नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म विस्तार गर्ने गरी पेस गरेको विधान संशोधन प्रस्ताव पारित भएको छ।
चितवनमा जारी दसौं महाधिवेशन क्रममा अहिले भइरहेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले उक्त प्रस्ताव पेस गरेका थिए।
केन्द्रीय कमिटी बैठकले पारित गरेको यो प्रस्तावलाई शनिबार हुने महाधिवेशनको बन्दसत्रले अनुमोदन गरेपछि यसले विधानको रूप लिनेछ।
बैठकले २ जना उपमहासचिव र २ जना उपाध्यक्ष थपेर पदाधिकारी संख्या १९ पुर्याउने निर्णय गरेको पार्टी कार्यालय सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
यसअघि पदाधिकारी संख्या १५ थियो। यो प्रस्ताव पारित भएसँगै एमालेमा उपमहासचिव संख्या ३ पुगेको छ भने उपाध्यक्ष ७ जना हुनेछन्।
आफ्नै समूहका नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि ओलीले सबैलाई समेटेर लैजाने उद्देश्यअनुरूप यस्तो प्रस्ताव ल्याएका हुन्। धेरै आकांक्षी भएपछि सहमतिको वातावरण बनाउन पदाधिकारी संख्या बढाउनुपर्ने प्रस्ताव पार्टीका नेताहरूले गरेका थिए।
त्यस्तै, बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव पनि पास गरेको तामाङले जानकारी दिए। अहिले केन्द्रीय कमिटी २२५ सदस्यीय छ।
ओलीले पोलिटब्युरो ब्युँताउने प्रस्ताव पनि अघि सारेका थिए। यसअघि असोजमा भएको विधान महाधिवेशनले पोलिटब्युरो हटाएको थियो। त्यसलाई फेरि ब्युँताएर ९९ सदस्यको पोलिटब्युरो गठन गरिएको छ।
यसबाहेक ४५ स्थायी समिति पहिल्यै नै छ। बैठकले यी सबैमा सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने निर्णय गरेको पनि तामाङले बताए।