नेकपा एमालेको महासचिवमा प्रस्ताव गरिएका शंकर पोखरेलले नवौं महाधिवेशनमा उपमहासचिव हारेका थिए।
नवौं महाधिवेशनमा दुई जना उप-महासचिवको व्यवस्था थियो। दुई उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल निर्वाचित भएका थिए। पोखरेल तेस्रो भएका थिए। तिनै पोखरेल अहिले एक तहमाथि अर्थात महासचिव बन्न सफल भएका छन्।
महासचिवको दौडमा रहेका विष्णु पौडेललाई पछि पार्दै पोखरेलले बाजी मारे। पौडेल नेकपाकालीन अवस्थामासमेत महासचिव थिए। पार्टीभित्र संगठनमा पकड रहेको भनिएका पौडेल उपाध्यक्ष बनेका छन्। बौद्धिक नेताको छवि बनाएका पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले महासचिव बनाएका छन्। पोखरेल जनताको बहुदलीय जनवादको व्याख्याताको रूपमासमेत एमालेमा परिचित छन्।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री रहेका पोखरेल दाङबाट निर्वाचित भएका हुन्। यसअघि २०७० सालमा उनी दाङबाट पाराजित भएका थिए। २०५१ मा पहिलो पटक दाङबाट निर्वाचित पोखरेल २०५६ सालमा पराजित भएका थिए। उनी २०६४ सालमा समानुपातिक तर्फबाट सभासद बनेका थिए। पार्टीमा चरम अल्पमतमा रहेको बेलासमेत पोखरेलले ओलीलाई साथ दिएका थिए। पोखरेल राष्ट्रपति विद्यादेवी भण्डारीका समेत विश्वास पात्र हुन्। पोखरेल महासचिव हुनुको पछाडि राष्ट्रपतिकोसमेत साथ रहेको एमालेका एक नेताले दाबी गरे।
‘निर्वाचन भएको भए परिणाम अर्कै आउनसक्थ्यो। तर मनोनित हुने भएपछि पोखरेलले बाजी मारे,’ ती नेताले सेतोपाटीसँग भने, ‘उहाँलाई पार्टी अध्यक्षको मात्रै होइन राष्ट्रपतिको समेत साथ छ। त्यति भएपछि कसले रोक्नसक्छ?’
यद्यपि पोखरेलका विरूद्ध उम्मेद्वारी पर्यो भने उनी निर्विरोध नहुन पनि सक्छन्। तर ओलीकै प्रस्ताव भएकाले उनले जित्ने लगभग निश्चित जस्तै छ।
उपमहासचिवको लागि प्रस्ताव गरिएका विष्णु रिमाल नवौं महाधिवेशनमा सचिवमै पराजित भएका थिए। त्यतिबेला पाँच जना सचिव हुने व्यवस्था थियो। रिमालले पाँचौं स्थानमा पर्न असफल भएका थिए। अहिले रिमाल अघिल्लो महाधिवेशनमा पराजित भएको पदभन्दा एक तह बढुवा भएका छन्।
केपी शर्मा ओली प्रधानमन्त्री बन्दा सबै कार्यकालमा उनी प्रमुख राजनीतिक सल्लहाकार थिए। २०६४ सालमा समानुपातिक सांसद बनेका उनले कुनै पनि संसदीय निर्वाचन लडेका छैनन्।
उपमहासचिवमा गोकर्ण बिष्टलेसमेत दाबी गरेका थिए। तर नवौं महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएका बिष्टलाई पछि पार्दै ५ जनामा समेत नपरेका रिमाल उपमहासचिव बन्न सफल भए।
उपमहासचिवमा विन्दा पाण्डेले पनि दाबी गरेकी थिइन्। पाण्डेले निर्वाचन भएमा आफू उपमहासचिवको उम्मेदवार बन्ने घोषणा गरेकी थिइन्। तर पाण्डे सचिवमा समेत अट्न सकिनन्।
रिमालले ओलीसँग रहेको पकडकै कारण उपमहासचिव पद हात पारे। उनी राष्ट्रपति भण्डारीसँग समेत निकट छन्। सौराहाको पार्क सफारी रिसोर्टमा बस्ने ओलीको ‘कोर टिम’मा समेत रिमाल अटाएका थिए।
यो पनि हेर्नुहोस्