पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या थपे पनि नेकपा (एमाले)लाई दसौं महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गर्ने विषय पेचिलो बन्ने देखिएको छ।
महासचिवमा अध्यक्ष केपी शर्मा ओलीनिकट दुई नेता बिष्णु पौडेल र शंकर पोखरेलले दाबी नछोडेपछि सहमति जुटाउन कठिन हुने देखिएको हो।
शुक्रबार राति बसेको एमाले नवौं महाधिवेशनको अन्तिम बैठकले उपाध्यक्ष र उपमहासचिव २/२ जना थप्ने निर्णय गरेको थियो। सर्वसम्मतिमा नेतृत्व छान्न सजिलो होस् भनेर केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने र पोलिटब्युरो पनि ब्युँताउने निर्णय पनि उक्त बैठकले गरेको छ।
पदाधिकारी थपिए पनि महासचिव एक जनामात्रै रहेका पौडेल र पोखरेलमध्ये को उक्त पदमा बस्ने भन्ने टुंग्याउन कठिन रहेको एक केन्द्रीय सदस्यले बताए।
उनका अनुसार बन्दसत्र सुरू हुनुअघि नेताहरू छलफलमा व्यस्त भएका छन्।
ती केन्द्रीय सदस्यका अनुसार एमाले सचिव प्रदीप ज्ञवालीले पनि सहमति नहुने हो भने महासचिवमा आफ्नो पनि दाबी हुने बताएका छन्।
पौडेल, पोखरेल र ज्ञवाली तीनै जना अध्यक्ष ओलीका निकट र विश्वासपात्र हुन्।
कम्युनिस्ट पार्टीमा अध्यक्षपछि महासचिव शक्तिशाली हुन्छ। यो महाधिवेशनमा चुनिने महासचिवलाई एमालेको आगामी अध्यक्षका रूपमा हेरिँदैछ।
ओलीले वैचारिक र आफ्नो लिगेसीका आधारमा पोखरेललाई साथ दिन सक्छन् भन्ने एकथरीको अनुमान छ।
पौडेल र पोखरेल दुवैसँग निकट एक एमाले नेताका अनुसार ओलीले पौडेललाई भन्दा पोखरेललाई मन पराउँछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पोखरेललाई अघि बढाउन चाहेकी छन्।
तर सांगठनिक र अन्य थुप्रै अवस्थामा ओलीलाई साथ दिँदै आएका नेता पौडेल हुन्। त्यसैले निर्वाचन भए पौडेलले जित्ने एमालेका नेता-कार्यकर्ताको अनुमान छ।
महासचिवमा पौडेल र पोखरेलले प्रतिस्पर्धा गरे भने पौडेललाई वरिष्ठ उपाध्यक्षका दाबेदार सुवास नेम्वाङ, सचिव पृथ्वी सुब्बा गुरूङ र नेताहरू छविलाल विश्वकर्मा, खिमलाल भट्टराई, रघुवीर महासेठ, महेश बस्नेत, गोकुल बाँस्कोटा, वसन्त नेम्वाङ लगायतको साथ रहनेछ।
पूर्वमाओवादी र पूर्व माधव नेपाल समूहका बहुसंख्यक नेताहरूको साथ पनि पौडेललाई नै रहने उनीनिकट एक नेताको दाबी छ।
त्यस्तै, शंकर पोखरेललाई वरिष्ठ उपाध्यक्षका अर्का दाबेदार ईश्वर पोखरेल र नेताहरू विष्णु रिमाल, राजन भट्टराई, भानुभक्त ढकाल, कर्ण थापा, खगराज अधिकारी लगायतको साथ रहनेछ।
वरिष्ठताका आधारमा पनि पौडेल पोखरेलभन्दा अगाडि छन्। पौडेल २०४९ सालमा केन्द्रीय सदस्य बनेका थिए भने पोखरेल २०५४ मा बनेका हुन्।
पदाधिकारी भने दुवै एकैचोटि भएका हुन्। २०६५ को आठौं महाधिवेशनबाट पौडेल र पोखरेल सचिव निर्वाचित भएका थिए। २०७१ को नवौं महाधिवेशनमा पौडेल उपमहासचिव चुनिएका थिए भने पोखरेल पराजित भएका थिए। एमाले र माओवादी एकता भएर नेकपा बन्दा समेत पौडेल महासचिव थिए।
संसदीय राजनीतिमा पनि पोखरेलभन्दा पौडेल अब्बल मानिन्छन्।
पौडेलले अहिलेसम्म लडेकामध्ये २०५६ को निर्वाचन मात्र हारेका थिए। उनले २०५१, २०६४, २०७० र २०७४ को निर्वाचन जितेका थिए। जबकि, २०५१ को निर्वाचन जितेका पोखरेल २०५६ मा हारे भने २०६४ मा समानुपातिकबाट सभासद भए। त्यसपछि २०७० को निर्वाचन उनी हारे र २०७४ मा प्रदेशसभामा गए।
पोखरेललाई अहिलेका महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य विष्णु रिमाल, केन्द्रीय सदस्य राजन भट्टराई लगायतले अघि बढाउन खोजेका छन्। खासगरी ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा रहेकाहरूको पोखरेललाई साथ छ।
आफ्ना पक्षमा वैचारिक बहस र प्रतिवाद गर्न सक्ने भएकाले ओलीको रोजाइमा पोखरेल पर्ने उनीनिकट नेताहरू तर्क गर्छन्।