नेकपा एमालेको जारी दसौं महाधिवेशन क्रममा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन प्रस्ताव पेस गरेका छन्।
अहिले भइरहेको केन्द्रीय कमिटी बैठकमा उनले विधान संशोधन प्रस्ताव पेस गर्दै ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउन प्रस्ताव गरेको बैठकमा सहभागी एक सदस्यले बताए। अहिले केन्द्रीय कमिटी २२५ सदस्यीय छ।
पार्टीका नेताहरूमा केन्द्रीय सदस्यका आकांक्षी धेरै देखिएपछि ओलीले सबैलाई समेटेर लैजाने मनसायअनुरूप यस्तो प्रस्ताव ल्याएका हुन्।
यति मात्र होइन, ओलीले पोलिटब्युरो ब्युँताउने प्रस्ताव पनि अघि सारेका छन्। यसअघि असोजमा भएको विधान महाधिवेशनले पोलिटब्युरो हटाएको थियो। त्यसलाई फेरि ब्युँताएर ९९ सदस्यको पोलिटब्युरो गठन गर्ने ओलीको नयाँ प्रस्ताव रहेको स्रोतले जानकारी दियो।