नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिन आफूले मनोनयनपत्र भरिसकेको बताएका छन्।
‘मैले अध्यक्ष मण्डल बैठकमा उम्मेदवारीको कुरा हुदाँ यसअघि नै राजनीतिक घोषणा गरेकाले उम्मेदवारी दिन्छु भनेको छु,’ बैठकपछि रावलले भने, ‘विधिवत मनोनयनपत्र पनि भरिसकेको छु। जुन बेला निर्वाचन आयोगले बुझाउने समय दिन्छ, म मेरो मनोनयनपत्र दाखिला गर्छु।‘
एमालेले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल बनाएको थियो जसमा भीम रावल पनि सदस्य थिए। रावलले आफूले उम्मेदवारी दिने भए पनि अन्य व्यक्ति चुनाव लड्ने-नलड्ने थाहा नभएको बताए।
‘उम्मेदवारी समूहगत नदिने पार्टीको निर्णय भएकाले म मेरो उम्मेदवारी दिन्छु,’ रावलले सहमतिको प्रयासबारे सोधिएको जिज्ञासमा भने, ‘मसँग कसैले केही कुरा गरेको छैन।‘
रावलले आज दिनभरको समय खेर गएको टिप्पणी पनि गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले आज दिनभर पार्क सफारी होटलमा विभिन्न नेताहर"सँग छलफल गरेका थिए। तर उनले सर्वसम्मत सूची तयार पार्न सकेकन्।
रावलले दिनभर भएका छलफलमा आएका सूचनाहरूबारे कुनै पुष्टि गरेनन्। ‘वरिष्ठ उपाध्यक्ष खारेज गर्ने सहमतिबारे मलाई जानकरी छैन,’ रावलले भने, ‘मैले अध्यक्षमा दरखास्त भरेर निर्वाचन आयोगले तोकेको समयमा दाखिला गर्छु।'
रावलले मतदान गोप्य र लोकतान्त्रिक हुनुपर्ने पनि बताएका छन्। ‘ध्वनी मत, हाते मत यस्ता अलोकतान्त्रिक मत स्वीकार्य छैन। गोप्य मतदान हुनुपर्छ’, रावलले भने, ‘कुनै दबाब नभएर लोकतान्त्रिक निर्वाचन हुनुपर्छ।‘