नरूनू आमा घर छोडी हिँड्ने छोरीलाई सम्झेर
आश गरी बस्नू कुनै दिन छोरी फर्किन्छे भनेर
सातआठ कक्षामा पढ्दै कम्युनिस्ट पार्टीमा आकर्षित भइसकेका लीला कट्टेल र विष्णु खड्का यो गीत गाउँदै भूमिगत भएका थिए।
उनीहरूले धेरैजसो गाउने अर्को गीत हो,
वर्गीय समाजमा वर्गीय प्रेम मात्र न्यानो र चोखो हुन्छ
तामाङ भाषा बोल्नेले तामाङ भाषा बोल्नेलाई ठग्छ
नेवार भाषा बोल्नेले नेवार भाषा बोल्नेलाई ठग्छ
बाहुनको छोराले बाहुनकै छोरालाई ठग्छ
एउटै जाति भनी गरिने प्रेम व्यवहारमा झुटो हुन्छ
मानिस छुत अछुत हुन्छ म भन्दै भन्दिन
जातिपाति छुट्याउने रितलाई म मान्दिन
एमालेको दसौं महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका लीला र विष्णु आफ्ना पुराना याद ताजा गर्दै नयाँ राजनीतिबारे गफ गर्दै छन्।
शनिबार रातको १२ बजे उनीहरू महाधिवेशनको बन्दसत्र चलिरहेको होटलबाहिर भेटिएका थिए। त्यो बेला भूमिगत कालमा गाउँदै हिँडेका गीतहरू उनीहरूको मनमुटुमा अझै छन्।
पञ्चायतको जगजगी थियो, यस्ता गीतले जनतालाई कम्युनिस्ट पार्टीमा गोलबद्ध गराउँथे।
वर्गीय र जातीय विभेदको खाडल अहिले पनि उस्तै छ, त्यो देखेर लीला र विष्णु विरक्त हुन्छन्। त्यही पनि समाज उहिलेजस्तो छैन। समयसँगै परिवर्तनको यात्रा जारी छ।
उनीहरूलाई एउटा कुरामा भने गर्व लाग्दो रहेछ- अहिले विभेदविरूद्ध निस्किने आवाजको जग आफूहरूले गरेको आन्दोलनले स्थापित गरेको हो।
उनीहरू पार्टीमा अनुशासनको खडेरी देख्छन् अचेल। नेता-कार्यकर्ताको मूल्यांकन पनि चित्तबुझ्दो नरहेको उनीहरूले बताए।
महिलाको प्रतिनिधित्व कसरी हुन्छ भन्नेमा उनीहरूको मुख्य चासो छ। आफूजस्ता धेरै महिला पार्टीमा काम गरेर संगठन विस्तार गरेर आएको लीलाले बताइन्।
पार्टीले महिलाको योगदान फर्केर हेर्न ढिलो भइसकेको उनीहरूको मत छ।
झापाको शनिश्चरे माविबाट लीला र तोपगाछी रत्न माविबाट विष्णु अनेरास्ववियूमा लागेका थिए। राजनीतिक यात्रामै उनीहरूको भेट भएको थियो।
उनीहरू दुवैलाई तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले सुरू गरेको झापा आन्दोलनको प्रभाव सात-आठ कक्षामा पढ्दाखेरि नै परिसकेको रहेछ।
कम्युनिस्ट पार्टीकै एउटा ग्रुपले झापा आन्दोलन सुरू गर्दा उनीहरू सानै थिए। उनीहरू हुर्किँदै जाँदा आन्दोलनको राप र तापले गाउँघर आन्दोलित थियो।
त्यो आन्दोलनको ताप स्कुल स्कुलका विद्यार्थीहरूमा सर्दै गयो। आन्दोलनले १४/१५ वर्षीय लीलालाई तानिरह्यो। २०३६ सालमा विद्यार्थी संगठन अनेरास्ववियूमा आबद्ध भइन्। आफूजस्ता साथीहरूलाई संगठनमा ल्याउन सुरू गरिन्।
