केपी ओलीले बन्दसत्रमा पेस गर्ने भनिएको १९ जना पदाधिकारी, ३०१ जना केन्द्रीय सदस्य र विभागीय प्रमुखहरूको सूचीमा सर्वसम्मत हुन नसकेको अवस्थामा निर्वाचन प्रकिया सुरू गर्न कार्यक्रम सार्वजनिक गरिएको छ।
ओलीले पेस गरेको सूचीमा कसैलाई चित्त नबुझे उम्मेदवारी दिन पाउनेछन्।
दसौं राष्ट्रिय महाधिवेशन निर्वाचन आयोगले प्रकाशन गरेको कार्यक्रमअनुसार अहिले राति साढे ११ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ।
त्यसपछि कुनै पदमा चुनाव लड्न इच्छुक उम्मेदवार निम्ति दरखास्त फारम वितरण गर्न साढे ११ देखि १२:२० सम्मको समय निर्धारण गरिएको छ।
राति साढे १२ बजेसम्म उम्मेदवारले आफ्नो दरखास्त फारम दर्ता गर्नुपर्नेछ। राति १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। सवा १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी गर्न पाइनेछ भने त्यसपछि १:२५ सम्म उक्त उजुरीमाथि छानबिन र निर्णय हुनेछ।
आयोगले इच्छुक उम्मेदवारमाथि पर्ने उजुरीमा छानबिन र निर्णय गरिसकेपछि आजै राति साढे १ बजेसम्म उम्मेदवारहरूको नामावली पुन: प्रकाशन गरिनेछ।
कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा राति २ बजेसम्मको समय दिइएको छ। त्यसपछि २:१० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।
मतदान भने सोमबार हुनेछ। मतदानको समय सोमबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ।