नेकपा मालेका महासचिव सिपी मैनालीले विभिन्न चरणमा भएको राजनीतिक आन्दोलनलाई प्रयोगशालामा सीमित पार्न नहुने बताएका छन्।
माओवादी केन्द्रको आइतबारबाट काठमाडौंमा सुरू भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता मैनालीले व्यवस्था फेरिएसँगै अवस्था पनि फेरिनुपर्नेमा जोड दिए।
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका क्रममा जनतामाझ गरिएको वाचा पूरा नहुनुको जवाफसमेत माग गरेका छन्।
‘यसलाई जनताको हामीप्रतिको असन्तुष्टिको रुपमा बुझेको छ, ‘किन यस्तो भयो भनेर निर्दोष जनताले झम्टिरहेको बुझेको छु, तिनका सही जवाफ ननिकाल्ने हो भने देशमा एक खाले अन्योल कायमै रहनेछ,’ उनले भने।
उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलसहितका राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन्।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने गृह जिल्ला झापामा रहेकाले महाधिवेशनमा सहभागी भएका छैनन्।
महाधिवेशनमा देशभरबाट करिब १ हजार ६०० प्रतिनिधि सहभागी भएका छन्। ५ दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ।