नेकपा एमालेको दसौं महाधिवेशन शुक्रबारबाट चितवनको भरतपुरमा सुरू हुँदैछ। उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्षतालाई चुनौती दिएको छ। अन्य पदाधिकारीमा पनि निर्वाचन हुने सम्भावना बढ्दै गएको छ।
अन्तिम समयमा एमाले सांसद नवीना लामालाई हामीले तीन प्रश्न सोधेका छौं।
यो महाधिवेशनमा तपाईं किन केन्द्रीय सदस्यको उम्मेदवार बन्दै हुनुहुन्छ?
म स्कुल कमिटीदेखि अनेरास्ववियुमा रहेर काम गरेको छु। स्ववियु सचिव र सभापति समेत भए। दुई पटक अनेरास्ववियु केन्द्रीय सदस्य, दुई पटक सचिवालय सदस्य, महासचिव र अध्यक्ष भए। म अनेरास्ववियुको पहिलो महिला महासचिव दोस्रो महिला अध्यक्ष हो। पार्टी कमिटीका सबै तह हुँदै यहाँ आइपुगेको छु। त्यसैले केन्द्रीय सदस्यमा मेरो दाबी स्वभाविक छ।
आफूले कुन क्लष्टरबाट उम्मेदवारी दिने भन्ने सोच बनाउनु भएको होला नि?
मैले कुन क्लष्टरबाट उम्मेदवारी दिने भनेर अझै टुंगो लगाएको छैन। त्यसका लागि छलफल गर्न बाकी छ। केन्द्रीय सदस्यको उम्मेदवार त अवश्य बन्छु।
म जनजाति महिला भएपनि खुला प्रतिस्पर्धाबाट राजनीतिमा आएको हो। त्यसैले पनि मलाई महाधिवेशन प्रतिनिधिहरूले विश्वास गर्नुहुन्छ भन्ने विश्वास छ। मेरो लागि जनजाति क्लष्टर पनि छ। तर मैले खुला महिलातर्फ प्रतिस्पर्धा गर्ने सोच बनाएको छु।
एमालेमा पदाधिकारी समावेशी बनाउने कुरा उठेको छ। यसलाई कसरी ग्यारेन्टी गर्न सकिन्छ?
महिलालाई नेतृत्वमा पुर्याउन सकेमा मात्रै संविधान अनुसारको अधिकार सुरक्षित हुन्छ। पार्टी अध्यक्ष स्वयंले एक तिहाइ महिलाको सहभागिता गराउने भन्नुभएको छ। त्यसैले एक तिहाइ महिला पदाधिकारी बन्छन् भन्नेमा म ढुक्क छु।