नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै सर्वेसर्वा देखिएका छन्।
रातारात बनाइएको महाधिवेशनको लोगोमा प्रचण्डकै फोटो छ। हरेक महाधिवेशन प्रतिनिधिले प्रचण्डको फोटो अंकित लोगो भएको कार्ड घाँटीमा झुण्ड्याएका छन्।
प्रतिनिधिलाई दिइएको डायरीमा प्रचण्डकै फोटो छ। महाधिवेशन स्थल प्रज्ञा भवनभित्र छिर्नासाथ प्रचण्डको बुख्याँचा राखिएको छ।
महाधिवेशन उद्घाटन सत्रमा बोल्ने माओवादी नेताहरूले समेत प्रचण्डकै गुणगान गाएका थिए।
विशेष गरेर माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका यादवले पार्टीको नेतृत्व छोडेर प्रचण्ड भाग्न नपाउने धारणा राखे।
त्यस्तै साँस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएका कतिपय गीतहरूमा समेत प्रचण्डलाई युग नेता भनेर प्रशंसा गरिएको छ।
आइतबारदेखि सुरू माओवादी केन्द्रको आठौं महाधिवेशन ५ दिनसम्म चल्नेछ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसमेत चयन गर्छ। अन्य पदहरूमा नेताहरूले आकांक्षा देखाएको भए पनि अध्यक्षमा प्रचण्डको प्रतिस्पर्धामा कोही छैन। अन्य पदमा समेच प्रचण्डले नचाहेको नेता आउन कठिन छ।