नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावलले दसौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेकोबारे आफूलाई थाहा नभएको बताएका छन्।
शनिबार दिउँसो सौराहामा सुरू भएको बन्दसत्रमा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले अध्यक्षमा आफ्नो उम्मेदवारी कायम रहेको बताएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षमा सर्वसम्मत हुन रावलले चुनौती दिएका छन्। आफू र अरू पदाधिकारी पनि सर्वसम्मत बनाउन ओली लागिपरेका छन्।
‘मलाई त सर्वसम्मत बनाउन प्रयास भएको थाहा छैन। अध्यक्षमा मेरो उम्मेदवारी कायम छ,’ रावलले भने।
रावलले बन्दसत्रमा सहभागी भएका प्रतिनिधिहरूसँग अध्यक्षमा भोट पनि मागेका छन्।
यसअघि सर्वसम्मतिमा नेतृत्व चयन गर्न सजिलो होस् भनेर ओलीले पदाधिकारी र केन्द्रीय सदस्य थप्ने प्रस्ताव गरेका थिए।
केन्द्रीय कमिटीले ओलीको प्रस्ताव पारित गरे पनि सर्वसम्मतिमा नेतृत्व छान्न भने चुनौती देखिएको छ।