शनिश्चरे माविबाट २०३७ सालमा एसएलसी पास गरेर उनी दमक क्याम्पसमा आइए पढ्न आइन्। यो २०३८ सालको कुरा हो। क्याम्पसमा विद्यार्थी संगठनको कार्यक्रम थियो। खुल्ला रूपमा कम्युनिस्ट राजनीति गर्न नपाइने त्यति बेला क्याम्पसमा कार्यक्रम चलिरहँदा प्रहरीले बिथोलिदियो।
कार्यक्रमका लागि गएका धेरैजसो विद्यार्थी नेताहरू भागेर जोगिए। शिव नेपाल भन्ने साथीलाई भने प्रहरीले नियन्त्रणमा लिएर कुट्न थाल्यो। आफ्नै साथी कुटिएपछि लीलाले प्रहरीमाथि इँटा हानिन्। शिवलाई भगाइन्।
प्रहरीमाथि जाइलागेको भन्दै उनी र शिवलाई क्याम्पसले चार महिनाका लागि निष्कासन गर्यो।
क्याम्पसबाट निष्कासन भए पनि उनको राजनीतिक गतिविधि किन रोकिन्थ्यो? अर्धभूमिगत भएर गाउँगाउँमा अभियान लिएर जान थाले। क्याम्पसले गरेको चार महिनाको निष्कासन अवधि सकिएपछि फेरि क्याम्पस पढ्न थाले पनि लीलालाई प्रहरीले निगरानी गरिरहन्थ्यो।
विद्यार्थी संगठनसँगै अखिल नेपाल महिला संघमा पनि उनी २०३८ सालमै आबद्ध भएर काम गर्न थालेकी थिइन्। २०४० सालमा त अनेमसंघको जिल्ला सदस्य भइन्।
त्यसै वर्ष अनेमसंघले दमकमा मार्च ८ को कार्यक्रम गरेको थियो। उक्त कार्यक्रममा लीला र विष्णु सँगै थिए। उनीहरूसँगै पवित्रा निरौला, पदम बुढाथोकी, इन्द्र बुढाथोकी र दिपक कार्कीलाई प्रहरीले पक्राउ गर्यो।
पक्राउ परेपछि प्रहरीले उनीहरूलाई चन्द्रगढी कारागार लग्यो। २१ दिन राखेर विष्णुलाई प्रहरीले छोडिदियो। अरू सबै जेल चलान भए।
रिहा भए पनि जिल्ला अदालतमा मुद्दा चलिरहेको थियो। जिल्ला अदालतमा चलेको मुद्दाको तारिख बुझ्न महिनैपिच्छे अदालत जानुपर्थ्यो। अघिपछि उनी पार्टीका गतिविधिमा सरिक हुन्थिन्।
यता लीलाको दैनिकी भने खराब थियो। कारागारमा फौजदारी अपराध गरेका र उनीहरू सबैलाई एउटै कोठामा राखिएको थियो।
'साँघुरो कोठाभित्र विभिन्न अपराध गरेका महिलाहरूलाई एकै ठाउँ राख्दा बस्न-सुत्न सकिने अवस्था हुँदैनथ्यो। सानो कोठाभित्रै दिसापिसाब पनि गर्नुपर्थ्यो। पिसाब त बगेर जान्थ्यो, दिसा लाग्यो भने त माटोको भाँडोमा राखेर सुत्थ्यौं, भोलिपल्ट मात्र बाहिर लगेर फाल्थ्यौं,' लीलाले भनिन्।
जेल प्रशासन उनलाई माफी मागे छोड्दिन्छौं भनेर अनेकखाले दवाब दिन्थ्यो। उनी भने पञ्चायत सरकारसँग माफी माग्न राजी थिइनन्।
'बुवाआमा कारागारमा भेट्न जाँदा पनि माफी मागे कारागारबाट निकाल्दिन्छौं भनेर भन्न लगाउँथे, तर गल्ती नगरेको विषयमा कसैसँग किन माफी माग्ने भन्दै अड्डी लिएँ,' लीलाले भनिन्।
