नेकपा एमाले दसौं महाधिवेशनको बन्दसत्र चलिरहेको होटल सेभेन स्टार परिसरको एउटा स्टलमा चित्रकला प्रदर्शनी भइरहेको छ। पार्टीको भ्रातृ संगठन नेपाल प्रगतिशील ललितकला संघले देशभरका चित्रकारका करिब सयवटा चित्र प्रदर्शनीमा राखेको छ।
तीमध्ये केही चित्रले धेरैको ध्यान तानेको छ। यहाँ नेपालको संस्कृति झल्किने चित्रदेखि जीवनशैली, प्राकृतिक सम्पदा, गौतमबुद्ध, मदन भण्डारीका चित्रहरू भित्तामा झुन्डिएका छन्।
बुटवलका मन गोल्डीले बनाएको गौतमबुद्धको जन्मदेखि अन्त्यसम्मको वर्णन भएको चित्रको ठिकमुनि एक नग्न युवतीको चित्र पनि छ। यो पूर्वी चितवनकी २१ वर्षीया सविना रिजालले बनाएकी हुन्।
चित्रकला प्रदर्शनीस्थल पुग्नेहरू संस्कृति, जीवनशैली, प्राकृतिक सम्पदाका चित्र हेर्दै मदन भण्डारीको चित्रमा पुगेर एकछिन अडिन्छन्। थोरै अगाडि रहेको गौतमबुद्धको जीवन उतारिएको चित्रमा उनीहरूको ध्यान जान्छ। त्यसपछि मुनि टाँसिएकी नग्न युवतीले उनीहरूको ध्यान खिच्छिन्।
चित्रकारितामा जम्दै गरेकी सविना प्रदर्शनीस्थलको एक कुनामा उभिएर आफूले बनाएको ‘वाटर कलर’ चित्रमा दर्शकको प्रतिक्रिया हेरिराखेकी छन्।
‘यहाँ प्रायः बौद्धिक मान्छे नै आउने भएर होला नराम्रो प्रतिक्रिया पाएकी छैन। धेरैले नौलो मानेर हेर्ने, फोटो खिच्ने गर्नुभएको छ,’ उनले भनिन्।
नेपाली समाजमा नग्न तस्बिरप्रतिको सोच सकरात्मक बनिसकेको छैन। त्यसमाथि तस्बिर तयार पार्ने महिलालाई समाजले कस्तो प्रश्न गर्ला? सविना भन्छिन्, ‘मलाई यस्ता तस्बिर बनाउन मेरो आफ्नै परिवारले रोक्न खोज्छ। ममी, बाबा किन यस्ता तस्बिर बनाउँछौ, बरू भगवानको, घर, डाँडा, हिमाल, जनावरको चित्र कोर न भन्नुहुन्छ। तर मेरो मनले मान्दैन।’
यो चित्र ग्रेड आर्टिस्टको चित्रको कपी हो। सविनासँग महिलासँग सम्बन्धित यस्ता चित्रका चाङ छन्। फुर्सत पाएपछि उनी हातमा कुची लिएर क्यानभासमा पुगिहाल्छिन्।
‘प्रकृतिलाई आत्मसात गरेर प्रकृतिमै आफूलाई समाहित गरिरहेका युवतीको शरीर र अनुहारमा कतै कुनै लाज, संकोच या डर नभई स्वच्छन्द भएर आनन्दित मुद्रामा रहेको भाव चित्रमा प्रस्तुत गरेकी हुँ,’ उनले भनिन्, ‘यस्ता चित्र जति बनायो उति बनाइराखुँ लाग्छ।’
उनले महिलाहरूको विभिन्न रूप र भावको विषयमा अनुसन्धान गर्दै त्यसलाई चित्रमा उतार्ने गरेको बताइन्।
यति ठूलो जमातको उपस्थिति रहने ठाउँमा नग्न तस्बिर झुन्ड्याउन संकोच पो लाग्यो कि भन्ने जिज्ञासामा सविना भन्छिन्, ‘चित्रकी युवतीलाई जसले जुन मानसिकता र अवस्थामा हेर्छ, त्यहीअनुसारको धारणा बनाउँछ। संकुचित सोच राख्दा त झन् नकरात्मकता बढ्छ। तर यसलाई विश्वमय प्रकृति र कलाका रूपमा ग्रहण गर्ने हो भने दृष्टिकोण र धारणा पृथक हुनपुग्छ।’
महिलाको विषयमा बुझ्दै जाँदा उनले नग्नतालाई अश्लीलताका रूपमा बुझ्न छाडेको बताइन्।
‘परिधानले छोपिदिएपछि त प्राकृतिक सुन्दरता विलुप्त हुन्छन् नि,’ उनी भन्छिन्, ‘मलाई परिवार हुँदै समाजको सोचभन्दा माथि उठ्नु छ। विस्तारै सबै त्यो अवस्थामा पुग्नैपर्छ।’
उनले कुनै समय नग्न चित्र देख्दा जिब्रो टोक्ने समाजले अहिले चित्रको अर्थ खोज्न थालेको बताइन्।
‘यहाँ आएका हजारौं दर्शकले मेरा चित्र हेरेर यसको भाव खोज्ने प्रयास गर्नुभएको पाएँ, मेरो कामलाई नराम्रो दृष्टिले हेरेको पाइनँ,’ उनले भनिन्, ‘यसले मलाई थप ऊर्जा मिलेको छ। काममा तल्लिन हुन हौसला मिलेको छ।’
सहिद स्मृति क्याम्पसमा व्यवस्थापन स्नातक तहमा अध्ययनरत सविना एक वर्षदेखि ललितकला क्याम्पसमा चित्रकलामा पनि स्नातक पढ्दैछिन्। डेढ वर्षदेखि उनी गुरूसँग चित्रकला सिक्दै आएकी छिन्।
सविनाले बनाएका चित्र ३ देखि २१ हजार रूपैयाँसम्ममा बिक्री हुने गरेका छन्। मान्छेको पोट्रेट चित्र धेरै बिक्री भएका छन्। व्यावसायिक चित्र कोर्न थालेको केही वर्ष भए पनि उनले प्रदर्शनीमा राख्ने अवसर यसअघि पाएकी थिइनन्।
‘यसपालि देशभरका मान्छे उपस्थित भएको कार्यक्रममा, राष्ट्रिय कलाकारले बनाएका चित्र झुन्डिएको ठाउँमा मेरो पनि चित्र झुन्डियो, असाध्यै खुसी लागेको छ,’ उनले भनिन्, ‘यो मेरो लागि जीवनको एउटा महत्वपूर्ण क्षण हो।’
प्रगतिशील ललितकला संघका अध्यक्ष लालकाजी लामाले संघले नयाँ कलाकारलाई पनि अवसर दिने गरेको बताए।
‘महाधिवेशनकै अवसरमा चित्रकला प्रतियोगिता गरेर नयाँ कलाकारलाई प्रोत्साहन गरेका थियौं,’ उनले भने, ‘प्रदर्शनीमा पनि उहाँहरूलाई समावेश गरेका छौं। उहाँहरूका चित्र हेरेर दिग्गज व्यक्तिहरूले पनि राम्रो प्रतिक्रिया दिनुभएको छ।’
उक्त प्रदर्शनीमा लामाले बनाएको चित्र डेढ लाख रूपैयाँमा बिक्रीका लागि राखिएको छ।
सबै तस्बिर: राजेश घिमिरे/सेतोपाटी