नेकपा एमालेको दसौं महाधिवेशन शुक्रबारबाट चितवनको भरतपुरमा सुरू हुँदैछ। उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्षतालाई चुनौती दिएको छ। अन्य पदाधिकारीमा पनि निर्वाचन हुने सम्भावना बढ्दै गएको छ।
अन्तिम समयमा एमाले सांसद महेश बस्नेतलाई हामीले चार प्रश्न सोधेका छौं।
एमालेको दसौं महाधिवेशनको उद्घाटन सकियो, अबको प्रक्रिया के हुन्छ?
सबैभन्दा पहिला त हाम्रो महाधिवेशनको उद्घाटन भव्य एवं उत्साहजनक भयो। हामीले सोचेभन्दा बढी मान्छे आए। यसले हामीलाई अझ बढी जिम्मेवारी थपेको छ। आउने महाधिवेशन हामी सरकारमा भएका बेला गर्छौं।
अहिले केहीबेरमा सौराहामा केन्द्रीय कमिटीको बैठक बस्दैछ। उक्त बैठकले यसपालिको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा छलफल हुन्छ। मलाई लाग्छ बैठकले अध्यक्ष मण्डल (बन्द सत्र सञ्चालनका लागि) लाई सर्वसम्मतिका लागि अधिकतम प्रयास गर्न म्यान्डेट दिन्छ।
त्यसो भने अब नेतृत्व चयनको विषय सहमतिको बाटोमा गएको हो?
नेताहरूबीच छलफल भइरहेको छ। हाम्रा महाधिवेशन प्रतिनिधिहरू पनि प्राय: सबै सर्वसम्मत भएर आउनुभएको छ। उहाँहरूको चाहना पनि सर्वसम्मत नै होस् भन्ने मैले बुझेको छु। राष्ट्रिय राजनीतिमा एमाले अहिले चौतर्फी घेराबन्दीमा परेकाले हामीले कार्यकर्तालाई महाधिवेशनबाट विभाजित मानसिकतासहित पठायौं भने उनीहरूको मनोबल घट्छ।
तपाईंले सचिवमा उम्मेदवारी दिन्छु भन्नुभएको थियो, सहमति भयो भने दाबी छोड्नुहुन्छ कि?
सर्वसम्मत नेतृत्व चयन हुँदा पनि म सचिव हुन्छु भन्ने लाग्छ। हामीले ४० वर्षमुनिका केन्द्रीय सदस्य र ५० वर्षमूनिका पदाधिकारीको एउटा समूह बनाउनु छ,जसले आगामी दिनमा एमालेलाई जुझारू बनाउन सकोस्।
सर्वसम्मति गर्दा त अहिलेका आकांक्षी सबै नेताहरूलाई पद पुग्दैन नि?
त्यसका लागि पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या बढ्छजस्तो लाग्छ। अहिले एमालेमा पदाधिकारी १५ जना हुने भनिएको छ अब त्यो बढे २४/२५ पुग्न सक्छ। केन्द्रीय सदस्यको संख्या पनि ३ सय हाराहारी पुग्छ भन्ने मेरो अनुमान छ।