राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको नेकपा (माओवादी केन्द्र) ले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई उद्घाटनसत्रमा आमन्त्रण गरेको छ।
आइतबार दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा आयोजना हुने उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख दलका अध्यक्ष र सभापतिलाई आमन्त्रण गरेको छ।
झापामा रहेका एमाले अध्यक्ष ओलीले आफू सकेसम्म उद्घाटन सत्रमा सहभागी हुने नसके महासचिव शङ्कर पोखरेलले सहभागिता जनाउने जानकारी दिएका छन्।
उद्घाटनसत्रमा सहभागी हुन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष ओलीलाई टेलिफोन गरेर आग्रह गरेका थिए। फोनमा एमाले अध्यक्ष ओलीले आफू झापामा रहेको भन्दै सकेसम्म आफू नै आउने र सम्भव नभए महासचिव पोखरेल सहभागी हुने जानकारी गराएका थिए।
उद्घाटनसत्रमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत पार्टीका नेतालाई अतिथिका रुपमा बोलाइएको प्रवक्ता महराले जानकारी दिए।
कोभिड १९ को कारण देखाउँदै विदेशी पाहुना भने कसैलाई बोलाइएको छैन।
यसअघि राष्ट्रिय सम्मेलनमा अतिथि नबोलाउने निर्णय भएकामा त्यसलाई महाधिवेशनमा रुपान्तरण गरिएकाले अतिथि बोलाइएको माओवादीको भनाइ छ।
नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकले १५ जनाको पदाधिकारी संख्या बनाउने प्रस्ताव गरेको छ।
आइतवार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले आइतवारदेखि सुरु हुन लागेको आठौं राष्ट्रिय सम्मेलनमा पार्टीको पदाधिकारी संख्या १५ जना बनाउने प्रस्ताव गरेको हो। जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने प्रस्ताव गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनले केन्द्रीय कमिटीको फर्मेशन क्लष्टर अनुसार नै गर्ने निर्णय गरिएको पनि बताए।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका छन्। प्रस्ताव पेश भए पनि सबै केन्द्रीय सदस्यलाई वितरण नगरिएका कारण त्यसउपर छलफल भने महाधिवेशनमै गरिने प्रवक्ता महराले बताए।
केन्द्रीय कमिटी संख्या २९९ जनाभन्दा बढी हुने उल्लेख गर्दै उनले केन्द्रीय कमिटीको तर्फबाट प्यानल प्रस्तुत हुने बताए। सहमती हुन नसकेमा निर्वाचनमा जाने उनको भनाई छ। ‘केन्द्रीय कमिटी संख्या २९९ मा बढी हुन्छ। केन्द्रीय कमिटीका तर्फबाट एउटा प्यानल प्रस्ताव होला। त्यसमा असहमत भएका साथीहरुले राख्न सक्नुहुन्छ। सहमती भयो भने निर्वाचनमा जान्न। सहमती भएन भने जान्छ,’ उनले भने।
आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेसँगै माओवादी केन्द्रले अधिवेशनको समयसमेत लम्ब्याउने निर्णय गरेको छ।
आइतवारदेखि सुरु हुने महाधिवेशन ३ दिनसम्म चल्ने तय गरिएको भए पनि ५ दिनसम्म जानसक्ने प्रवक्ता महराले बताए।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतवार दिउँसो ३ बजे काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा उद्घाटन हुँदैछ।
२०६९ सालमा माओवादीले आफ्नो सातौं महाधिवशेन हेटौंडामा सम्पन्न गरेको थियो। त्यसयता पार्टीले महाधिवेशन गरेको थिएन।