कालीकोटकी मीना नेपाली आइतबार दिउँसो चितवनको सौराहाको होटलमा छोरालाई चिया र बिस्कुट खुवाइरहेकी थिइन्। मिनाका श्रीमान् खेमराज नेपाली पनि उनीसँगै चितवन आएका छन्।
कालीकोटबाट दलित महिला कोटाबाट एमाले महाधिवेशन प्रतिनिधि चुनिएर सौराहा आउँदा उनको अनुहारमा खुसीसँगै बूढी सासुलाई घर व्यवहारको जिम्मा छोड्नु पर्दाको चिन्ता पनि थियो।
साढे सात वर्षकी छोरीलाई सासुसँग छोडेर आएकी मीनाले दुई वर्षको छोरालाई भने सँगै बोकेर ल्याएकी छन्। प्रतिनिधि नरहेका खेमराज भने तिनै छोरालाई भुलाउन चितवन आएका थिए। मीना महाधिवेशनको बन्दसत्रमा सहभागी हुँदा खेमराज भने छोरालाई लिएर बाहिर बस्छन्।
शनिबारदेखि उनको समय सौराहाको सेभेन स्टार होटलमा जारी एमाले महाधिवेशनको बन्दसत्र बाहिर र भित्र गर्दै बित्ने गरेको छ। स्नातकोत्तरसम्मको अध्ययन गरेका खेमराज सुर्खेत बसेर लोकसेवाको तयारी गरिरहेका छन्। मीना भने कालीकोटकै लिंगासैनी माध्यमिक विद्यालयमा निजी स्रोतमा पढाउँछिन्।
चार वर्ष सोही विद्यालयमा निजी स्रोतमै पढाएकी मीनाले एक वर्ष सुर्खेतमा बसेर निजी बोर्डिङ स्कुलमा पढाइन्। बोडिङ स्कुल पढाएर बुझेको तलबले सहरको बसाइ सहज नभएपछि गत वर्षदेखि फेरि लिंगासैनी माविमै निजी स्रोतमै पढाउन थालेकी हुन्।
महाधिवेशन प्रतिनिधि चयन भएपछि विद्यालयमा विदा लिएर आएकी मीनाले नेताहरूबीच सहमति जुट्न ढिलाइ हुँदा आफूजस्तै टाढाबाट आएका प्रतिनिधिलाई समस्या भएको बताइन्।
‘हिजोदेखि यहीँ बाहिर-भित्र गर्दै बितेको छ, नेताहरूले सहमतिका लागि छलफल गरिरहेका छौं भन्नुहुन्छ तर कहिले टुंगिने हो थाहा छैन,’ उनले भनिन्।
शनिबार राति ९ बजेसम्म बन्दसत्र हलमै बसेकी मीना आइतबार पनि आफू बसेको जंगल रिसोर्टबाट बिहान १० बजे नै बन्दसत्र स्थलमा आइपुगेकी थिइन्।
‘नेताहरूले १० बजे नै बन्दसत्र सुरू हुने बताउनुभएको थियो, आइतबार ५ बजेसम्म पनि बस्न सकेको छैन, अहिले बल्ल खाना खाएर सात बजे भित्र बन्दसत्र हलमा छिर्न निर्देशन आएको छ,’ उनले भनिन्।
घरदेखि तीन घन्टाको पैदल यात्रापछि बस चढ्ने स्थानमा पुगेकी मिना घरबाट ७ गते हिँडेर ९ गतेमात्रै चितवन आइपुगेकी थिइन्। उनी चितवन पुग्दा श्रीमान खेमराज पनि चितवन आइपुगेका थिए। काम विशेषले काठमाडौं गएका खेमराजले श्रीमती प्रतिनिधि चुनिएपछि छोरालाई भुलाउन चितवन आएको बताए।
‘अब यतैबाट म सुर्खेत जान्छु, उनी भने घर जान्छिन्,’ खेमराजले भने।
मीनालाई विद्यालयमा पढाउनेसँगै पार्टीको काम गर्न परिवारबाट कुनै रोकटोक छैन।
१० वर्षअघि विवाह हुँदा मीनालाई राजनीतिप्रति त्यति रूची थिएन। खेमराजले नै राजनीतिले अरू अवसरको पनि ढोका खोलिदिन्छ भनेर प्रेरणा दिएपछि पाँच वर्षअघि मात्रै एमालेको सदस्यता लिएको उनले बताइन्।
एमाले महाधिवेशनका कारण पहिलो पटक चितवन आएका उनीहरू पार्टीमा सहमति जुट्यो भने चितवन नघुमी भोलि बिहानै घर फर्किने योजनामा रहेको बताए।
‘चितवन पहिलो पटक आए पनि घुम्न फुर्सद छैन, आज सकियो भने भोलि बिहानै फर्किने हो तर अहिलेसम्म सहमतिको प्रयासमात्र भइरहेको छ भन्ने सुनिन्छ,’ मीनाले भनिन्।