बुवा रामप्रसाद कट्टेल र आमा कौशिल्या कट्टेलका चार छोरीमध्ये लीला कान्छी छोरी थिइन्। छोरीले घर छाडेर भूमिगत राजनीतिमा लाग्दा बुवाआमाको चित्त बुझेको थिएन।
'बुवाआमालाई छोरी राजनीतिमा लागेर बिग्रिन्छे भन्ने ठूलो चिन्ता थियो, यसरी नहिँड भन्नुहुन्थ्यो,' उनले भनिन्, 'तर गरिब, पिछडिएका, पढ्न पनि नपाउनेहरूको आवाज त आफैं बन्ने हो भन्ने चेतनाले उनलाई घर बस्न दिन्नथ्यो। घरमा बसेर सबै अन्याय, अत्याचारहरू टुलुटुलु हेर्न मेरो मन राजी थिएन।'
पीर गरिरहने बुवाआमालाई उनी र उनकी दिदीले सम्झाइबुझाइ गर्थे। पछि उनीहरूले बुझ्दै गए।
कारागारबाट रिहाइ भएपछि लीला पूरै भूमिगत भइन्। गाउँगाउँमा संगठन विस्तार गर्न हिँडिन्। लीलाले २०४१ देखि २०४६ सालसम्म भूमिगत र अर्धभूमिगत भएर झापाको शिवसताक्षी र गोलधाप क्षेत्रमा संगठन विस्तारमा गरेकी थिइन्। त्यतिखेर संगठन गर्नु अहिलेजस्तो सजिलो थिएन। एकठाउँबाट अर्को ठाउँ राति मात्र उनीहरू हिँड्थे। दिउँसो हिँड्दा कसैले देख्ला भन्ने डर हुन्थ्यो।
'हामी आफूहरू जोगिनेभन्दा पनि झोला कसरी जोगाउने भन्ने हुन्थ्यो,' लीलाले भनिन्, 'पार्टीका कागजपत्र, किताब, पर्चाहरू सबै झोलामै हुन्थे, ती नै हाम्रा सर्वस्व थिए।'
पार्टीको काममा हिँड्दा हिँड्दै लीलाको आफ्ना कमरेड दीपक कार्कीसँग प्रेम पर्यो।
०४० सालमा दिपक कार्की उनीसँगै जेल परेका थिए। २०४३ मा रिहा भएर गौरादहको जनपक्षीय तर्फबाट उपप्रधानपञ्चमा चुनाव लडे र जिते। संगठन विस्तार गर्न हिँड्दा हिँड्दै उनीहरूबीच प्रेम पनि झाङ्गिइसकेको थियो।
त्यति बेला त बिहे गर्न पनि पार्टीको सहमति चाहिन्थ्यो। २०४४ सालमा सहमति पाएपछि उनीहरूले बिहे गरे।
विवाहअघि बुवाआमालाई सम्झाएर हिँड्न बल्ल सजिलो हुँदै थियो। बिहेपछि त पारिवारिक जिम्मेवारी पूरा गरेर हिँड्नुपर्यो। त्यही पनि राजनीतिले उनलाई छोइसकेको थियो। एउटा सजिलो भने, अब पतिपत्नी दुवै मिलेर राजनीतिक गतिविधिमा सामेल हुन्थे।
२०४६ साल प्रजातन्त्र दिवसको दिन उनी कहिलै विर्सिन्नन्। बिर्तामोडको मुक्ति चोकमा कम्युनिस्ट पार्टीको झन्डा गाड्ने कार्यक्रम थियो। उक्त कामको नेतृत्व दिपक र लीलाले नै लिएका थिए।
उनी सात महिनाकी गर्भवती थिइन्। झन्डा गाड्ने क्रममा प्रहरीले लखेट्यो, गर्भवती अवस्थामा प्रहरीले लखेटेपछि भाग्नुपरेको थियो।
छोरी जन्मिएपछि उनलाई काखमा लिएर पनि लीला संगठन निर्माणमा जुटिरहिन्। गाउँगाउँ पुग्थिन्।
गरिबमाथिको शोषण उस्तै थियो। गरिब र धनीबीचको भेदभाव र जातपातको भेदभावविरूद्ध आवाज उठाउन कहिल्यै पछि पर्ने छैन भन्ने कसम जो खाएकी थिइन्।
