निर्धारित समयभन्दा ठ्याक्कै १२ घन्टापछि नेकपा एमाले दसौं महाधिवेशनको दोस्रो दिनको बन्दसत्र सुरू भएको छ। यस क्रममा अहिले अध्यक्ष मण्डलको बैठक बस्दैछ।
ओलीले आफूले तयार पारेको सर्वसम्मतिको प्रस्ताव सबभन्दा पहिला अध्यक्ष मण्डलमा पेस गरेका छन्। अध्यक्ष मण्डलमा छलफल गरेपछि त्यसलाई बन्दसत्रमा प्रस्तुत गरिनेछ।
अध्यक्ष मण्डलमा केपी शर्मा ओलीसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा सदस्य छन्।
पदाधिकारी र केन्द्रीय सदस्यहरूको टुंगो लगाउन अध्यक्ष ओलीले आइतबार बिहान १० बजे सुरू हुने भनिएको बन्दसत्र सारेका थिए। पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने अधिकार उनलाई नै दिइएको छ।
बाह्र घन्टाको प्रयासपछि आफूले छानेको पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समितिको सूची उनले सर्वसम्मतिका लागि पेस गर्ने पार्टी प्रवक्ता प्रदीप ज्ञावलीले जानकारी दिएका छन्।
सर्वसम्मत रूपमा पदाधिकारीसहित केन्द्रीय समिति चयन हुन नसके बन्दसत्रबाट निर्वाचनको कार्यक्रम अघि बढ्ने पनि उनले जानकारी दिए। 'अध्यक्ष ओलीले बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको सूची प्रस्ताव गर्नुहुनेछ। प्रस्ताव पारित नभए भोलि चुनाव हुनेछ,' प्रवक्ता ज्ञावलीले सेतोपाटीसँग भने।
स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षको पदमा सुवास नेम्वाङ र ईश्वर पोखरेलका लागि दुईवटा पद राखेर भए पनि सहमति जुटाउने प्रयासमा ओली छन्। तर उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावलबारे छलफल गरेका छैनन्।