नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आइबतारबाट काठमाडौंमा सुरू हुँदैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशन हुन लागेको हो।
दिउँसो तीन बजे महाधिवेशन उद्घाटन समारोह हुने बताइएको छ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अहिले माओवादीका नेता तथा कार्यकर्ताहरूको भीड लागेको छ।
यसअघि माओवादीले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन भन्दै सम्पूर्ण तयारी गरेको थियो। यसका लागि उद्घाटन समारोहस्थल, सडक किनारलगायत अधिकांश स्थानमा राष्ट्रिय सम्मेलनका ब्यानर टाँगिएका थिए।
शनिबार साँझ एकाएक राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेसँगै राष्ट्रिय सम्मेलन लेखिएका ब्यानर हटाएर राष्ट्रिय महाधिवेशन लेखिएको ब्यानर राख्न अहिले भ्याइनभ्याई छ।
प्रज्ञा भवन परिसरमा ‘आठौं राष्ट्रिय महाधिवेशन’ लेखिएको ब्यानर राखिसकिएको छ।
महाधिवेशन प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनको कार्ड वितरण गरिसकिएको थियो। त्यसलाई पनि परिवर्तन गरेर नयाँ कार्ड बाँडिएको छ।
हेर्नुहोस् तस्बिरहरू