नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य मातृका यादवले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिम्मेवारी छोड्छु भनेर धर नपाउने बताएका छन्।
आइतबार पार्टीको आठौं महाधिवेशनमा बोल्दै यादवले स्थापित नेतृत्वलाई हटाएर केही जान्दै नजानेको व्यक्तिलाई नेता बनाउने पुँजीवादीहरूको कुरा भएको बताए।
केही दिनअघि प्रचण्डले आफूलाई राजनीति छोडेर संस्मरण लेख्न मन भए पनि साथीहरूले नदिएको बताएका थिए।
नेता यादवले क्रान्तिकारी नेतृत्वले त्यसरी छोड्न नमिल्ने बताए।
‘क्रान्तिको नेतृत्व न एज (उमेर) ले गर्न सक्छ न फेस (अनुहार)ले, समाजको अन्तरविरोध बुझेर जसले समाधानको बाटो दिन सक्छ त्यसले गर्न सक्छ,’ यादवले भने,‘अध्यक्ष कमरेडले अहिले छोड्छु भनेर पनि धर पाउनु हुन्न।’
उनले माओ त्सुङले अन्तिमसम्म नेतृत्व गरेको भन्दै प्रचण्डले पनि क्रान्तिलाई बीच बाटोमा छोडेर जान नमिल्ने तर्क गरे।
‘पत्रकारले सोधे पनि अब छोड्न चाहन्छु नभन्नुहोला। छोड्छु भनेपछि साँच्चै छोडौं, छोडौंजस्तो लाग्छ,’ यादवले प्रचण्डलाई भने।