नेकपा एमालेको उपमहासचिव पदमा तीन जना दाबेदार देखिएका छन्।
शुक्रबार अबेर चितवनको सौराहामा बसेको एमाले केन्द्रीय कमिटी बैठकले उपमहासचिवको संख्या १ बाट बढाएर ३ पुर्याएको थियो।
केन्द्रीय समितिको उक्त निर्णय दसौं महाधिवेशनको बन्दसत्रबाट पारित भए एमालेमा ३ जना उपमहासचिव हुनेछन्।
प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण बिष्टले उपमहासचिव दाबी गरेका हुन्। तीनै जना एमालेको नवौं महाधिवेनबाट सचिवमा चुनिएका थिए।
नवौं महाधिवेशनबाट एमालेमा पाँच सचिव चुनिएका थिए। जसमध्ये योगेश भट्टराईले सचिवमा दोहोरिने चाहना व्यक्त गरेका छन् भने अर्का सचिव भीम आचार्यले खुलेर कुनै पनि पदमा दाबी गरेका छैनन्।
उपमहासचिवमा विष्णु रिमालको पनि दाबी छ। तर नवौं महाधिवेशनमा सचिव पराजित भएका रिमाललाई उपमहासचिव बनाउने मुडमा अध्यक्ष केपी शर्मा ओली छैनन्। रिमाललाई ओलीले सचिवमा समेट्ने सम्भावना छ।
एमाले केन्द्रीय सदस्य विन्दा पाण्डेले पनि चुनाव हुने परिस्थिति आए आफूले उपमहासचिवमा उम्मेदवारी दिने बताएकी छन्।
‘सहमति भए मलाई कुन पदमा राख्ने भन्ने नेतृत्वको कुरा भयो तर चुनाव हुने परिस्थिति आए म उपमहासचिवकी उम्मेदवार बन्छु,’ पाण्डेले भनिन्।
त्यसो त सहमतिका लागि विष्णु पौडेललाई महासचिव बनाएर शंकर पोखरेललाई उपमहासचिवमै राख्नुपर्ने मतसमेत आइरहेको छ। शंकर पोखरेल नवौं महाधिवेशनमा उपहासचिव पदमा पराजित भएका थिए।
तर पोखरेलले महासचिव पदमा दाबी छाडेका छैनन्। पोखरेल महासचिव बनेको अवस्थामा विष्णु पौडेल उपाध्यक्ष बन्ने लगभग निश्चित छ।
एमालेको गएराति बसेको केन्द्रीय समिति बैठकले २ उपाध्यक्ष थपेर ७ पुर्याउने र २ उपमहासचिव पद थप गरेर ३ पुर्याउने निर्णय गरेको थियो।
यो सँगै एमालेमा पदाधिकारी संख्या १९ पुगेको छ। त्यस्तै केन्द्रीय सदस्यको संख्या २२५ बाट बढाएर ३०१ पुर्याउने निर्णय गरेको थियो। त्यस्तै ९९ सय सदस्यीय पोलिटब्युरो बनाउने निर्णय गरेको थियो। आकांक्षी व्यवस्थापन गर्न अध्यक्ष ओलीले पदाधिकारी बढाउन प्रस्ताव गरेका थिए। आज बिहानैबाटै ओलीले सर्वसम्मतिमा नेतृत्व चयनका लागि नेताहरूसँग कुराकानी अघि बढाएका छन्।
एमालेको दसौं महाधिवेशनको बन्दसत्र सौराहामा सुरू भएको छ। बन्दसत्र समाप्त भएपछि निर्वाचन कार्यक्रम सुरू हुनेछ।