नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू बन्दसत्र स्थलमा प्रवेश गरेका छन्। उनको प्रवेशसँगै आइतबार बिहान १० बजे बस्ने भनिएको बन्दसत्रको दोस्रो दिनको कार्यक्रम करिब १२ घन्टापछि अब केही बेरमै सुरू हुनेछ।
पदाधिकारी र केन्द्रीय सदस्यहरूको टुंगो लगाउन अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र घन्टा पछि सारेका थिए। पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने अधिकार उनलाई नै दिइएको थियो।
बाह्र घन्टाको प्रयासपछि आफूले छानेको पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समितिको सूची उनले अब हुने बन्दसत्रमा सर्वसम्मतिका लागि पेस गर्ने पार्टी प्रवक्ता प्रदीप ज्ञावलीले जानकारी दिएका छन्।
सर्वसम्मत रूपमा पदाधिकारीसहित केन्द्रीय समिति चयन हुन नसके बन्दसत्रबाट निर्वाचनको कार्यक्रम अघि बढ्ने पनि उनले जानकारी दिए। 'अध्यक्ष ओलीले बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको सूची प्रस्ताव गर्नुहुनेछ। प्रस्ताव पारित नभए भोलि चुनाव हुनेछ,' प्रवक्ता ज्ञावलीले सेतोपाटीसँग भने।
आइतबार दिनभरि अध्यक्ष ओली पदाधिकारी र सदस्यको टुंगो लगाउन केही नेताहरूसँग छलफलमा जुटेका थिए।
स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षको पदमा सुवास नेम्वाङ र ईश्वर पोखरेलका लागि दुईवटा पद राखेर भए पनि सहमति जुटाउने प्रयासमा ओली छन्। तर उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावलबारे छलफल गरेका छैनन्।