नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको लागि महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी उपरीक्षक (एसपी) को कमाण्डमा टोली खटाएको छ।
एसपी दिनेशराज मैनालीको कमाण्डमा प्रहरीहरू खटाएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले जानकारी दिए। माओवादी केन्द्रले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनको सभा हलमा महाधिवेशन गर्दैछ।
महाधिवेशनलाई केन्द्रीत गर्दै परिसरले सात जना प्रहरी परिचालन गरेको छ। त्यसबाहेक ट्राफिक प्रहरी, सशस्त्र प्रहरी छुट्टै खटिने उनले बताए।
यसअघि माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भनेको थियो। तर शनिबार बसेको स्थायी कमिटीको बैठकले त्यसलाई आठौं राष्ट्रिय महाधिवेशनमा परिणत गरेको हो।
त्यसै अनुसार परिसरले प्रहरी परिचालन गरेको एसएसपी गिरीले बताए।
‘राष्ट्रिय सम्मेलनबाट महाधिवेशन भएपछि हामीले त्यही अनुसार प्रहरी परिचालन गरेका छौं,’ उनले भने, ‘हामीले पार्टीका स्वयंसेवकसँग निरन्तर रूपमा समन्वय गरेर काम गरिरहेका छौं।’
त्यस्तै आवश्कता परेमा थप प्रहरी पनि परिचालन गर्न सकिने उनले बताए। यसअघि महाधिवेशनमा ट्राफिक व्यवस्थापन चुनौतीको रूपमा देखिएको थियो। तर यसपालि व्यवस्थापनमा कठिनाइ नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सञ्जिब शर्मा दासले बताए।
‘पार्किङको व्यवस्थापन गरिइसकेको छ। त्यसैले त्यसको समस्या देखिन्न। अर्को जाम पनि त्यति होला जस्तो छैन,’ उनले भने।