नेकपा एमालेकी नेता विन्दा पाण्डेले सर्वसम्मतिमा नेतृत्व चयन नभई चुनाव भए आफूले उपमहासचिवमा उम्मेदवारी दिने बताएकी छन्।
सेतोपाटीसँग कुरा गर्दै पाण्डेले आफू उपमहासचिवका लागि योग्य रहेको बताइन्।
‘सर्वसम्मति भयो भने त मलाई के बनाउने भन्ने नेतृत्वले निर्णय गर्ला तर चुनाव हुने परिस्थिति आए म उपमहासचिवमा उम्मेदवारी दिन्छु,’ पाण्डेले भने।
प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण बिष्टले उपमहासचिव दाबी गरेका छन्। तीनै जना एमालेको नवौं महाधिवेनबाट सचिवमा चुनिएका थिए।
नवौं महाधिवेशनबाट एमालेमा पाँच सचिव चुनिएका थिए। जसमध्ये योगेश भट्टराईले सचिवमा दोहोरिने चाहना व्यक्त गरेका छन् भने अर्का सचिव भीम आचार्यले खुलेर कुनै पनि पदमा दाबी गरेका छैनन्।
उपमहासचिवमा विष्णु रिमालको पनि दाबी छ। तर नवौं महाधिवेशनमा सचिव पराजित भएका रिमाललाई उपमहासचिव बनाउने मुडमा अध्यक्ष केपी शर्मा ओली छैनन्। रिमाललाई ओलीले सचिवमा समेट्ने सम्भावना छ।