चितवनमा एमाले महाधिवेशन, जुर्मुराए पर्यटन व्यवसायी
पूर्ण रिजाल सौराहामा बसेको ५२ वर्ष भयो। २६ वर्षदेखि उनी व्यापारमा संलग्न छन्। यति लामो अनुभवमा रिजाललाई सौराहाका होटल पूर्ण रूपमा भरिएको थाहा थिएन।
उनका अनुसार ५/६ वर्षअघि नयाँ वर्षको दिनमा होटल भरिएर ४/५ सय मान्छे नारायणगढ गएको भए पनि तीन दिन लागातार यस्तो भएको थिएन।
देशको प्रमुख राजनीतिक पार्टीले आफ्नो महाधिवेशन गर्दा सौराहालाई देश-विदेशमा थप चिनाउने मौका मिलेको उनले बताए। 'तीन दिनको कमाइले ६ महिना। वर्षदिन खान पुग्छ भन्ने होइन। तर यसले देश-विदेशमा सौराहालाई चिनाएको कुरा महत्वपूर्ण हो,' उनले भने।
पार्क सफारी रिसोर्टका व्यवस्थापक एवं क्षेत्रीय होटल संघ सौराहाका योगेश अधिकारीले होटल भरिएर अरूलाई ठाउँ छैन भन्ने अवस्था आएको बताए।
'हुन त विभिन्न संघ-संस्थाका कार्यक्रम हुँदा पनि बेलाबखत होटल भरिभराउ हुने गरेका थिए। तर यसपटकको भरिभराउलाई अन्य समयसँग तुलना गर्न मिल्दैन,' उनले भने, 'एमाले महाधिवेशन हुने तय भएपछि नै यसको तयारीमा हामी जुटेका हौं।'
खाद्यान्न लगायत सामग्री विगतदेखि दिने सप्लायर्सबाटै ल्याएको उनले बताए।
नेचर गाइड सुदर्शन पोखरेल पनि एमालेको महाधिवेशनबाट उत्साही बनेका छन्। महाधिवेशनमा आउनेहरू जंगल सफारीमा जाने उनको अपेक्षा छ।
'झन्डै २ वर्षदेखि पर्यटन व्यवसाय शिथिल बनेको छ। ५/७ हजार मान्छे भेला हुने भएपछि हामी आशावादी छौं,' उनले भने, 'महाधिवेशन भएपछि सबै जुर्मुराएका छन्। जंगल सफारी हुन्छ भनेर हामी समेत आशावादी छौं।'
जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले महाधिवेशनमा आउनेहरूको आतिथ्यतामा कमी नआओस् भनेर घरमा गएका कर्मचारीहरूलाई समेत बोलाएका छन्।
‘एमाले महाधिवेशन सौराहामा भइरहँदा निकै हौसला बढेको छ। कोरोनाले शिथिल बनेको क्षेत्रमा केही समयअघि चहलपहल बढे पनि महाधिवेशनमा सौराहा तीन/चार दिन भरिभराउ हुनु पर्यटन क्षेत्रको इतिहासमै पहिलोपटक होला,’ उनले भने।
आफूहरू यो कार्यक्रमले उत्साही भएको उनले बताए।
'यो सिजनमा पाहुनाहरू पहिला पनि आउथे। त्यसैले हामीले कर्मचारीलाई पहिले नै तयारी अवस्थामा राखेका थियौं। तर महाधिवेशनले दिने रौनक अर्कै हुन्छ,' उनले भने, 'देशका सबै ठाउँबाट आएकाहरूले सौराहाको महत्व बुझ्छन्। यसको फाइदा हामीले दीर्घकालसम्म लिन सक्छौं।'
सौराहामा एमालेले आफ्ना ३२ सय पाहुनालाई राख्ने गरी सहमति गरिसकेको छ।
व्यवसायीहरूका अनुसार ७ हजार पाहुना राख्न सक्ने क्षमता सौराहासँग छ। त्यो क्षमता अनुसारका पाहुना आउने तय भइसकेको उनीहरूको भनाइ छ।