नेकपा एमालेको दसौं महाधिवेशन शुक्रबारबाट चितवनमा सुरू भएको छ। महाधिवेशनमा आज बन्दसत्र र मनोनयन दर्ताको कार्यक्रम छ। बिहान ८ बजेका लागि बन्दसत्रको समय तोकिए पनि अहिलेसम्म बन्दसत्र सुरू हुन सकेको छैन।
उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्षतालाई चुनौती दिएको छ। शुक्रबार राति बसेको एमालेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्य थप्दै सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्ने कुरामा जोड दिएको छ। अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि विभिन्न नेताहरूसँग छलफल गरिरहेका छन्।
अन्तिम समयमा एमाले सचिव गोकर्ण बिष्टलाई हामीले ६ प्रश्न सोधेका छौं।
केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाएपछि सर्वसम्मतिको सम्भावना बढेको हो?
केन्द्रीय कमिटीमा रहेका पुराना कमरेडहरू र महाधिवेशनपछि कमिटीमा ल्याउनुपर्ने केही नयाँ कमरेडहरू सबैलाई समेट्ने गरी ३०१ सदस्यीय कन्द्रीय कमिटी रहनेगरी विधान संशोधनको प्रस्ताव पारित गरिएको छ। यसको एउटा सन्देश भनेको आजको आवश्यकता, वास्तविकतामा आधारित भएर सहमतिमा कमिटी निर्माण गर्नुपर्छ। नेतृत्व चयन समझदारीमा गर्नुपर्छ जसले पार्टीलाई एकतावद्ध गर्न सहयोग पुगोस्। त्यसकारण सहमतिको सम्भावना बढी छ।
पदाधिकारीमा थप गरिएको संख्याभन्दा आकांक्षी धेरै छन्। यसले त सहमति होलाजस्तो देखिँदैन नि?
विशाल पार्टीमा आकांक्षी धेरै हुनु स्वभाविकै हो। तर पनि पार्टीको आवश्यकता र अहिलेको चुनौतीपूर्ण घडीलाई मध्यनजर गर्दै सहमतिको आधारमा निष्कर्षमा पुग्ने सन्दर्भमा समस्या होलाजस्तो लाग्दैन। म आशावादी छु कि सहमतिका साथ पार्टी अध्यक्षका साथै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने सम्बन्धमा हामीले सफलता पाउँछौं।
सहमतिको प्रयास गर्नका लागि नै बन्दसत्र ढिलो भएको हो?
बन्दसत्र त यसका प्रक्रिया र प्राविधिक कारणहरूले गर्दा ढिलो भएको हुनसक्छ। तर हामी प्रतिनिधि, सम्पूर्ण पार्टी पंक्तिको चाहना भनेको यसपटक प्रतिष्पर्धा, निर्वाचनको नाममा पार्टीभित्र अस्वस्थता पैदा गर्नु हुँदैन, सहमतिकै आधारमा नेतृत्व चयन गर्नुपर्दछ, त्यसरी नै नेकपा एमालेको भविष्य सुदृढ गर्न सकिन्छ भन्ने हो। हामी त्यसैतिर लाग्नुपर्छ।
पदाधिकारीका आकांक्षीहरूका बीचमा पनि आन्तरिक छलफल त गर्नुपर्ने होला?
बन्दसत्रले केही विधि तय गर्छ। यद्यपी आकांक्षी कमरेडहरूले एक आपसमा छलफल पनि गर्नुभएको होला। पार्टी अध्यक्षसँग पनि भेट गर्नुभएको छ। तर जेसुकै हिसाबले भए पनि हामी संवादबाट सहमतिमा पुग्नुपर्दछ। आजको नेकपा एमालेको तागत समझदारी, सहमतिमै वृद्धि हुन्छ। यसकारण पनि हामीले कार्यकर्ताको मनोविज्ञानलाई बुझेर योबाहेक बाहिर जान हुँदैन भनेर लागेका छौं।
हिजोको बैठकले पार्टी अध्यक्षलाई सहमतिको खाका तयार पार्ने अधिकारी दिएको हो र?
होइन। अहिले बन्दसत्र सुरू भएपछि पनि सहमतिको आधारमा अघि बढ्ने समय छ। यसभन्दा दायाँबायाँ भयौं भने फेरि पनि अनावश्यक द्वन्द्व, विवादहरू निस्कन सक्छन्।
यो पटक नेकपा एमालेलाई विभिन्न पक्षबाट घेराबन्दी भइरहेको छ। यससँग जुध्नका लागि, चुनौतीलाई सामना गर्नका लागि कार्यकर्ताको भावनालाई सम्बोधन गर्नका लागि आउँदा निर्वाचनहरूमा पार्टीलाई पहिलो पार्टी बनाउनका लागि पानी हामी एक ढिक्का छौं भन्ने सन्देश दिनुपर्छ भन्ने निचोड हो।
मनोनयनको प्रक्रिया पनि आज सुरू हुन्छ। कुन पदका लागि उम्मेदवारी दिँदै हुनुहुन्छ?
म केन्द्रीय सचिव भइसकेको व्यक्ति हुँ, स्वभाविक रूपले त्योभन्दा माथि जानुपर्छ। मेरो कामको मूल्यांकन गरेर त्योभन्दा माथि जिम्मेवारी थपिन्छ भन्ने कुरामा आशावादी छु। व्यक्तिगत हिसाबले घोषणा गर्नेभन्दा पनि विगतमा मैले काम सम्पादन गरेको हिसाबले पार्टीले त्यो गर्ला भन्ने मलाई लागेको छ।