गरिबका दिन फिरेको र गरिबको व्यवस्था आएको दिन हेर्ने सपनाले उनलाई घरबस्न दिन्नथ्यो। त्यस्तै सोच र चेतनाले कम्युनिस्ट पार्टी रोजेकी लीलालाई अहिले पनि जातपात र वर्गीय भेदभाव नहटेको देख्दा दिक्क लाग्छ।
'जे सोचेर परिवर्तनको आन्दोलनमा लागेका थियौं, त्यो अझै पूरा भएको छैन। समय कहाँदेखि कहाँ पुगिसक्यो, मान्छेको चेतना उत्तिकै ढिलो छ,' उनले भनिन्।
आन्दोलन र संघर्षकै कारण धेरै मान्छेको मनमा भेदभाव नराम्रो कुरा हो भन्ने परेकोमा उनले सन्तोष गर्ने ठाउँ भेट्टाउँछिन्।
४० वर्षे राजनीतिक यात्राले लीलालाई नेकपा एमाले प्रदेश -१ को सदस्य र अनेमसंघको केन्द्रीय सदस्यमा पुर्याएको छ।
किशोरी हुँदै राजनीतिमा होमिएकी लीलालाई अर्को पनि सन्तोष गर्ने ठाउँ छ, त्यो हो उनकी छोरीहरू। तीनवटै छोरीहरू अहिले विद्यार्थी राजनितीमा सक्रिय छन्।
उता विष्णु खड्का भने २०४० सालमा दमक क्याम्पसमा खरिदारको जागिरे थिइन्। विष्णुका दाजु मित्र खड्का विराटनगर क्याम्पसमा अनेरास्ववियूका नेता थिए। दाजुहरू राजनीतिको पहिलो पाठशाला भएको बताउने विष्णु उनीहरूकै प्रेरणाले कम्युनिस्ट राजनीतिमा आबद्ध भएको बताउँछिन्।
क्याम्पसमा जागिर गर्दा पनि उनी पार्टीको संगठन विस्तारमा लागिरहन्थिन्। २०४० सालमा अनेमसंघको संगठन विस्तार क्रममा उनी दमकबाट पक्राउ परिन्। त्यही रात उनलाई जागिरबाट बर्खास्त गरियो। पक्राउ परेको १८ दिनमै रिहा भएपछि उनी पूर्णकालीन भूमिगत भएर पार्टीको काममा लागिन्।
छोरी मान्छे भूमिगत भएर कम्युनिस्ट पार्टीमा लाग्दा विष्णुका बुवाआमा देउमाया र वीरबहादुर खड्का पनि सन्तुष्ट थिएनन्। 'छोरीमान्छे घर छाडेर राजनीतिमा लागेर हिँड्दा त्यतिबेलाका बुवाआमा खुसी हुने त अवस्था नै थिएन, तर बुवाआमालाई सम्झाएर हिँड्यौं, कहिले जबरजस्ती हिँड्यौं,' उनले भनिन्।
२०४० सालदेखि अर्धभूमिगत र भूमिगत भएर कम्युनिस्ट पार्टीमा काम गरेकी विष्णु २०४३ देखि भने पार्टीले ताप्लेजुङ खटाइदिएको थियो।
झापामा रहँदा उनको जिम्मेवारी चकचकेतर्फको क्षेत्रमा तोकिएको थियो। भूमिगत रहेकै बखत श्रीमान विश्वनाथ बराल धरमपुरबाट पक्राउ परेपछि भने उनलाई ताप्लेजुङ पठाइएको थियो।
'एकातर्फ श्रीमान कारागारमा हुनुहुन्छ, अर्कोतर्फ पार्टीले ताप्लेजुङ खटाइदियो। पार्टीको जिम्मेवारी निर्वाह गर्न जानैपर्थ्यो। म तीन वर्ष ताप्लेजुङ गएर संगठन विस्तारको काममा लागे,' विष्णु भन्छिन्।
सँगै पार्टी र संगठन विस्तारमा लागेका विष्णु र बरालको विवाह पार्टीले नै २०४३ सालमा गरिदिएको हो। 'त्यति बेला पार्टीले नै विवाह गरिदिन्थ्यो, पार्टीको निर्णय हाम्रो लागि सर्वोपरी हुन्थ्यो,' उनी भन्छिन्।
