जिरो आवरमा सुवास नेम्वाङलाई सात प्रश्न
नेकपा एमालेको दसौं महाधिवेशन शुक्रबारबाट चितवनको भरतपुरमा सुरू हुँदैछ। उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्षतालाई चुनौती दिएको छ। अन्य पदाधिकारीमा पनि निर्वाचन हुने सम्भावना बढ्दै गएको छ।
अन्तिम समयमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई हामीले सात प्रश्न सोधेका छौं।
वरिष्ठ उपाध्यक्षमा दाबी छ भन्ने आएको छ नि?
म २०२८ देखि यो आन्दोलनमा सक्रिय छु। व्यक्तिभन्दा माथि पार्टी, पार्टीभन्दा माथि देश भनेर राजनीतिमा लागेको छु।
अहिले मेरा सबै शुभचिन्तकहरूले वरिष्ठ उपाध्यक्षमा लड्नुपर्छ भनेका छन्। केपी ओलीलाई केन्द्रमा राखेर उहाँलाई सघाउन एउटा टिम चाहिन्छ। त्यसकारण वरिष्ठ उपाध्यक्ष तपाईं हुनुपर्छ भन्ने उहाँहरूको कुरा छ।
तपाईं वरिष्ठ उपाध्यक्ष सहमतिबाट हुनुहुन्छ कि चुनावबाट?
म सहमतिको पक्षमा छु। सहमति हुन सकेन भने वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन्छु।
यसबारेमा अध्यक्ष ओलीसँग कुरा गर्नुभएको छ?
आज बिहान पनि ओलीसँग छलफल भएको थियो। ओलीलाई मैले यो कुरा जानकारी गराएको छु।
उहाँले के भन्नुभयो?
उहाँले कसैलाई दायाँ-बायाँ गर्नुहुन्न। उहाँका लागि सबै बराबर हो। सार्वजनिक रूपमै उहाँले सकेसम्म सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छानिन्छ भन्नुभएको छ।
तपाईंलाई वरिष्ठ उपाध्यक्ष जित्छु भन्ने लाग्छ?
मैले चुनाव हारेको इतिहास छैन। राष्ट्रिय राजनीति र पार्टीमा मैले गरेको कामलाई सबैले राम्रोसँग बुझेका छन्। तर म चुनावभन्दा पनि सर्वसम्मतिका पक्षमा छु।
सर्वसम्मति भएपनि तपाईं वरिष्ठ उपाध्यक्ष नै बन्ने हो कि अरूलाई छोड्न तयार हुनुहुन्छ?
सर्वसम्मति भए पनि मेरो दाबी वरिष्ठ उपाध्यक्षमै हुन्छ।
विष्णु पौडेल र तपाईंको प्यानल बन्दैछ भन्ने चर्चा छ नि?
यसपालि हाम्रो पार्टीमा प्यानल बनाउने भन्ने छैन। त्यही भएर घोषित रूपमा प्यानल हुँदैन। अब कोही साथीभाइ मिलेर काम गर्नुभयो भने अर्कै कुरा। साथीभाइ मिल्दा मलाई विष्णु पौडेल र शंकर पोखरेल दुवै जनाले साथ दिनुहुन्छ भन्ने लाग्छ।