दावा दोर्जे लामालाई चार प्रश्न
नेकपा एमालेले केन्द्रीय सदस्यको संख्या बढाएर ३०१ पुर्याएको छ। यसले आकांक्षीहरूलाई थप हौसला मिलेको छ। केन्द्रीय सदस्य पदका आकांक्षीहरू महाधिवेशन प्रतिनिधिलाई भेटेर भोट माग्नमा व्यस्त छन्।
अन्तिम समयमा बागमती प्रदेशका पूर्वकृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई हामीले चार प्रश्न सोधेका छौं।
केन्द्रीय सदस्यमा तपाईंको दाबी हो?
अहिले चलिरहेको नेकपा एमालेको महाधिवेशन एकाताको महाधिवेशन हो। अराजकतावाद र अवसरवादको विरूद्धमा सुदृढ र एकताबद्ध पार्टी निर्माण गर्नका लागि पार्टीको नेतृत्व लागिपरेको छ। यसका लागि पर्टी भित्र सहमतिको खाँचो पर्छ। यसपटक केपी शर्मा ओली नेतृत्वको केन्द्रीय समितिमा बसेर काम गर्ने मेरो इच्छा छ।
निर्वाचन भयो भने लड्ने तयारीमा हुनुहुन्छ?
सकेसम्म सहमति नै होस् भनेर हामीले नेतृत्वलाई दबाब दिइरहेका छौं। सहमति भए पनि मेरो सम्भावना आदिवासी, जनजातिको क्लस्टरबाट केन्द्रीय सदस्यमा छ। चुनाव भयो भने पनि म उम्मेद्वार बन्छु।
तपाईंलाई केन्द्रीय सदस्य बनाउनुपर्ने कारण के-के हुन्?
म २०४३ सालमा जनपक्षीय उम्मेद्वार बनेर प्रधानपञ्च भएर काम गरें। पछि जिल्ला विकास समितिको सदस्य, सुकुमबासी आयोगको अध्यक्ष हुँदै प्रदेश सभा सदस्य र मन्त्रीसम्म भएर काम गरें। केन्द्रीय सदस्य बन्नका लागि मेरा सबै मापदण्ड पूरा भएका छन्। त्यसैले दसौं महाधिवेशनमा मैले यो अवसर पाउँछु भन्ने लागेको छ।
तपाईं केन्द्रीय सदस्य हुँदा पार्टीले के पाउँछ?
मैले आजसम्म पार्टीले दिएका सबै जिम्मेवारी पुरा गरेको छु। अहिलेको अवस्थामा पार्टी अध्यक्ष ओलीको नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको नारालाई जनताका माझमा लैजाने, जनताको बहुदलीय जनवादको कार्यक्रमलाई जनताका बीचमा पुर्याउने काममा मबाट एउटा इँटा थप्ने काम हुनेछ। पार्टीलाई थप सशक्त बनाउन भूमिका खेल्नेछु।