चितवनमा जारी नेकपा एमालेको महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पद कसलाई दिने भन्ने विषय पेचिलो बन्दै गएको छ।
उपाध्यक्ष भीम रावलको असहमतिबीच आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रबाट पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार लिए। त्यति बेलासम्म उनलाई लागेको थियो, रावललाई पेलेर पनि जान्छु। तर ओलीलाई अहिले आफ्नै ‘कोर टिम’ मा रहेका नेताको व्यवस्थापन गर्न कठिन भएको छ।
टिम व्यवस्थापनमा कठिनाइ भएकै कारण ओलीले बन्दसत्रलाई १० घन्टा पर सारेका छन्। बिहान १० बजे बोलाइएको बन्दसत्र राति ८ बजेसम्मको लागि स्थगित भएको छ। अहिले भर्खरै नेताहरू बन्दसत्रका लागि कार्यक्रमस्थलतर्फ आउने क्रम सुरू भएको छ। तर कहिले सुरू हो निश्चित छैन।
अहिले ओलीलाई सबभन्दा चुनौती सुवासचन्द्र नेम्वाङको व्यवस्थापन भएको छ। महासचिव ईश्वर पोखरेलले रोजेको वरिष्ठ उपाध्यक्षमा नेम्वाङले पनि दाबी गरेपछि ओलीलाई अप्ठ्यारो परेको हो।
नेम्वाङ आफ्नो दाबीबाट टसमस भएका छैनन्। ओलीसँग समेत उनले आफू वरिष्ठ उपाध्यक्ष छाड्न तयार नभएको स्पष्ट पारेका छन्।
नेम्वाङलाई बिहानैदेखि उनका शुभचिन्तकहरूले वरिष्ठ उपाध्यक्ष नछाड्न दवाब दिएका छन्। नेम्वाङले पनि ओलीबाहेक अरूलाई आफूले नेता नमान्ने स्पष्ट पारेको एक नेताले बताए।
‘म तपाईंबाहेक अरूलाई नेता मान्दिन। मलाई यो राजनीतिक व्यक्ति होइन भनेर समेत भन्न खोजिएको छ,’ नेम्वाङको भनाई उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘म २०२८ सालमै स्ववियु सभापति भएको हो। त्यसयता निरन्तर पार्टीमा सक्रिय छु। राजनीतिको हरेक आन्दोलनमा सहभागी भएको छु।’
उनी महेन्द्ररत्न क्याम्पस इलामका स्ववियु सभापति भएका थिए। अहिले नेकपा एकिकृत समाजवादीमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालका उनी समकालीन हुन्।
नेम्वाङले ओलीसमक्ष आफूले पञ्चायत कालमा नेपाल बार एसोसियसनको महासचिव निर्वाचन जितेको र कुनै निर्वाचन नहारेको दलिल पेस गरेका छन्। उनले आफू निर्वाचन लड्न पनि तयार रहेको स्पष्ट पारेका छन्।
नेम्वाङलाई पार्टी सचिव पृथ्वीसुब्वा गुरूङ, केन्द्रीय सदस्यहरू वसन्त नेम्वाङ, शेरधन राई, पार्वत गुरूङ लगायतले साथ दिएका छन्। महासचिव विष्णु पौडेलको पनि नेम्वाङलाई साथ रहेको स्रोतको दाबी छ।
जनजाति पृष्ठभूमिका महाधिवेशन प्रतिनिधिले आफ्नो समुदायको नेतालाई पहिलोपटक पार्टीको दोस्रो उच्च पदमा पुग्ने अवसरबाट वञ्चिन गर्न नहुने तर्क गरेका छन्। उनीहरूले सहमतिमा उक्त पद दिन नसके चुनाव गराउनुपर्ने माग अघि सारेका छन्।
नेम्वाङले अडान कायमै राखेपछि वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने या त्यसमा चुनाव गराउने भन्ने विकल्पमा छलफल भइरहेको छ। दुई वरिष्ठ उपाध्यक्ष राख्न कतिपय नेताहरूले सुझाएका छन्।
नेम्वाङले पार्टीमा सहमति गर्नुपर्नेमा सहमति दिए पनि वरिष्ठ उपाध्यक्षको दाबी छाडेका छैनन्।
‘उहाँले सहमतिको बाधक बन्दिन भन्नुभएको छ। तर उहाँलाई पनि साथ लिन सक्नुपर्छ,’ नेम्वाङनिकट एक नेताले भने, ‘उहाँलाई वरिष्ठ उपाध्यक्ष मानेर जान नसक्नुपर्ने कुनै कारण छैन।’
नेम्वाङलाई विष्णु पौडेलको टिमका रूपमा समेत हेरिएको छ। ओलीपछि को भन्नेमा सुवास नेम्वाङ र विष्णु पौडेल एकातिर छन् भने ईश्वर पोखरेल र शंकर पोखरेल अर्कोतिर छन्।
टिम मिलाउँदा पौडेलले महासचिव पाएमा नेम्वाङले वरिष्ठ उपाध्यक्षबाट पछि हट्न सक्ने आकलन पनि गरिएको छ।
यद्धपि यसबारे नेम्वाङले कुनै धारणा सार्वजनिक गरेका छैनन्। पौडेल पनि यसबारे केही बेलेका छैनन्। तर महाधिवेशन प्रतिनिधिहरूले यी दुई समूहको हिसाबकिताब गर्न थालेका छन्।
विद्यार्थी जीवनबाटै राजनीति थालेका नेम्वाङ २०४८ सालपछि दुई कार्यकाल राष्ट्रिय सभा सदस्य भएका थिए। २०५६ देखि लगातार संसदीय निर्वाचन जित्दै आएका उनी पटकपटक व्यवस्थापिका संसदको सभामुख भएका छन्। त्यस्तै पहिलो संविधानसभा र नयाँ संविधान जारी गर्ने दोस्रो संविधानसभाका अध्यक्ष पनि हुन्।