
ओलीले आफैंलाई अध्यक्ष राखेर वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल तथा उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरेका छन्।
‘पार्टी अध्यक्षले उप-महासचिवलाई उपेक्षा गरेकै हो। उहाँले घनश्याम कमरेडलाई समेटेर जानुपर्छ,’ ती नेताले भने।
यसैबीच भुसालले उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्। उनले उम्मेदवारी फिर्ता नलिए उपाध्यक्षमा पनि निर्वाचन हुन्छ।
ओलीले उपाध्यक्ष रावललाई पनि पदाधिकारीमा राखेका छैनन्। यद्यपि उनले रावललाई अध्यक्षको उम्मेदवारी फिर्ता लिएर उपाध्यक्षको उम्मेदवार बन्न भनेका थिए। रावलले उम्मेदवारी फिर्ता लिएका छैनन्। अध्यक्षमा पनि ओली र रावलबीच निर्वाचन हुने भएको छ।