नेकपा एमालेको दसौं महाधिवेशनको बन्द सत्र सुरू भएको छ।
बिहान ८ बजेदेखि बन्द सत्र सुरू गर्ने कार्यतालिका भए पनि गएराति अबेरसम्म एमालेको केन्द्रीय समिति बैठक बसेका कारण सत्र ढिलो गरी सुरू भएको हो। प्रतिनिधिहरू बन्द सत्रको लागि लाइन लागेर बसेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली सौराहास्थित बन्द सत्र हुने हलमा पुगेका छन्। बन्द सत्रमा विभिन्न मुलुकबाट आएका दलका प्रतिनिधिले सम्बोधन गर्नेछन्।
त्यस्तै, केन्द्रीय समितिले गरेको निर्णय पनि अनुमोदन गर्नेछ।
गएराति १ बजे सकिएको बैठकले २ उपाध्यक्ष र २ उपमहासचिव पद थप गरेको थियो। पदाधिकारी संख्या बढाउने निर्णय गरेको थियो।
आकांक्षी व्यवस्थापन गर्न अध्यक्ष ओलीले पदाधिकारी बढाउन प्रस्ताव गरेका थिए। आज बिहानैबाटै ओलीले सर्वसम्मतिमा नेतृत्व चयनका लागि नेताहरूसँग कुराकानी अघि बढाएका छन्।
तर ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावलसँग भने कुराकानी गरेका छैनन्। रावलले पदाधिकारी बढाए पनि सहमतिको सम्भावना कम रहेको रावलले प्रतिक्रिया दिएका थिए।
भीम रावलसँग निकट रहेका एमाले सांसद झपट रावलले पनि अध्यक्ष ओली र उपाध्यक्ष भीम रावलबीच कुराकानी नभएको बताए।
बन्द सत्र समाप्त भएपछि निर्वाचन कार्यक्रम सुरू हुनेछ।