नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीपछिको नेतृत्वमा स्थापित हुन ओली पक्षकै नेताहरूबीच गुटबन्दी सुरू भएको छ।
अध्यक्षपछिको शक्तिशाली पद महासचिवका लागि विष्णु पौडेल र शंकर पोखरेललाई मुख्य दाबेदारका रूपमा हेरिएको छ। दुवै ओलीका विश्वासपात्र निकट नेता हुन्।
त्यस्तै, स्थायी कमिटी सदस्य सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष दाबी गरेसँगै यो पदमा पनि ओली पक्षभित्रै प्रतिस्पर्धा हुने स्थिति बनेको छ। यसअघि असोजमा भएको प्रथम विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षको प्रावधान राखेसँगै यो पद वर्तमान महासचिव ईश्वर पोखरेलका लागि सिर्जना गरिएको धेरैको अनुमान थियो।
पोखरेल स्वयं पनि वरिष्ठ उपाध्यक्षमा कसैले प्रतिस्पर्धा नगर्नेमा ढुक्क थिए। सुवास नेम्वाङले मुख खोलेपछि भने पोखरेल आत्तिएको स्रोतको दाबी छ।
'सुवास नेम्वाङ यत्तिकै मुख खोल्ने नेता होइन। उहाँले बार्गेनिङका लागि यस्तो भनेको होइन,' नेम्वाङनिकट एक नेताले भने, 'पार्टी अध्यक्षसँग छलफल नगरी उहाँले पक्कै दाबी गर्नुभएन। उहाँले आवश्यक परे निर्वाचन लड्नकै लागि भन्नुभएको हो।'
पोखरेलनिकट एक नेता भने नेम्वाङको दाबीलाई 'बार्गेनिङ' भन्छन्।
'नेम्वाङजीको वरिष्ठ उपाध्यक्ष हुने हैसियत पुग्दैन। उहाँ संगठन गर्ने व्यक्ति नै होइन,' उनले भने, 'उहाँको विज्ञता संसदीय मोर्चामा हो, पार्टी मोर्चामा होइन। उपाध्यक्षमा आफूलाई सुरक्षित गर्न मात्र उहाँले यस्तो भन्नुभएको हो।'
संसदीय राजनीतिको इतिहास हेर्ने हो भने पोखरेलको तुलनामा नेम्वाङकै पल्ला भारी छ। नेम्वाङले २०५६ यताका चारै निर्वाचन जितेका छन्। पोखरेल भने चारमध्ये दुईमा मात्रै विजयी भएका छन्। २०५६ अघि भने दुवै राष्ट्रियसभामा थिए।
पार्टी राजनीतिको कुरा गर्ने हो भने पोखरेल वरिष्ठ हुन्। तर पछिल्लो समय एमाले कार्यकर्ताहरूले नेम्वाङलाई ओलीको भरपर्दो सहयोगीका रूपमा बुझेका छन्।
यस्तो अवस्थामा निर्वाचन भयो भने नेम्वाङ र पोखरेलबीच ठूलै टक्कर पर्ने छाँट छ। यी दुई जनालाई लिएर पार्टीभित्र ध्रुवीकरण भयो भने कस्तो स्थिति उत्पन्न होला?
