नेकपा एमालेको दसौं महाधिवेशन शुक्रबारबाट चितवनमा सुरू भएको छ। महाधिवेशनमा आज बन्दसत्र र मनोनयन दर्ताको कार्यक्रम छ। बिहान ८ बजेका लागि बन्दसत्रको समय तोकिए पनि दिउँसो १ बजेपछि मात्रै बन्दसत्र सुरू भएको छ।
उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्षतालाई चुनौती दिएको छ। शुक्रबार राति बसेको एमालेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्य थप्दै सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्ने कुरामा जोड दिएको छ। आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि विभिन्न नेताहरूसँग छलफल गरेका थिए।
अन्तिम समयमा एमाले स्थायी कमिटी सदस्य किरण गुरूङलाई ४ प्रश्न सोधेका छौं।
आज मनोनयनको दर्ता गर्ने दिन पनि हो, तपाईंले कुन पदका लागि उमेवारी दिदै हुनुहन्छ?
अहिले मेरो तयारी उपाध्यक्षमा हो। मेरो आकांक्षा र दाबी यसमा छ। यसभन्दा अगाडि नवौं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिएको थिए। त्यो बेला सफल हुन सकेन।
त्यसलाई आधार मान्दा मेरो दाबी उपाध्यक्षमै हुनेछ। तर अब यहाँ आन्तरिक सहमति गरेर नेतृत्व निर्माण गर्ने भएको हुँदा पदधिकारीमा तलमाथि हुन सक्ने पनि देख्छु। यदि सहमति हुने हो भने सहमतिका आधारमा मैले जे जिम्मेवारी पाउँछु त्योअनुसार अगाडि बढ्ने कुरामा मैले नेतृत्व पंक्तिलाई भनेको छु। त्यो नहुने अवस्थामा चुनाव हुन्छ भने त्यस्तो अवस्थामा कुनै खालको सहमति भएन भने उपाध्यक्षमा दिन्छु। एक खालको सहमति भएर चुनाव भयो भने पनि म पदाधिकारीको दाबेदार हो।
सर्वसम्मतिको प्रयास भइरहेको छ, त्यो सम्भावना कति हो?
हिजोको सभाले एउटा सन्देश दिएको छ। सर्वसम्मत गर मिलाएर जानुपर्छ भनेको छ। झगडा गरेर जाँदा कार्यकर्ता निराश हुन्छन्।
त्यसैले नेताहरूलाई यो दबाब छ। केही पद बढाउन सकियो भने सहमति हुनसक्छ। हामीले हिजो केन्द्रीय सदस्य र पदाधिकारी बढाएको र पोलिटब्युरो राखेको हो। यो अहिलेको आवश्यकता हो भनेर यस्तो गरेको हो।
सर्वसम्मतिका लागि पार्टी अध्यक्षले सबैसँग छलफल गरिरहनुभएको हो?
हिजो केन्द्रीय कमिटीमा सर्वसम्मति गर्नुपर्छ भन्ने माहौल देखियो। त्यतिमात्रै होइन कि अध्यक्षले घोषणा गर्दा हुन्छ भन्ने आशयका धारणा समेत आएका थिए। तपाईंले सन्तुलित ढंगले मिलाए नेतृत्व घोषणा गर्दा पनि हुन्छ भन्ने खालको धारणा आएको थियो। त्यो त केन्द्रीय कमिटीको कुरा हो। केन्द्रीय कमिटीभन्दा ठूलो महाधिवशेनको बन्दसत्र हो। आकांक्षी धेरै छन्। तर पार्टी विभाजन हुन हुँदैन भन्ने पनि छ।
हिजोको उद्घाटन सभाले पार्टीलाई बलियो बनाउन सहमतिका साथ अघि बढ्नु पर्छ भन्ने सन्देश दिएको छ। हामीले नेतृत्व चयन गर्दा सहमतिका आधारमा गर्छौं। मतदान हुन्छ भन्ने मलाई लाग्दैन।