प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक-अर्काको प्रशंसा गरेका छन्।
माओवादी केन्द्रको उद्घाटन समारोहमा बोल्दै देउवाले र प्रचण्डले एक-अर्काको तारिफ गरेका हुन्।
माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले नेपालको राजनीतिमा प्रचण्डको महत्वपूर्ण योगदान रहेको बताए।
प्रचण्डकै अगुवाइमा नेपाल संविधान सभाको चुनावमा गएको र संविधान बनाउनमा पनि उनको महत्वपूर्ण योगदान रहेको देउवाको भनाइ थियो।
‘नेपाली कांग्रेसले २००७ सालमा उठाएको संविधान सभाको मुद्दा प्रचण्डजी फेरि उठाउनु भयो। उहाँकै अगुवाइमा हामी संविधान सभामा गयौं,’ देउवाले भने।
देउवाले अहिलेको गठबन्धन कसैका विरूद्ध नभएकाले चुनावसम्म जाने बताए।
‘यो संविधान र संसद बचाउन भएको गठबन्धन हो। हामी चुनावपछि पनि गठबन्धन लैजान चाहन्छौं,’ देउवाले भने।
देउवापछि बोलेका प्रचण्डले पनि देउवाको तारिफ गरे। देउवाले आज निकै सुन्दर ढंगले बोलेको बताए।
‘देउवाजी हेर्दा सोझोजस्तो इनोसेन्टजस्तो देखिनुहुन्छ तर बेला बेलामा महत्वपूर्ण स्टेटमेन्ट दिनुहुन्छ,’ प्रचण्डले भने,‘आज त उहाँले निकै सुन्दर ढंगले महत्वपूर्ण स्टेटमेन्ट दिनुभएको छ।’
आफू विद्रोही नेता हुँदा पनि देउवाले ‘प्रचण्ड बहादुर हो’ भनेको उनले स्मरण गरे।
‘उहाँ त्यतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो तर विद्रोही नेतालाई बहादुर भनिदिनुभयो। त्यो ठूलो स्टेटमेन्ट थियो,’ प्रचण्डले भने,‘पछि हामीले प्रधानमन्त्री आलोपालो गर्यौं। मैले उहाँलाई प्रधानमन्त्री प्रस्ताव गर्दा उहाँले प्रचण्ड राजनेता हो भनिदिनुभयो।’
देउवाले आज दिएको अभिव्यक्तिले कांग्रेसभित्रै देउवाको आलोचना हुन सक्ने प्रचण्डको भनाइ थियो।
‘तर उहाँसँग धेरै अनुभव छ। सानातिना विरोधले केही हुँदैन,’ प्रचण्डले भने,‘उहाँको छाला दह्रो भइसक्यो।’