हामीले ओली पक्षका विभिन्न नेतासँग कुरा गर्दा यो अवस्थामा ईश्वर-शंकर र विष्णु-सुवासको गठबन्धन बन्ने अनुमान गरिएको छ।
विष्णु-सुवास पक्षका एक नेताले त यतिसम्म भने, 'यो कुनै अनुमानको विषय होइन, यसको तयारी भइसकेको छ।'
यति मात्र होइन, विष्णु पौडेल र सुवास नेम्वाङको गठबन्धन भयो भने उनीहरूलाई पूर्वमाओवादी र पूर्व माधव नेपाल समूहको समेत साथ रहने उनले बताए। 'केपी ओलीले हस्तक्षेप नै गर्नुभयो भने एउटा कुरा तर उहाँले हस्तक्षेप गर्ने सम्भावना छैन, किनभने सबै नेता उहाँलाई सहयोग गर्न तयार छन्,' उनले भने।
ती नेताको दाबी मान्ने हो भने विष्णु र शंकरबीच सहमति हुनसक्ने सम्भावना छ तर ईश्वर र सुवासबीच सहमतिको गुञ्जायस देखिन्न।
'विष्णु पौडेल र शंकर पोखरेललाई ठूलै दबाब पर्यो भने एकले महासचिव र अर्कोले उपाध्यक्ष लिन सक्छन्। तर सुवास नेम्वाङ र ईश्वर पोखरेलबीच त्यस्तो सम्भावना देखिँदैन,' ती नेताले भने, 'महासचिवमा प्रतिस्पर्धा भए शंकर पोखरेलभन्दा विष्णु पौडेल बलिया प्रतिस्पर्धी हुन्। त्यसैले आफ्नो राजनीति सुरक्षित गर्न पोखरेलले अर्को पद रोज्न सक्छन्।'
उता महासचिवका लागि सुरेन्द्र पाण्डेले पनि दाबी छाडेका छैनन्। तर विष्णु र शंकरले आफ्नो मुख नखोलेकाले नेताहरू पनि कसैका पक्षमा खुलेका छैनन्। जब यी दुई नेताले मुख खोल्छन्, त्यसपछि स्वाभाविक रूपमा महाधिवेशन प्रतिनिधिहरू खुल्न थाल्ने छन्।
एमालेभित्र अघोषित रूपमा चलेको यो गठबन्धन प्रयासलाई अब ओलीले मात्रै रोक्न सक्छन्। उनले रोकेको अवस्थामा सहमति हुन कठिन छैन। किनभने त्यस्तो अवस्थामा नेताहरूको आकांक्षाअनुरूप पदाधिकारी संख्या बढ्नेछ। तर ओलीले सार्वजनिक रूपमा जे भनेका छन्, व्यवहारमा पनि त्यही लागू गरे एमालेभित्र पदाधिकारीका लागि निर्वाचन हुनबाट अब कसैले रोक्न सक्दैन।
ओलीले सर्वसम्मत भएर आउने वा धेरै मत ल्याउनेलाई आफ्नो समर्थन रहने सार्वजनिक रूपमा बताएका छन्। आफूपछिका सबै पदमा निकटस्थबीच प्रतिस्पर्धा हुने भएकाले ओलीले हस्तक्षेप नगर्ने उनीनिकट एक नेता बताउँछन्।
यो अवस्थामा सबभन्दा चासोका साथ हेरिएको महासचिव पद नै हो। यो महाधिवेशनमा चुनिने महासचिवलाई एमालेको आगामी अध्यक्षका रूपमा हेरिँदैछ। अब हामी यसबारे विश्लेषण गरौं।
महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले प्रतिस्पर्धा गरे भने पौडेललाई वरिष्ठ उपाध्यक्षका दाबेदार सुवास नेम्वाङ, सचिव पृथ्वी सुब्बा गुरूङ र नेताहरू छविलाल विश्वकर्मा, खिमलाल भट्टराई, रघुवीर महासेठ, महेश बस्नेत, गोकुल बाँस्कोटा, वसन्त नेम्वाङ लगायतको साथ रहनेछ।
पूर्वमाओवादी र पूर्व माधव नेपाल समूहका बहुसंख्यक नेताहरूको साथ पनि पौडेललाई नै रहने उनीनिकट एक नेताको दाबी छ।
त्यस्तै, शंकर पोखरेललाई वरिष्ठ उपाध्यक्षका अर्का दाबेदार ईश्वर पोखरेल र नेताहरू विष्णु रिमाल, राजन भट्टराई, भानुभक्त ढकाल, कर्ण थापा, खगराज अधिकारी लगायतको साथ रहनेछ।
ईश्वर पोखरेल र सुवास नेम्वाङका हकमा पनि यही लागू हुनेछ। तर पौडेललाई साथ दिन्छु भनेका केही नेताले आफूहरूको समर्थन वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई रहने सेतोपाटीलाई बताएका छन्।
चुनाव हुने स्थितिमा शंकर र ईश्वर पोखरेलसँग नजिक भनिएका कतिपय नेताले टिम परिवर्तन गर्ने पौडेलनिकट नेताको दाबी छ। ती नेताका अनुसार झन्डै २२ सय प्रतिनिधिमा पौडेल-नेम्वाङको पक्षमा १३ सयभन्दा धेरै छन्।
कसका पक्षमा कति छन् भनेर हिसाबकिताब हुन अझै दुई दिन कुर्नुपर्छ। त्यति बेलासम्म ओलीले हस्तक्षेप गरेर सबै चुनावी अनुमान गलत साबित गरिदिन सक्छन्।