नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र बिहान ८ बजेबाट सुरू हुने भनिए पनि अझै सुरू भएको छैन। बन्दसत्र स्थल होटल सेभेन स्टारको अगाडि प्रतिनिधि तथा कार्यकर्ताको भीड लागेको छ। प्रतिनिधिहरू परिचय पत्र लिँदैछन् भने कार्यकर्ताहरू नेताहरूसँग फोटो सेसनमा व्यस्त छन्।
सौराहाको मुख्य सडकमा एमालेका कार्यकर्ताको चहलपहल बाक्लो देखिन्छ। उनीहरू सडकमा रहेका हात्ती, गैंडा, चरालगायतको मूर्तिमा फोटो खिचाइरहेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली भने पार्क सफारी रिसोर्टबाट निस्किएका छैनन्। उनी आफू बसेको कोठामै नेताहरूसँग भेटघाटमा व्यस्त छन्।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्ने निर्णय गरे पनि सहमतिमा नयाँ समिति बनाउन सकिन्छ कि भनेर ओली नेताहरूसँग भेटघाट गरिरहेका छन्।
केही नेताहरू ओलीलाई भेट्ने पालो कुरेर बसिरहेका छन्। सर्वसम्मतिको प्रयास गरिए पनि पदाधिकारीका आकांक्षी धेरै रहेका कारण व्यवस्थापनमा सकस भइरहेको एक नेताले सेतोपाटीलाई बताए।
‘१२ गते नसकिए १३, १४ गते सकिएला केही छैन तर हामी सकेसम्म सहमतिमा नेतृत्व चयन होस् भनेर लागेका छौं,’ उनले भने, ‘कार्यकर्ताको मनोविज्ञान पनि सहमति होस् भन्ने छ, हामी त्यहीअनुसार लागेका छौं।’
वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव पदका आकांक्षीले एक आपसमा अनौपचारिक कुराकानी पनि गरिरहेको ती नेताले बताए।
‘आकांक्षीहरूबीच पनि कुरा भइरहेको छ, अध्यक्षसँग भेटेर पनि कुरा भइराखेका छ। हामी सहमतिका लागि कोसिस गरिरहेका छौं,’ उनले भने।
बन्दसत्र सुरू हुन ढिलो भएपछि पार्क सफारी रिसोर्टको परिसरमा एमालेका नेता तथा कार्यकर्ताको भीड बढ्दै गएको छ। चितवन राष्ट्रिय निकुञ्जको जंगल र राप्ती नदीको आडैमा रहेको रिसोर्टमा उनीहरू फोटो सेसनमा पनि व्यस्त देखिन्छन्।
एमाले नेता विशाल भट्टराईले दुई कारणले बन्दसत्र सुरू हुन ढिला भएको बताएका छन्।
‘एक त अध्यक्षज्यू आन्तरिक छलफल गरिरहनु भएको छ। अर्को कुरा हाम्रो बन्दसत्रलाई सम्बोधन गर्न केही विदेश पाहुना पनि आउन बाँकी छ। त्यही भएर ढिला भएको हो,’ भट्टराईले भने।
उनले अध्यक्ष ओलीले कसैलाई पनि चुनावमा उठ्ने वातावरण बन्न नदिने पनि दाबी गरे।
‘उहाँले सबैलाई सन्तुलन गरेर लैजानुहुन्छ। भीम रावल र घनश्याम भुसाललाई समेत समेटेर पदाधिकारी प्रस्ताव गर्नुहुन्छ, त्यसैमा सहमति हुन्छ,’ भट्टराईले भने।