नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरूङले विधान मस्यौदा प्रस्तुत गर्न सुरू गरेका छन्।
विधान प्रस्ताव पारित भएलगत्तै महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूको समूह विभाजन गरेर अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी समिति सदस्य देव गुरूङले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल हुनेछ।
नेकपा (माओवादी केन्द्र) ले महाधिवेशनको बन्द सत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ।
सुरूमा एक हजार ६३१ जना प्रतिनिधि रहने भनिएकामा त्यो बढेर एक हजार ७०० बराबर पुगेको छ। स्थायी समितिको बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो।
अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, रुपा महर्जन, परशुराम रम्तेल, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी हुन्।
बन्द सत्रमा अध्यक्ष प्रचण्डको विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुनेछ।