चितवनमा जारी नेकपा एमाले दसौं महाधिवेशनको दोस्रो दिनको बन्दसत्र निर्धारित समयभन्दा ठ्याक्कै १२ घन्टापछि सुरू भएको छ। यस क्रममा अहिले एमाले अध्यक्ष मण्डलको बैठक बस्दैछ।
बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेपछि बाहिर नाराबाजी भएको छ। खासगरी ओली पक्षका समर्थकले ओलीको पक्ष र भीम रावलको विपक्षमा नाराबाजी गरेका छन्।
नाराबाजी गर्नेले ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’, ‘नेकपा एमाले जिन्दावाद’, ‘भीम रावल मुर्दावाद’ भन्दै नाराबाजी गरेका छन्।
त्यस्तै, 'वीर सहिद लालसलाम', 'पार्टी फुटाउने मतियार होसियार', 'केपी बा वी लव यू, पार्टी फुटाउने मतियार होसियार', 'केपी ओली जिन्दावाद' लगायत नारा लगाएका छन्।
सर्वसम्मति गर्नुपर्नेमा जोड दिँदै एमाले कार्यकर्ताले बन्दसत्र स्थल बाहिर केही बेर नाराबाजी गरेका हुन्।
ओलीले आफूले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची अध्यक्ष मण्डलको बैठकमा पेस गरेका छन्। त्यहाँ छलफल गरेपछि त्यसलाई बन्दसत्रमा राखिनेछ।
अध्यक्ष मण्डलमा केपी शर्मा ओलीसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा सदस्य छन्।
पदाधिकारी र केन्द्रीय सदस्यहरूको टुंगो लगाउन अध्यक्ष ओलीले आइतबार बिहान १० बजे सुरू हुने भनिएको बन्दसत्र सारेका थिए। पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने अधिकार उनलाई नै दिइएको छ।