नेकपा (एमाले) को चितवनमा जारी दसौं महाधिवेशनको दोस्रो दिनको बन्दसत्र आज साँझ सात नबजी सुरू नहुने भएको छ।
सौराहास्थित होटल सेभेन स्टारमा आइतबार दिनभरि बसेका महाधिवेशन प्रतिनिधिहरू अहिले खाना खान भनेर बाहिर निस्किएका छन्।
नेताहरूले आफूहरूलाई ७ बजेसम्म खाना खाएर आइसक्नु भनेकाले खाना खान जान लागेको उनीहरूले बताएका छन्।
आज बिहान १० बजेदेखि बन्दसत्र सुरू हुने भनिएको थियो। अध्यक्ष केपी शर्मा ओली पदाधिकारी र केन्द्रीय सदस्यको नाम टुंग्याउन छलफलमा जुटेपछि बन्दसत्र सुरू हुन सकेको थिएन।
शनिबार भएको बन्दसत्रमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्य छान्ने सर्वाधिकार ओलीलाई दिइएको थियो।
ओलीले नेताहरू पृथ्वीसुब्बा गुरूङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु पौडेललाई सहमतिको खाका बनाउन दिएका थिए। चार नेताले उक्त खाका ओलीलाई बुझाइसकेको बताएका छन्।
साँझ सात बजेपछि सुरू हुने बन्दसत्रमा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची पेस गर्ने अनुमान गरिएको छ।