दाङ, लमहीका ७२ वर्षीय आमबहादुर गिरीले कम्युनिस्ट पार्टीको सदस्यता लिएको २०३५ सालमै हो। पछि उनी राजनीतिमा सक्रिय भएर लागेनन्। घरायसी कामकाजमै व्यस्त बने, सदस्यता नवीकरण पनि गरेनन्।
पहिलोपटक कम्युनिस्ट पार्टीको सदस्य बनेको ४३ वर्षपछि उनले नेकपा एमालेको सदस्यता लिए।
केही दिनअघि गाउँमा पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन जाने चर्चा चल्यो। उनले पनि नाम टिपाए। बिहीबार अपराह्न लमहीबाट गाडी चढेका उनी शुक्रबार बिहान भरतपुर आइपुगे।
नारायणी नदीको किनारमा बसेर मोटरबोट हुइँकिएको हेरिरहेका गिरीले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा 'नारायणी नदीमा पानी जहाज चलाउने' भनेर भाषण गरेको सम्झिए।
'चलाउनुहुन्थ्यो पनि होला, सरकार ढालिहाले,' उनले भने, 'आज यो मोटरबोट हेरियो, पानीजहाज हेर्ने त कहिले हो कहिले! पार्टीले अब फेरि सरकार चलाउन पायो भने चलाउला नि!'
उनले ओलीले सरकारमा रहँदा वृद्धभत्ता बढाइदिएका कारण जेष्ठ नागरिकहरू खुसी भएको सुनाए।
'म बुढेसकालमा पनि भाषण सुन्न यति पर आउने जाँगर चलायो, गाउँबाट मेरै उमेरका अरू साथीहरू पनि आएका छन्,' उनले भने, 'यही भत्ताले त जीवन चलाइरहेको छु। यति पैसा नआउने भए खानै समस्या हुन्थ्यो।'
बर्दियाबाट आइपुगेको एक टोली नारायणीको तिरमा बसेर झोलामा बोकेर ल्याएको सुक्खा रोटी खाँदै थियो। मधुवन नगरपालिकाका हरिन्द्र ओलीले अध्यक्ष ओलीको भाषण सुन्न गाडी रिजर्भ गरेर आएको बताए।
जनकपुरका सुशील यादव नारायणगढ त पहिले पनि आएका थिए। यसपालि सौराहा पनि घुम्ने योजना उनको छ। 'पार्टीको महाधिवेशन उत्साहको कुरा यसै पनि भयो, यसमा सहभागी हुने र सौराहा पनि घुम्ने भनेर आएको,' उनले भने, 'होटलमा कोठा पो पाइँदैन भन्ने सुनेको छु, हेरौं के हुन्छ।'
सौराहामा होटल नपाउने सुनेपछि कास्कीका नवराज सुवेदीले उद्घाटन कार्यक्रम सकिएपछि माडी जाने तयारी गरेका छन्। 'शनिबार माडी पुगेर अयोध्याधाम घुम्ने, होमस्टेमा बास बसेर फर्कने योजना छ,' उनले भने।
धादिङका सविन भट्टलाई भने घर फर्कने हतारो छ। अपराह्न ५ बजिसक्दा पनि उनले पार्किङमा राखेको गाडी झिक्न सकेका थिएनन्। महाधिवेशनका लागि आएका हजारौं सवारी साधन भरतपुरका विभिन्न स्थानमा पार्किङ गरिएको छ।
महाधिवेशनमा सहभागी हुन आएका नेकपा एमालेका कार्यकर्ताले नारायणी नदीको किनारमा रहेको मैदान भरिएको थियो। ट्राफिक प्रहरी स्रोतका अनुसार शुक्रबार दुई हजारभन्दा बढी ठूला सवारी साधन, करिब १० हजारवटा मझौला तथा साना सवारी साधन र पाँच हजार बढी मोटरसाइकल महाधिवेनका लागि चितवन प्रवेश गरेका थिए।
भरतपुरमा महाधिवेशन भएकै करण शुक्रबार ठूला सार्वजनिक सवारी साधन र मालवाहक सवारी सधनहरू चलेनन्। जिल्ला सुरक्षा समिति चितवनले भरतपुरमा साढे ८ घन्टाका लागि 'नो भेइकल मुभमेन्ट' गर्ने निर्णय गर्दै सवारी साधन नचलाएर सहयोग गरिदिन आग्रह गरेको थियो।
प्रहरीले विभिन्न ठाउँमा 'बाटो बन्द' लेखिएको बोर्ड तेर्स्याएर सवारी साधनलाई राजमार्ग जान रोकेका थिए।