नेकपा एमालेको दसौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने विषय पेचिलो बन्दै गएको छ।
अध्यक्ष केपी शर्मा ओलीले आफूसहित सबै पदाधिकारी सर्वसम्मत बनाउन चाहे पनि आफ्नै समूह र प्रतिष्पर्धी अर्को समूहका नेताहरूलाई मिलाउन नसक्दा सर्वसम्मतिको प्रयाससँगै एमाले महाधिवेशनको अवधि लम्बिने देखिएको छ।
अध्यक्ष ओलीनिकट नेताहरूका अनुसार सर्वसम्मतिको प्रयास अहिले अध्यक्षमा दाबेदारी गरेका भीम रावलमा अड्किएको छ।
उपाध्यक्ष रावलको उम्मेदवारीले ओलीले अरूलाई सर्वसम्मत बनाउने भन्दा पनि आफू सर्वसम्मत बन्न चुनौती थपिएको छ।
अध्यक्ष ओली नै सर्वसम्मत हुने/नहुने टुंगो नभएकाले उनको समूहका पदाधिकारी आंकाक्षी नेताहरूले आफ्नो दाबी छोडेका छैनन्।
अध्यक्षमा दाबी गरेका रावललाई मिलाउन अध्यक्ष ओलीले छलफल गर्न खोजे पनि उनीहरूबीच चितवनमा कुराकानी हुन सकेको छैन।
यसअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले रावलको उम्मेदवारी आफूलाई चुनौती नभई सम्मान भएको टिप्पणी गरेका थिए।
शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकमा सहमतिका लागि सजिलो होस् भनेर पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप्ने प्रस्ताव गरेका ओलीले शनिबार बिहान पनि सर्वसम्मतिका लागि नेताहरूलाई भेटेका थिए।
उनको समूहमै रहेका ईश्वर पोखरेल र सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् भने विष्णु पौडेल र शंकर पोखरेल महासचिवका दाबेदार हुन्।
ओलीले आफ्नो समूहका नेतालाई मिलाउनु पहिला आफू सर्वसम्मत भएको देखाउनु छ। तर त्यसका लागि रावल सहमत छैनन्।
शुक्रबार राति केन्द्रीय कमिटीले पदाधिकारी बढाउने निर्णय गरेपछि पनि उनले यसले सहमतिको वातावरण नबनाउने बताएका थिए।
शनिबार बन्दसत्रभित्र प्रवेश गर्नुअघि संवाददाताहरूसँग कुरा गर्दै रावलले सर्वसम्मतिको प्रयास भइरहेको आफूले थाहा नपाएको र अध्यक्षमा आफ्नो उम्मेदवारी कायम रहेको बताएका थिए। उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई भोट मागेको पनि देखिएको थियो।
रावलनिकट नेताका अनुसार उनी अध्यक्षबाट पछाडि फर्किने मुडमा छैनन्। ओलीले आफू सर्वसम्मत हुन पदाधिकारीमा पनि सर्वसम्मत बनाउन खोजेको उनको बुझाइ छ।
'पदाधिकारी संख्या बढाएरमात्रै सहमति हुँदैन', रावलनिकट रहेका एक नेताले सेतोपाटीसँग भने, 'आफू सर्वसम्मत हुन उहाँले पदाधिकारी थप्नु भएको हो। एक जनाको सनकको भरमा ७६ जना केन्द्रीय कमिटी सदस्य थप्न मिल्छ भन्ने उहाँहरूको प्रश्न छ।'
सर्वसम्मत बनाउँदा ओलीले रावललाई के पद अफर गर्छन् भन्ने पनि टुंगो छैन। यसअघि नै उपाध्यक्ष भइसकेका रावल फेरि उपाध्यक्षमै बस्न राजी हुने सम्भावना नभएको उनीनिकट एक नेताले बताए।
‘उहाँ अध्यक्षमा उठिसक्नुभयो, अब चुनाव लडेर जिते अध्यक्ष हुनुहुन्छ नत्र अरूमा सहमति गर्नुहुन्न,’ ती नेताले भने।
ओलीले रावललाई वरिष्ठ उपाध्यक्षको अफर गरे रावल मान्न पनि सक्छन्। तर यो अफर रावललाई ओली गर्न सक्दैनन्। किनभने अहिले बरिष्ठ उपाध्यक्षमा ओलीले आफ्नै मान्छेलाई मिलाउन सकेका छैनन्।
ईश्वर पोखरेल र सुवास नेम्वाङ दुबै जनाले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन्। ओलीले नेम्वाङलाई पार्टीले अवसर पाउँदा तपाईंलाई राष्ट्रपति बनाउँछु भनेर वरिष्ठ उपाध्यक्षको दाबी छोड्न गरेको आग्रह पनि नेम्वाङले नकारेका छन्। अर्कातिर आफ्ना विश्वासपात्रहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेलमाथि हुने गरी रावललाई बरिष्ठ उपाध्यक्ष अफर गर्न ओलीले सक्दैनन्।
ओलीनिकट स्रोतका अनुसार उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसाललाई उक्त पद दिन उनी तयार छन्।
वरिष्ठ अध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई बनाउने सोचमा ओली पुगेको स्रोतको दाबी छ।
तर आफ्ना समूहका नेताहरूलाई ‘तपाईंहरू यो-यो पदमा बस्नुस्’ भन्नुअघि ओली आफू सर्वसम्मत हुनु पर्नेछ। रावल उनलाई सर्वसम्मत हुन दिन अहिलेसम्म तयार देखिएका छैनन्।