नेकपा एमाले दसौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले नामावली प्रस्तुत गरेका ३०१ जना केन्द्रीय सदस्यहरू यति बेला मनोनयन दरखास्त फारम भर्न व्यस्त छन्।
निर्वाचन कार्यक्रमअनुसार दरखास्त फारम दर्ताको म्याद भोलि सोमबार बिहान साढे ९ बजेसम्म छ। तर ओलीले अहिले नै फारम भर्नू भनेर बन्दसत्र बैठकमा भनेकाले सबै सदस्य रातारात फारम भर्न तल्लीन भएका हुन्।
निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले यो नामावली समझदारीका लागि घोषणा गरिएको र सबैले विधिवत् रूपमा केन्द्रीय सदस्य चुनिन प्रक्रियामा जानैपर्ने बताएका छन्।
'अध्यक्षज्यूले समझदारीका लागि मात्र नाम दिनुभएको हो। यी सबैले प्रक्रियामा जानैपर्छ। भोलि सोमबार निर्वाचन तालिकाअनुसार उहाँहरूको मनोनयनपत्र दर्ता हुन्छ,' सुब्बाले सेतोपाटीसँग भने, 'खुला वा विभिन्न वर्गमा तोकिएभन्दा बढी सदस्यले मनोनयनपत्र दाखिला गरे निर्वाचन हुनेछ।'
अध्यक्ष ओलीले १ सय १ जना महिलासहित ३०१ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए। उनले क्रमश: खुला, महिला, प्रदेश हुँदै, दलित, जनजाति, मजदुर लगायत विभिन्न वर्गबाट केन्द्रीय सदस्य बन्नेहरूको नाम हलमा पढेर सुनाएका थिए।
उपाध्यक्ष भीम रावलले भने विधि र प्रक्रिया छलेर ल्याइएको नामावली आफूहरूलाई मान्य नभएको बताएका छन्।
सबै तस्बिर: सन्जिब बगाले/सेतोपाटी