नेकपा एमालेको दसौं महाधिवेशन शुक्रबारबाट चितवनमा सुरू भएको छ। महाधिवेशनमा आज बन्दसत्र र मनोनयन दर्ताको कार्यक्रम छ।
उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्षतालाई चुनौती दिएको छ। शुक्रबार राति बसेको एमालेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्य थप्दै सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्ने कुरामा जोड दिएको छ।
अन्तिम समयमा एमाले सचिव पृथ्वीसुब्बा गुरूङलाई हामीले पाँच प्रश्न सोधेका छौं।
पदाधिकारी र केन्द्रीय कमिटीमा संख्या थपेपछि अब सर्वसम्मति हुने भयो ?
सर्वसम्मतिको ग्यारेन्टी त कसरी गर्न सकिन्छ र! तर अहिले हाम्रो पार्टीमा सर्वसम्मति गर्नुपर्ने परिस्थिति छ। किनभने एकातिर पूर्वमाओवादीबाट आएका साथीहरू हुनुहुन्छ। जसको नेतृत्व रामबहादुर थापा बादलले गर्नुहुन्छ। उहाँहरूबाट केन्द्रीय कमिटीमा २५ जना सदस्य हुनुहुन्छ। अर्कातिर १० बुँदे सम्झौता गरेका १० भाइको समूह छ। एकताको भावना नराख्ने हो भने उहाँहरूलाई सँगै लिएर जान कठिन हुन्छ। सहमतिको अधिकतम प्रयास गर्न सजिलो होस् भनेर संख्या थपिएको हो। अन्तिमसम्म सहमतिको प्रयास हुन्छ।
केन्द्रीय कमिटीभन्दा पनि पदाधिकारीको विषय पेचिलो देखिन्छ, चार जना पदाधिकारी थप्दैमा सबै नेतालाई समेट्न सकिन्छ?
अब आकांक्षीहरूसँग कुरा हुन्छ। पार्टीले एउटा निर्णय गरेर को के हुने भनेपछि हुन्छ।
अध्यक्षमै भीम रावलले उम्मेदवारी दिनुभएको छ?
त्यो पनि छलफल गरेपछि भइहाल्छ नि।
मनोनयनको समय आज छ, आजै टुंगिन्छ त सहमतिको कुरा?
मनोनयनको समय लम्बिन सक्छ। हामीले सहमतिको प्रयास गर्दैगर्दा आज सकिएन भने भोलि मनोनयन हुनसक्छ। हाम्रो पार्टीमा पहिला पनि यस्तो भएको इतिहास छ। १२ गते महाधिवेशन सक्ने भनेको भोलि नै सक्नुपर्छ भनेको होइन। सहमति हुन्छ भने समय लम्बिन सक्छ।
तपाईंको दाबीचाहिँ कुन पदमा हो?
म एकताको पक्षधर हुँ। एकताको पक्षमा लागेको मान्छेले मलाई यसमा भोट दिनुहोला भन्दै प्रतिनिधिसँग मत माग्न मिल्दैन।
तैपनि तपाईंका शुभचिन्तकहरूले तपाईंलाई केमा उठ्न भनेका छन्?
कतिले मलाई महासचिव त कतिले उपाध्यक्षका रूपमा देख्न चाहेका छन्। तर सहमतिका लागि म जुनसुकै त्याग गर्न तयार छु।