नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन्।
आइतबार सुरू भएको नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटनमा शुभकामना दिँदै पोखरेलले त्यतिबेला एमाले र माओवादी केन्द्रको एकता इतिहासको आवश्यकता भएको बताए।
‘हामीले एउटै घोषणा पत्र बनाएर चुनाव लडेका थियौं तर जनमतको आडमा नेकपा बनाएका थियौं,’ पोखरेलले भने,‘नेकपाको एकता जोगाउन नसकेकोमा मलाई पछुतो छ।’
उनले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको पनि बचाउ गरे।
‘जनताले दिएको जनमत खण्डित भएपछि हामीले जनतामा जाऔं भनेका थियौं। त्यसलाई अहिले प्रतिगमनको लेपन लगाइएको छ,’ पोखरेलले भने,‘जनतामा जाने कुरा कहिल्यै पनि प्रतिगमन हुँदैन।’
उनी अघि बोलेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पोखरेलको नाम लिँदै संसद अवरोध गरेर कुनै उपलब्धी हासिल नहुने बताएका थिए।
पोखरेलले भने यादवलाई जवाफ दिएनन्। उनले अरू कुनै मञ्चमा जवाफ दिने बताए।
२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको थियो। २०७७ फागुनमा सर्वोच्च अदालतले उनीहरूको एकता खारेज गरिदिएको थियो।