उनीसँगै मेनका काफ्ले र पवित्रा निरौलालाई पनि पार्टीले ताप्लेजुङ पठाएको थियो। २०४६ सालमा बहुदल नआउँदासम्म उनीहरू तीनै जनाले ताप्लेजुङमा काम गरे।
'हामी संगठन विस्तारमै गाउँमा डुल्ने गर्थ्यौं, पानी खाने निहुँमा भए पनि घरमा पसेर उनीहरूको वर्ग विश्लेषण गरी पार्टीमा संगठित गर्थ्यौं,' विष्णु भन्छिन्।
पाँचथर जन्मिएर झापामा हुर्किएकी विष्णु ताप्लेजुङमा पुगेर पार्टी र संगठन निर्माणमा लाग्दा धेरै दु:ख भोगेको बताउँछिन्।
'खाने, सुत्ने, बस्ने कुनै टुंगो हुँदैनथ्यो, निम्न वर्गको घरमा गएर बस्थ्यौं। खानेकुरा पनि कमै हुन्थ्यो। घरमा लुकेर बस्दा पनि दिउँसो बाहिर निस्किन पाइँदैनथ्यो। कसैले देख्यो भने असामाजिक तत्व र वामे आएर बसेका छन् भनेर सुराकी लगाइदिन्थे,' उनी भन्छिन्।
एकातर्फ आफै असुरक्षित भइन्छ कि भन्ने डर, अर्कातर्फ नचिनेको घरमा जाँदा महिलाहरूले शंकाको दृष्टिले हेर्ने गर्थे। उनीहरू गीत गाएर भए पनि सम्झाउँथे, बुझाउँथे र पछि साथी बनाएर छाड्थे।
'नचिनेको गाउँमा नचिनेका मानिसहरूका बीचमा पुरूष सहकर्मीसँग हिडेर गाउँगाउँमा संगठन विस्तार गर्नु सजिलो थिएन, कतै आफै असुरक्षित भइन्छ कि भनेर मन दह्रो बनाएर बस्थ्यौं, राति त गहिरो गरी निदाउँदैनथ्यौं,' उनी भन्छिन्।
बहुदल आएपछि झापा फर्किएकी उनी त्यसपछि पनि पार्टीकै काममा खटिइरहिन्। उनी पार्टीको अनेमसंघको इलाका कमिटी, जिल्ला र प्रदेश हुँदै अहिले अनेमसंघ केन्द्रीय सदस्य छिन्।
लीला र विष्णु चितवनमा जारी एमालेको दसौं महाधिवेशनमा पनि प्रतिनिधि बनेर आएका छन्। पार्टीको कडा अनुशासन र निर्देशन पालना गर्दै राजनीतिमा होमिएका उनीहरू पछिल्लो समय राजनीतिमा लाग्नेहरूले अनुशासन र निर्देशन पालना गर्न नसकेको गुनासो गर्छन्।
'पहिले पार्टीभित्र कडा अनुशासन थियो, हामी पनि अनुशासनमा कडा थियौं,' विष्णुले भनिन्।
पार्टीभित्र विसंगति बढ्दै गएकोमा उनलाई चिन्ता लागिरहन्छ। 'अहिले कतिपय कुरा चित्त बुझ्दैन, पार्टीमा पहिलेजस्तो मूल्यांकनका आधारहरू पनि बलिया छैनन्। कमजोर हुँदै गएका छन्। अगाडि जो देखिन्छ उसैले भूमिका पाउने गरेको देख्दा चित्त दुख्छ,' उनले भनिन्।
अहिले महाधिवेशनबाट पार्टीका सबै तहमा ३३ प्रतिशत महिला देख्न उनीहरूलाई मन छ। हिजो महिलाहरूले गरेको आन्दोलनले संविधान लेखियो। हरेक निकाय र दलमा संविधानले र कानुनले ३३ प्रतिशत महिला सुनिश्चित गर्यो। त्यो संविधान आफ्नै पार्टीमा लागू भएको हेर्न मन नहुने कुरै भएन।
पार्टी नेतृत्वलाई उनीहरूको सुझाव छ- हामीले लडेर ल्याएको संविधान हाम्रो पार्टीमा लागू होस्।